काठमाडौं- देशमा उत्पादित सामाग्री अपुग भएपछि आवश्यकताको परिपूर्तिका लागि सामान आयात गर्नुपर्छ। आफ्नो देशमा धेरै उत्पादन भएका सामान निर्यात गरेर अपुग सामानको आयात गरेर देशका सरकारहरुले आम मानिसको आवश्यकता पूरा गर्दै आएका हुन्छन्।
विश्वमा १९९५ यता वस्तु व्यापारको मूल्य वार्षिक करिब ५ गुणा वृद्धि हुँदै आएको थियो। २०२२ सम्म यही दरको वृद्धि कायम थियो। तर त्यसयता भने सो दरको वृद्धि हुन सकिरहेको छैन। कोरोना महामारीपछि सप्लाइचन र विश्वभर देखिएको आर्थिक शिथिलताका कारण वस्तु व्यापारमा वृद्धिदर सुस्ताएको हो।
२०२३ मा विश्वभर २ सय ४२ खर्ब अमेरिकी डलर बराबरको वस्तुको व्यापार भएको तथ्यांक छ। विश्व व्यापार संघठनको तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले विश्वका ठूला वस्तु आयातकर्ताको सूचीसहितको स्टोरी बनाएको छ। विश्वका १० देशले नै १ सय २४ खर्ब डलरको वस्तु आयात गर्छन्। यो भनेको विश्वका सबै देशले गर्ने कुल आयातको आधाभन्दा धेरै हो।
२०२३ मा सबैधन्दा धेरै वस्तु आयात गर्ने देश अमेरिका हो। नेपालका दुई छिमेकी भारत र चीन दुवै देश धेरै आयात गर्ने प्रमुख १० देशको सूचीमा छन्। यी तीन वटै देशमा अत्याधिक जनसंख्या भएकाले वस्तुको खपत धेरै हुन्छ। भारत १ अर्ब ४० करोडभन्दा बढी जनसंख्यासहित सबैभन्दा धेरै जनसंख्या भएको देश हो।
वस्तु आयातमा खपत गर्ने संख्या, व्यवसायको वातावरण, खर्च योग्य आय तथा विनिमय दरले पनि प्रभाव पारिरहेको हुन्छ। विश्वको अधिकांश व्यापार अमेरिकी डलरमा हुने भएकाले अन्य देशहरुलाई यसको विनिमयदरले आयातको मूल्यमा प्रभाव पार्छ।
२०२३ को तथ्यांकअनुसार अमेरिका सबैभन्दा ठूलो वस्तु आयातकर्ता देश हो। सो वर्ष अमेरिकाले ३२ खर्ब डलरको वस्तु आयात गरेको थियो। उक्त मूल्यका आयात गर्दा अमेरिकाले कार, विद्युतीय उपकरण, औद्योगिक उपकरण तथा औषधीको हिस्सा धेरै छ। मेक्सिको अमेरिकाको सबैभन्दा ठूलो व्यापार साझेदार हो। मेक्सिकोबाट धेरै सामान आयात गर्दा क्यानडाले अमेरिकातर्फ कच्चा तेल, प्राकृतिक ग्यास तथा अन्य स्रोतहरु निर्यात गर्दै आएको छ।
हालै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट हुने आयातमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्दै छन्।
१० ठूला वस्तु आयातकर्ता
१. अमेरिका- अमेरिकाले २०२३ मा ३१ खर्ब ७० अर्ब डलरको वस्तु आयात गरेको थियो। यो विश्वको वस्तु आयातको १३.१ प्रतिशत हो।
२. चीन- चीनले गत वर्ष २५ खर्ब ६० अर्ब डलरको वस्तु आयात गरेको थियो। चीन विश्वको दोस्रो धेरै जनसंख्या भएको देश हो। २०२३ मा चीनले गरेको वस्तु आयात विश्वको कुल वस्तु आयातको १०.६ प्रतिशत हो।
३. जर्मनी- २०२३ मा जर्मनीले १४ खर्ब ६० अर्ब डलरको वस्तु आयात गरेको थियो। कुल वस्तु आयातमा जर्मनीको हिस्सा ६ प्रतिशत छ।
४. नेदरल्यान्ड- नेदरल्यान्डले २०२३ मा ८ खर्ब ४२ अर्ब डलरको वस्तु आयात गरेको थियो। यो कुल आयातको ३.५ प्रतिशत हो।
५. बेलायत- २०२३ मा बेलायतले ७ खर्ब ९१ अर्ब डलरको वस्तु आयात गरेको थियो। यो कुल वस्तु आयातको ३.३ प्रतिशत हिस्सा हो।
६. फ्रान्स- फ्रान्सले गत वर्ष ७ खर्ब ८६ अर्बको वस्तु आयात गरेको थियो। विश्वको कुल वस्तु आयातमा फ्रान्सको हिस्सा ३.२ प्रतिशत छ।
७. जापान- जापानले २०२३ मा ७ खर्ब ८६ अर्ब डलरको वस्तु आयात गरेको तथ्यांक छ। कुल आयातमा जापानको हिस्सा ३.२ प्रतिशत देखिएको छ।
८. भारत- भारतले गत वर्ष ६ खर्ब ७३ अर्ब डलरको वस्तु आयात गरेको थियो। भारत १ अर्ब ४० करोडभन्दा बढी जनसंख्यासहित विश्वको सबैभन्दा धेरै मानिस बस्ने देश हो। विश्वको कुल वस्तु आयातमा भारतको हिस्सा २.८ प्रतिशत छ।
९. हङकङ- आकारका हिसामा सानो देश भए पनि हङकङ विश्वको धेरै वस्तु आयात गर्ने देशको सूचीमा नवौँ स्थानमा छ। हङकङले २०२३ मा ६ खर्ब ५४ अर्ब डलरको वस्तु आयात गरेको थियो। कुल वस्तु आयातमा हङकङको हिस्सा २.७ प्रतिशत रहेको छ।
१०. दक्षिण कोरिया- २०२३ मा दक्षिण कोरियाले ६ खर्ब ४३ अर्ब डलरको वस्तु आयात गरेको थियो। कुल आयातमा दक्षिण कोरियाको हिस्सा २.७ प्रतिशत रहेको छ।
केही देश बाहेक संसारका अधिकांश देशको आयातमा गत वर्ष कमी आएको थियो। मागमा कमी आउँदा धेरै देशको वस्तु आयात घटेको थियो। धेरै आयात घट्ने देशमा ताइवान(माइन १८ प्रतिशत), ब्राजिल(माइनस १४ प्रतिशत) रहेका छन्। अमेरिकी राष्ट्रपतिमा ट्रम्प आएसँगै उनले अहिले घोषणा गरेजसरी नै कर नीति लिएमा यसले विश्वको वस्तु आयात तथा निर्यातमा ठूलै प्रभाव पर्ने देखिन्छ।
नेपाल पनि आयातमा निर्भर देश हो। जनसंख्या कम भएको र निर्यात गर्ने कुनै निश्चित वस्तु नभएकाले कच्चा पदार्थको आयात नहुने भएकाले विश्व मानचित्रमा अंकित हुने नसकेको हो। नेपालले आर्थिक वर्ष २०८०/८१ मा करिब १२ अर्ब अमेरिकी डलर(१६ खर्ब रुपैयाँ)को वस्तु आयात गरेको थियो। नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो।
नेपालले धेरै आयात वस्तुमा पेट्रोलियम पदार्थ, सवारीसाधन, मोबाइल फोन, खाद्ययान्न, फलामलगायत रहेका छन्। आन्तरिक अर्थतन्त्र शिथिल भएकाले नेपालमा पनि वस्तु आयात बढ्न सकिरहेको छैन। यसको प्रत्यक्ष प्रभाव राजस्व असुलिमासमेत परिरहेको छ।