बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वीरगञ्जका भन्सारद्वारा चालु आर्थिक वर्षको चार महिनामा ६६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

शुक्रबार, मंसिर १४ २०८१
वीरगञ्जका भन्सारद्वारा चालु आर्थिक वर्षको चार महिनामा ६६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत रघुलाल कर्णले चाडपर्वको कारण असोज र कात्तिक महिनामा आयात केही बढेपछि समग्रमा राजस्व असुली केही वृद्धी भएको बताए।

पर्सा- राजस्व संकलनको दृष्टिले देशकै दुई ठूला भन्सार वीरगञ्ज तथा सिर्सिया सुक्खा बन्दरगाहले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा ६६ अर्ब ७३ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्। 

साउनदेखि कात्तिक महिनासम्मको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले ७० अर्ब ४६ करोड ३० लाख ६४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा ५० अर्ब १७ करोड ९२ लाख १५ हजार रुपैयाँ संकलन गरेको छ। जुन चौमासिक लक्ष्यको ७१ दशमलव २१ प्रतिशत हो। 

कात्तिक महिनामा मात्र यो भन्सारले ११ अर्ब १० करोड ५२ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। जुन मासिक लक्ष्यको ६३ दशमलव ५८ प्रतिशत हो। यो महिनामा १७ अर्ब ४६ करोड ६८ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य वीरगञ्ज भन्सार कार्यालयको थियो। 

यता सिर्सिया सुक्खा बन्दरगाह भन्सारले चौमासिक अवधिमा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

समीक्षा अवधिमा १९ अर्ब ५८ करोड ९७ लाख ८२ हजार रुपैया राजस्व संकलन गर्ने लक्ष्य यो भन्सारको थियो। यस अवधिमा लक्ष्यको ८४ दशमलव ५० प्रतिशत राजस्व असुली गर्न यो भन्सार सफल भएको छ। 

कात्तिक महिनामा मात्र यो भन्सारले ३ अर्ब ७९ करोड २९ लाख ३६ हजार रुपैयाँ राजस्व असुली गरेको छ। जुन मासिक लक्ष्यको ७९ दशमलव ३५ प्रतिशत हो। यो महिनामा ४ अर्ब ७७ करोड ९७ लाख ६५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेको थियो। 

तुलनात्मक रुपमा चौमासिक अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० करोड रुपैयाँमात्र कम राजस्व असुली भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए।

कात्तिक महिनामा तिहार पर्वको बिदा परेको तथा असोज महिनामा जस्तै कात्तिक महिनामा मदिराको आयात नभएपछि कात्तिक महिनामा राजस्व असुली कम हुन गएको उनले बताए। यो नाकामा फलामजन्य वस्तु र मदिरालगायतका वस्तु राजस्व संकलनमा योगदान गर्ने प्रमुख वस्तु हुन्। 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत रघुलाल कर्णले चाडपर्वको कारण असोज र कात्तिक महिनामा आयात केही बढेपछि समग्रमा राजस्व असुली केही वृद्धी भएको बताए।

‘समग्रमा आयात निर्यात केही सुधारोन्मुख छ,’ उनले भने, ‘चाडपर्व सक्किएपछि मंसिर महिनामा के कति राजस्व संकलन हुन्छ, त्यसले आउँदा महिनामा राजस्व असुलीको प्रवृत्ति कस्तो रहन्छ भनि यकिन हुन्छ।’

यो भन्सार नाकामा राजस्वमा योगदान गर्ने प्रमुख वस्तुहरुमा इन्धन र नयाँ सवारी साधन हुन्। आर्थिक मन्दी तथा बैंकले सवारी साधनमा लगानी घटाएपछि अपेक्षाकृत नयाँ सवारी साधन भित्रिन नसक्दा राजस्व असुलीमा लक्ष्यअनुसार भन्सारले फड्को मार्न नसकेको भन्सार अधिकारीले बताएका छन्।  


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend