मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक, ठूलो नीतिगत फेरबदल नहुने

शुक्रबार, मंसिर १४ २०८१
मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक, ठूलो नीतिगत फेरबदल नहुने

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकको सञ्चालक समिति बैंठक बसेर मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकका एक अधिकारीले बताए।

'मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आजै सार्वजनिक गर्ने तयारी छ। सञ्चालक समितिको बैंठकले पारित गरेपछि समीक्षा आज सार्वजनिक हुनेछ', ती अधिकारीले बताए। 

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका प्रमुखहरुलाई समेत समीक्षा आउने बारे जानकारी गराए पनि समय भने तोकेको छैन। राष्ट्र बैंकले आफ्नै भवनबाट मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने उल्लेख गरेको भए पनि समय बारे अहिलेसम्म जानकारी नआएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। 

'मौद्रिक नीतिको पहिलो समीक्षा राष्ट्र बैंकले आज सार्वजनिक गर्ने जानकारी गराएपनि समय भने तोकेको छैन। राष्ट्र बैंकको आफ्नै भवनबाट समिक्षा सार्वजनिक गर्ने तयारी गरेको छ' , ती सीईओले बताए। 

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले समीक्षा तयार पारी गभर्नर कार्यालय पठाइसकेको छ। यस समीक्षा मार्फत मौद्रिक नीतिमा खासै ठूलो परिवर्तन गर्ने सम्भावना न्युन रहेको बताइएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै राष्ट्र बैंकले नीतिगत सहजीकरण गरिसकेकाले समीक्षा मार्फत ठूलो परिवर्तनको सम्भावना न्युन रहेको बताइएको छ। 

बैंक वित्तीय संस्थाका प्रमुखहरुले सेयर बजारमा बैंकहरुको लगानी सहजीकरण गरिदिन माग गरे पनि राष्ट्र बैंक यसमा खासै सकारात्मक छैन। यस्तै असल कर्जाको प्रोभिजनिङ थप घटाउन बैंकर्सले राष्ट्र बैंकलाई सुझाव दिएका थिए। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिसम्म आइपुग्दा १.१ प्रतिशतसम्म ल्याइसकेकाले समीक्षामा अझै घटाउने अवस्था नरहरेको बैंक वित्तीय संस्था नियमन विभागका अधिकारीहरु बताउँछन्। 

व्यक्तिगततर्फ सेयर कर्जाको  १५ करोडको सीमा हटाउन सेयर लगानीकर्ताले माग गर्दै आएका छन्। सबै सेयर कर्जाको जोखिमभार १०० प्रतिशत कायम गर्नुपर्नेमा उनीहरुको जोड छ। सेयर कर्जालाई थप सहजीकरण गरेर कर्जा प्रवाह बढाउने विषयमा राष्ट्र बैंक  केही लचक हुने सम्भावना देखिन्छ। 

घरजग्गामा कर्जाको माग बढाउनका लागि राष्ट्र बैंकले रियलस्टेटको क्षेत्रको जोखिमभार र लोन टु भ्यालु अनुपातमा समान्य हेरफेर गर्ने सम्भावना पनि रहेको बताइएको छ। ब्याजदर निरन्तररुपमा घटिरहेकाले नीतिगत दरहरुमा परिवर्तनको सम्भावना न्युन देखिन्छ। हाल ब्याजदर कोरिडोरको माथिल्लो सीमा ६.५ प्रतिशत, नीतिगत दर ५ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशत रहेको छ। 

चालु आर्थिक वर्षको पहिलो समीक्षामार्फत उक्त दरहरुलाई राष्ट्र बैंकले निरन्तरता दिने संकेत देखिएको छ। निक्षेपको ब्याजदर घटेर न्युनतम बिन्दुतर्फ आएकाले निक्षेपकर्तालाई बचत गर्न निरुत्साहित गर्न नहुने भन्दै राष्ट्र बैंकले पुरानै ब्याजदर कोरिडोरलाई चालु आर्थिक वर्षको समीक्षामार्फत निरन्तरता दिने तयारी गरेको छ।


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८१०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend