बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

किन बढिरहेको छ यूएई जाने कामदारको संख्या?

वैदेशिक रोजगारीमा ४ महिनामै बाहिरिए २ लाख ४१ हजार, पहिलो रोजाइमा यूएई

बुधबार, मंसिर १९ २०८१
किन बढिरहेको छ यूएई जाने कामदारको संख्या?

काठमाडौं- चालु आवको साउनदेखि नै वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा आइरहेको वृद्धिदरमा केही कमी आएको थियो। कात्तिकमा भने रोजगारीका लागि विदेश जाने युवाको संख्यामा उल्लेख्य बढेको छ।

सामान्यत: मासिकरुपमा म्यानपावरमार्फत ६ हजारको हाराहारीमा युवा नयाँ कामका लागि यूएई जाने गरेपनि उक्त संख्या चालु आवको साउनदेखि नै बढिरहेको थियो। तर कात्तिकमा यूएई जाने कामदारको संख्या निकै बढेको छ।

वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा यूएई जाने कामदारको संख्या २३ हजार ६९ जना रहेको छ। जसमा नयाँ कामका लागि म्यानपावरमार्फत जाने कामदारको संख्या ११ हजार ८ सय ९ रहेको छ। यसैगरी बिदामा नेपाल आइ पुन: फर्कनेको संख्या ८ हजार ६ सय ३७ रहेको छ भने व्यक्तिगत भिसामा जानेको संख्या २ हजार ६ सय २३ रहेको छ।

वैदेशिक रोजगार विभागका अनुसार समग्रमा कात्तिक महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजार ९ सय ९० रहेको छ। कात्तिक महिनामा रोजगारीका लागि विदेश जानेको संख्या अहिलेसम्मकै बढी हो। 

सामान्यत: चाडबाडको समय भएकाले नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या असोज र कात्तिकमा कम हुने गरेको थियो। तर यसपटक कात्तिकमा रोजगारीका लागि जाने युवाको संख्यामा उल्लेख्य वृद्धि आएको छ।

म्यानपावर व्यवसायीहरूका अनुसार यूएईले बंगलादेश र पाकिस्तानबाट अहिले कामदार लैजान प्रतिबन्ध लगाएको छ। जसको कारण नेपालको डिमाण्ड बढेको छ। नेपालका अधिकांश म्यानपावरमा अहिले यूएईको डिमाण्ड छ।

व्यवसायीहरूका अनुसार कामदार नपाएकै कारण अझै जानेको संख्या कम भएको हो। डिमाण्डअनुसारको कामदार पाएको भए अझै यो संख्या पनि बढ्ने थियो। युवाको रोजाइमा यूएई पर्नुको अर्को कारण त्यहाँबाट युरोप तथा अमेरिका छिर्न सहजता छ। साथै मलेसियाको रोजगारी बन्द हुँदा युवाको रोजाइमा यूएईलगायतका खाडी देश परेको छ। 

गतवर्षको कात्तिकमा नेपालबाट यूएईको रोजगारीका लागि जाने युवाको संख्या १२ हजार ४ सय ८५ थियो। जसमा नयाँ कामका लागि म्यानपावरमार्फत जाने कामदारको संख्या ५ हजार ८ सय ६६ थियो भने बिदामा नेपाल आएर पुन: फर्कनेको संख्या ५ हजार ७५ रहेको थियो।

यसैगरी २०७९ को कात्तिकमा नेपालबाट रोजगारीका लागि यूएई जाने कामदारको संख्या ११ हजार ६ सय थियो। जसमा नयाँ कामका लागि म्यानपारमार्फत जाने कामदारको संख्या २ हजार ४ सय ७० र बिदामा नेपाल आइ पुन: जानेको संख्या ९ हजार ३ सय २४ थियो।

विभागकै अनुसार २०७८ को कात्तिकमा यूएई जानेको संख्या १३ हजार ५ सय ५० र २०७७ को कात्तिकमा १ हजार १ सय ७४ मात्रै थियो। २०७८ मा कोरोना महाहारी थियो। 

चालु आवको चार महिनाकै बाहिरिए २ लाख ४१ हजार

विभागका अनुसार चालु आवकJ साउनदेखि कात्तिकसम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या २ लाख ४१ हजार ५ सय ८३ रहेको छ। यो संख्या गत आवको सोही अवधिको भन्दा १४.५९ प्रतिशतले बढी हो।

गत आवको सोही अवधिमा रोजगारीमा जाने युवाको संख्या २ लाख ६ हजार ३ सय १६ रहेको थियो। विभागका अनुसार चालु आवको कात्तिकमा ७० हजार ९ सय ९०  चालु असोजमा ५३ हजार ५ सय २५, भदौमा ५७ हजार ४ सय ९३ र साउनमा ५९ हजार ५ सय ७५ जना युवा रोजगारीका लागि विदेश गएका छन्।

यसैगरी गत आवको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४ र असोजमा ५६ हजार २ सय ३५ र कात्तिकमा ४३ हजार ६ सय २२ जना युवा वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका थिए।

विभागका अनुसार चालु आवको ४ महिनामैा सबैभन्दा बढी युवा यूएई पुगेका छन्। ४ महिनामा ७६ हजार ९ सय २ जना कामदार यूइई गएका छन्।

जुन कुल वैदेशिक रोजगारीमा जाने कामदारको संख्याको तुलनामा ३१.८३ प्रतिशत हो। विभागका अनुसार साउनमा १७ हजार ५ सय ४, भदौमा १८ हजार ६ सय ५ र असोजमा १७ हजार ७ सय २४ र कात्तिकमा २३ हजार ६९ जना कामदार रोजगारीका लागि यूएई पुगेका छन्। 


प्रकाशित : बुधबार, मंसिर १९ २०८१०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend