सुनसरी- जिल्लाको बराहक्षेत्र नगरपालिका-९ श्रीलंका टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक ३० लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उनले गोलभेँडा खेतीलाई प्रमुख उत्पादनको स्रोत बनाएका हुन्।
श्रीलंका टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन भइरहेका छन्। अर्जुनको व्यवसायमा उनका चार छोराले साथ दिइरहेका छन्। कृषि कर्मको आम्दानीबाट जीविकोपार्जन भइरहेको बताउँदै अर्जुनले गोलभेँडाबाट मात्रै सबै खर्च कटाएर २० लाख रूपैयाँ बचत हुने गरेको जानकारी दिए।
अहिले करिब चार बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरिरहेको अर्जुनका छोरा श्रीराम चन्द्रवंशीले बताए। गोलभेँडाबाट वार्षिक ३० लाख रूपैयाँ आम्दानी हुनेमा खेतीमा प्रयोग गर्ने मल, कर्मचारीलगायतको वार्षिक १० लाख रूपैयाँ जति खर्च हुने गरेको उनले बताए।
श्रीराम भने, 'कृषिकर्म हाम्रो पुर्खौली पेसा हो। सुरुवाती समयमा सागसब्जी, आलु, कोपिलगायत खेती गर्दै आएका थियौँ। पछिल्लो समय गोलभेँडाबाट मनग्ये आम्दानी हुन थालेपछि यसप्रति बढी आकर्षित हुन थालेका हौँ।' गोलभेँडा अहिले थोकमा प्रतिकेजी एकसय रूपैयाँमा फार्मबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका उनले बताए।
'गत असोजमा आएको बाढीले चार कठ्ठा जति खेतीमा क्षति गर्यो। बारीमा छरेको मल बगाउनुका साथै केही डुबानमा पनि पर्यो। बाढीले करिब तीन लाख रूपैयाँभन्दा बढीको क्षति भएको थियो। अहिले भने मौसमले साथ दिएकाले उत्पादन राम्रो भइरहेको छ', श्रीरामले भने। गोलभेँडाको माग प्रशस्त भएकाले बजारीकरणको समस्या नरहेको उनले बताए।
'उत्पादित कृषि उपज बजार बोकेर लैजानुपर्दैन। व्यापारी आफै गोलभेँडासहित अन्य सागसब्जी खरिद गर्न खेतबारीमै आउनुहुन्छ। यहाँ आउनेलाई बजार मूल्यभन्दा २० रूपैयाँ कम लिने गरेका छौँ', श्रीरामले भने। धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, बराहक्षेत्रलगायत स्थानबाट व्यापारी फार्ममा गोलभेँडा खरिद गर्न आउने गरेका उनले जानकारी दिए।
गोलभेँडा खेतीमा लगानी र दुःख बढी भए पनि मेहिनत गरेअनुसार प्रशस्त उत्पादन हुने भएकाले नोक्सान नहुने श्रीरामले अनुभव सुनाए। परिवारका चार दाजुभाइसहित थप २० जनाले रोजगारी पाएका उनले बताए।
गोलभेँडाको मौसममा कम मूल्यमा बिक्री गर्नुपरे पनि बेमौसममा एकसय रूपैयाँदेखि एकसय ५० रूपैयाँसम्ममा बिक्री हुने श्रीरामले जानकारी दिए। उनका अनुसार वार्षिक ६ सय क्विन्टल बढी भोलभेँडा बिक्री हुने गरेको छ।
अहिले करिब २० बिघा क्षेत्रफलमा कृषिखेती गर्दै आएको बताउँदै करिब चार बिघामा गोलभेँडा, चार बिघामा मकै र बाँकी जग्गामा कोपि, बोडीलगायत सागसब्जी खेती गरिरहेको श्रीरामले जानकारी दिए।
जिल्लामा हाल आठ हजार एकसय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए। 'जिल्लाको बराहक्षेत्र नगरपालिकामा बढी मात्रामा गोलभेँडा, कोपी, बोडीलगायत सागसब्जीको प्रशस्त उत्पादन हुन्छ', उनले भने। उनका अनुसार गत असोजमा आएको बाढीले तीन सय ५४ हेक्टरभन्दा बढी खेती नष्ट गर्दा चार करोड ५२ लाख रूपैयाँ बराबरको क्षति भएको छ।
सिँचाइ सुविधा, मलको उपलब्धतादगायत कारणले पछिल्लो समय नगरभित्र गोलभेँडासहित सागसब्जीको उत्पादन प्रशस्त हुन थालेपछि यहाँका अधिकांश परिवार यसतर्फ आकर्षित भएका नगरप्रमुख रमेश कार्कीले बताए।
'यहाँका करिब ९० प्रतिशत परिवार तरकारी खेतीमा आबद्ध छन्। श्रीलंका टप्पु तरकारी खेतीका लागि प्रख्यात क्षेत्र मानिनुका साथै बजारीकरणको समस्या नभएकाले कृषकको आकर्षण बढेको हो', उनले भने।
नगरपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक तरकारीखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायत क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको नगरप्रमुख कार्कीले बताए। रासस