मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

९ अंकले घट्यो सेयर बजार, ८ अर्ब ८३ करोड रुपैयाँको कारोबार

आइतबार, मंसिर १६ २०८१
९ अंकले घट्यो सेयर बजार, ८ अर्ब ८३ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता आइतबार १३.०३ अंकले घटेको सेयर बजार त्यसपछि लगातार सोमबार, मंगलबार र बुधबार गरेर तीन कारोबारमा ८८.९४ अंकले बढेको थियो। गएको साता अन्तिम कारोबारमा बिहीबार ८.३० अंकले घटेको बजार यो साता पहिलो कारोबारमा पनि सामान्य ओरालो नै लागेको छ। 

आइतबार ९.९९ अंकले घटेर बजार २७३८.०६ बिन्दुमा झरेको छ। ६३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब ८३ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। १७८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा सुधारको संकेत देखिए पनि लगानीकर्ता विश्वस्त देखिएका छैनन्। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत फेरबदल नहुँदा पनि लगानीकर्ता पर्ख र हेरकै अवस्थामा देखिएको विश्लेषकहरू बताउँछन्। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। तर बजार त्यसअनुरुप देखिँदैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 

लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ।


प्रकाशित : आइतबार, मंसिर १६ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend