काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ। संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाइम्सले डिसेम्बर ४ मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द इयर २०२४ को अवार्ड प्रदान गरेको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द इयर २०२४ को सम्मान ग्रहण गरेको बैंकले जनाएको छ।
समारोहमा करिब एक सयभन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतका अधिकारीहरु गरी करिब तीनसय जनाभन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो।
बैंक सञ्चालक समितिका अध्यक्ष पाण्डेले बैकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरवान्वित महसुस गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ सेवा सुविधा ग्राहकहरुमाझ ल्याउनको लागि हौसला मिलेको बताए।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस अवार्डको प्राप्ती सम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिबद्धता व्यक्त गरे।
द फाइनान्सियल टाइम्सले वार्षिकरुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ र यसैअनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ। यस अवार्डबाट सम्मानित हुने बैंकहरुको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ।
सिटिजन्स बैंकले बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।