मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

दुई दिनको वृद्धिपछि पुन: ओरालोतिर सेयर बजार, ९ अर्ब १३ करोड रुपैयाँको कारोबार

बुधबार, मंसिर १९ २०८१
दुई दिनको वृद्धिपछि पुन: ओरालोतिर सेयर बजार, ९ अर्ब १३ करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार दुई कारोबारमा देखिएको ३७.७७ अंकको वृद्धिपछि सेयर बजार पुन: ओरालोतिर लागेको छ।  उतारचढावपूर्ण अवस्थामा तलमाथि भइरहेको बजार दोहोरो अंकले घटेको हो। 

यो साता आइतबार ९.९९ अंकले घटेर सोमबार १९.९७ अंकले बढेको सेयर बजार मंगलबार पनि वृद्धितर्फ नै लागेको थियो। मंगलबार १७.८० अंकले बढेर बजार २७७५.८५ बिन्दुमा पुगेको बजार बुधबार भने घटेको हो।

बुधबार २४.९७ अंकले घटेर सेयर बजार २७५०.८७ बिन्दुमा झरेको छ। १०४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा सुधारको संकेत देखिए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत फेरबदल नहुँदा लगानीकर्ता केही दोधारमा देखिएको र पर्ख र हेरकै अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। तर बजार त्यसअनुरुप देखिँदैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 

लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ।


प्रकाशित : बुधबार, मंसिर १९ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend