काठमाडौं- हुन्डाईको मिडसाइज एसयूभी क्रेटा भारतीय बजारमा मात्र होइन नेपाली बजारमा पनि सफल गाडी हो। आईसी इन्जिनमा सफल यो एसयूभीलाई हुन्डाईले भारतसहित लक्षिण एसियाली बजारलाई लक्षित गरेर विद्युतीय भर्सन ल्याउने घोषणा गरेको थियो।
सोहीअनुसार भारतीय बजारमा उत्पादन गरेर हुन्डाईले क्रेटा ईभी आगामी जनवरीमा भारतमा हुने भारत मोबिलिटी ग्लोबल एक्सपोमा सार्वजनिक गर्ने बताइएको छ। भारतमा सवारी उत्पादकहरु विद्युतीय कार ल्याउन प्रतिस्पर्धामा उत्रिएका छन्।
टाटा मोटर्सले सुरु गरेको विद्युतीय सवारी विस्तारमा अब भने भारतमा कार उत्पादन गर्ने सबै अटोमोबाइल उत्पादकहरु यसमा सामेल भएका छन्। हालै महिन्द्राले दुई वटा विद्युतीय कार सार्वजनिक गरेको छ। हुन्डाईले क्रेटा ईभी, मारुती सुजुकी, टोयोटालगायत कम्पनीले अटो शोमा नयाँ विद्युतीय कार सार्वजनिक गर्दै छन्।
हुन्डाईले चेनईमा रहेको आफ्नो प्लान्टमा जनवरी ११ देखि १५ सम्म मिडिया ड्राइभका लागि आमन्त्रण गरेको र त्यहाँ हुन्डाईले क्रेटा ईभीकै लागि बोलाइएको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।
भारतको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी मारुती सुजुकीले पनि आफ्नो पहिलो विद्युतीय कार ईभीएक्स जनवरी २०२५ मै सार्वजनिक गर्ने बताएको छ। एकै समयमा सार्वजनिक हुने क्रेटा ईभी र ईभीएक्स एउटै सेगमेन्टका हुने भएकाले यी दुईबीच भारतमा कडा टक्कर हुने अनुमान गरिएको छ। भारतीय बजारमा मात्र होइन क्रेटा ईभी र ईभीएक्स नेपाली बजारमा पनि प्रतिस्पर्धी हुनेछन्। भारतमा सार्वजनिक भएलगत्तै क्रेटा ईभी र ईभीएक्स नेपाली बजारमा ल्याउन दुवै ब्रान्डमका नेपाली आयातकर्ताहरु लागि परेका छन्।
हुन्डाई क्रेटा ईभीसँग सुजुकीको ईभीएक्ससँगै टाटा कर्भ ईभी, एमजी जेडएस ईभी, महिन्द्रा एक्सयूभी४०० लगायतसँग प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
हुन्डाईले आईसी इन्जिन क्रेटाको तुलनामा अगाडि र पछाडिको बम्पर परिमार्जित डिजाइनसहित क्रेटा ईभीको डिजाइन सार्वजनिक गरेको थियो। १८ इन्च एरोस्टाइल ह्वीलसहित आकर्षक लुक्समा आउने क्रेटा ईभीको अन्य विशेषताहरु भने सार्वजनिक भएको छैन।
सुरक्षा विशेषतका लागि लेवट टू एडीएस, ६ एयरब्याज, भेन्टिलेटेड फ्रन्ट सिट, पानारोमिक सनरुफ, अटामेटिक क्लाइमेट कन्ट्रोल ३६० डिग्री क्यामेरालगायत विशेषता क्रेटा ईभीमा हुनेछन्।
क्रेटा ईभी सिंगल र डुअल दुवै मोटर अप्सनमा उपलब्ध हुनेछ। सिंगल मोटर १ सय किलोवाटमा आउने अनुमान गरिएको छ भने डुवल मोटर कतिको हुने खुलेको छैन। ब्याट्री क्षमता कति हुने यकिन नभएपनि क्रेटा ईभीले एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिनेगरी आउने दाबी गरिएको छ।
भारतीय बजारमा बिक्रीका लागि सार्वजनिक भएलगत्तै क्रेटा ईभी नेपाली बजारमा आउने छ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीका लागि आन्तरिक तयारी सुरु गरिसकेको छ।
नेपाली बजारमा ईभीको बिक्री बढ्दै गएको छ। आईसी इन्जिन कारको बिक्री पछिल्लो महिना केही बढे पनि त्यसले गति लिन सकेको छैन। सरकारले विद्युतीय कारमा आयातमा राम्रो कर सहुलियत दिएकाले विद्युतीय कार आईसी इन्जिन कारको तुलनामा नेपाली बजारमा सस्तो मूल्यमा उपलब्ध छ। सोही कारण चिनियाँ विद्युतीय कारको दबदबा नेपाली बजारमा छ।
हुन्डाईको आईसी इन्जिन क्रेटाले राम्रो छाप नेपाली उपभोक्तामा छाडेकाले क्रेटा ईभीबाट पनि कम्पनीले राम्रै अपेक्षा राखेको हुनुपर्छ। मिडसाइज एसयूभी सेगमेन्टमा आउने र प्रतिस्पर्धी मूल्यमा आएमा क्रेटा ईभीले आईसी क्रेटासरह उपस्थिति जनाउने अनुमान गरिएको छ।