काठमाडौं- आइतबार ९.९९ अंकले घटेको सेयर बजार सोमबार भने वृद्धितर्फ लागेको छ। उतारचढावपूर्ण अवस्थामा तलमाथि भइरहेको बजार दोहोरो अंकको वृद्धितर्फ लागेको हो।
सोमबार १९.९७ अंकले बढेर बजार २७५८.०४ बिन्दुमा पुगेको छ। १२६ कम्पनीको सेयर मूल्य बढेको बजारमा १० अर्ब ५४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। ११२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
बैंकिङ शून्य दशमलव ५९, विकास बैंक १ दशमलव ७२, वित्त १ दशमलव ९७ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ७० र होटल तथा पर्यटन समूह ४ दशमलव ९९ प्रतिशतले बढेको छ।
त्यस्तै जलविद्युत् शून्य दशमलव ६२, लगानी शून्य दशलमव ६०, जीवन बीमा एक दशमलव ९१, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४१ र निर्जीवन बीमा शून्य दशमलव २० प्रतिशतले बढेको छ।
तारागाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आठ दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ।
गएको साता आइतबार १३.०३ अंकले घटेको सेयर बजार त्यसपछि लगातार सोमबार, मंगलबार र बुधबार गरेर तीन कारोबारमा ८८.९४ अंकले बढेको थियो। गएको साता अन्तिम कारोबारमा बिहीबार ८.३० अंकले घटेको बजार यो साता पहिलो कारोबारमा पनि सामान्य ओरालो नै लागेको थियो।
लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा सुधारको संकेत देखिएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत फेरबदल नहुँदा लगानीकर्ता केही दोधारमा देखिएको र पर्ख र हेरकै अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्।
गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। तर बजार त्यसअनुरुप देखिँदैन।
गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो।
लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ।