मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कर्जाको माग नभएपछि राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्दै, प्रणालीमा ७ खर्ब ६० अर्ब अधिक तरलता

आइतबार, मंसिर १६ २०८१
कर्जाको माग नभएपछि राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्दै, प्रणालीमा ७ खर्ब ६० अर्ब अधिक तरलता

तरलता बढी भएका बैंकहरूले सिधै स्थायी निक्षेप सुविधामा निक्षेप जम्मा गराउन सक्छन्। स्थायी निक्षेप सुविधामा राष्ट्र बैंकले ३ प्रतिशत दिइरहेको छ।

काठमाडौं- कर्जाको माग बढ्न नसकेको भन्दै राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो। 

यस उपकरणमा लगानी गर्न चाहाने बैंक वित्तीय संस्थाहरूले मंसिर १६ गते २ बजेभित्र बोलकबोल प्रकृयामा सहभागिता जनाउन सक्ने छन्।

बैंकिङ प्रणालीमा ७ खर्ब ६० अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम भएपनि कर्जाको माग बढ्न सकेको छैन। निक्षेप संकलन बढेपनि कर्जाको माग नबढ्दा प्रणालीमा तरलता थुप्रिएको हो।
 
कर्जा लगानी नबढेकाले अर्थतन्त्रको गति सुस्त छ। अर्थतन्त्रले गति समात्न नसक्दा वस्तुको माग घटेको छ। मागमा आएको कमीले आयात घटेको छ भने आयात घट्दा सरकारले लक्ष्यअनुरुप राजस्व असुली गर्न सकेको छैन।

राष्ट्र बैंकले सम्पूर्ण मौद्रिक उपकरण लचिलो बनाएपनि कर्जा प्रवाह बढ्न नसकेको भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामा कुनै पनि नीतिगत व्यवस्था परिवर्तन गरेको छैन। ब्याजदर कोरिडोरका सबै सीमाहरूलाई यथावत राखेको छ।

राष्ट्र बैंकले बैंक दर ६.५ प्रतिशत, नीतिगत दर ५ प्रतिशत र निक्षेप संकलन उपकरण ३ प्रतिशतमा स्थिर राखेको छ। कर्जा निक्षेप अनुपात, वैधानिक तरलता अनुपात र नगद मौज्दात अनुपातमा राष्ट्र बैंकले कुनै पनि संशोधन गरेको छैन।
 
कर्जाको माग नबढेकाले निक्षेप र कर्जा दुबैको ब्याजदर घटेर न्यून बिन्दुमा आएको छ। कर्जाको औषत ब्याजदर ९.३३ प्रतिशत र निक्षेपको औषत ब्याजदर ५.४४ प्रतिशतमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

बैंक वित्तीय संस्थाहरूले मंसिरका लागि पनि ब्याजदर घटाएका छन्। अधिकांश बैंकहरूले कर्जाको ब्याजदर ८ देखि ९ प्रतिशतभित्र रहेर प्रवाह गरेका छन्। 

हाल बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७८.५८ प्रतिशतमा आएको छ भने बैंकहरूको अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

राष्ट्र बैंकले साधारण बचतको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिनका लागि बैंक वित्तीय संस्थाहरूको निक्षेप ३ प्रतिशतमा खरिद गरिरहेको छ। राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ। 

अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आउनासाथ राष्ट्र बैंकले प्रणालीबाट तरलता खिचिरहेको छ। तरलता बढी भएका बैंकहरूले सिधै स्थायी निक्षेप सुविधामा निक्षेप जम्मा गराउन सक्छन्। स्थायी निक्षेप सुविधामा राष्ट्र बैंकले ३ प्रतिशत दिइरहेको छ।


प्रकाशित : आइतबार, मंसिर १६ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend