मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, भएन कुनै नीतिगत फेरबदल

शुक्रबार, मंसिर १४ २०८१
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, भएन कुनै नीतिगत फेरबदल

मौद्रिक नीतिको पहिलो त्रैमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। कुनै पनि नीतिगत व्यवस्था फेरबदल नगरी राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले ५ प्रतिशतको नीतिगत दरलाई यथावत राखेको छ। यस्तै निक्षेप संकलन दर ३ प्रतिशत र ब्याजदर कोरिडोरको माथिल्लो सीमा बैंक दरलाई ६.५ प्रतिशतमा नै यथावत राखेको छ। यस्तै अनिवार्य नगद मौज्दात र बैधानिक तरलता अनुपातमा पनि कुनै फेरबदल गरेको छैन।

आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति २०८१ साउन ११ गते सार्वजनिक गरिएको थियो। 

मौद्रिक नीतिको पहिलो त्रैमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको छ।

मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ। २०८१ असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ।

कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ असोज मसान्तमा १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ।

मौद्रिक नीतिमा उल्लिखित व्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रयमासमा बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तरबैंक दर ३.०० प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२.० प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ।

यस्तो छ पहिलो त्रैमासिक समीक्षा -


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend