काठमाडौं- नेपाल र चीनबीच हुने भनिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को सम्झौता नभएपछि थप छलफल गर्ने सहमती भएको छ। नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको नयाँ प्रस्ताव पठाएको थियो।
तर चिनियाँ पक्षले असहमति जनाएपछि बीआरआई फ्रेमर्वमा हस्ताक्षर हुन नसकेको हो। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बीआरआई परियोजनाको सहकार्यको ढाँचामा सम्झौताको संशोधित मस्यौदालाई अन्तिम रूप दिएर चीन पठाएका थिए।
नेपालले प्रस्ताव गरेको फ्रेमवर्कको मस्यौदाको ‘ग्रान्ट फाइनान्सिङ’ भन्ने शब्द हटाएर चीनले 'फाइनान्सिङ' मात्रै राखेको थियो। चिनियाँ पक्षले नेपालको प्रस्ताव नमानेपछि बीआरआई फ्रेमवर्कमा सम्झौता नभएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि चीन भ्रमणमा छन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको भेटमा ती समझदारीपत्रमा हस्ताक्षर हुन नसकेपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा थप छलफल गरेर अहिले सम्झौता नगर्ने सहमती भएको हो।
नेपालले सन् २०१७ मा बीआरआईको समझादारी–पत्रमा हस्ताक्षर गरेको थियो । चीनले यसपटक नेपालका प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा ‘बीआरआई कार्यान्वयन कार्ययोजना’मा हस्ताक्षरको प्रस्ताव गरेको थियो। नेपालले अनुदानका परियोजनामा मात्रै जोड दिएपछि यसपटक पनि सहमती हुन नसकेको हो।