नवलपरासी- ऐतिहासिक तथा पुरातात्विक स्थल पश्चिम नवलपरासीको रामग्राम-१८ स्थित पण्डितपुरमा पुरातत्व विभागले उत्खनन सुरु गरेको छ। यसअघि भू-भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे)मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा उत्खनन सुरु गरिएको हो। यो उत्खनन २१ दिनसम्म चल्ने जनाइएको छ।
यहाँ भेटिएका पुरातत्व वस्तुको वैज्ञानिक परीक्षणमा छैटौँ शताब्दीका संरचना भेटिएकाले विस्तृत रूपमा उत्खनन सुरु गरिएको र त्यसका लागि आवश्यक बजेट संघ, प्रदेश र स्थानीय सरकारले पनि विनियोजन गरेको रामग्रामका नगर प्रमुख धनपत यादवले बताए।
पण्डितपुरको दक्षिण पश्चिम क्षेत्रमा गरिएको भू-भौतिक सर्वेक्षणका क्रममा जमिनमुनि गोलाकार आकारमा रहेको संरचना फेला परेको क्षेत्रमा उत्खनन सुरु गरिएको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत भास्कर ज्ञवालीले बताए।
पण्डितपुरलाई कोलीय गणराज्यको राजधानीका साथै बुद्धको मावली स्थलका रूपमा दाबी गरिँदै आएको छ।
विसं २०६८ देखि २०७२ सम्म पुरातत्व विभागले परम्परागत प्रविधिको सहायताले गरेको उत्खननका क्रममा यस क्षेत्रमा आठौँ शताब्दीका भाँडा, इनार र इँटा भेटिएका थिए। रासस