मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

प्रतिबन्धको समयमा भूमिगत भएको आयात खुकुलो हुँदा पनि लयमा फर्किएन

बिहीबार , मंसिर १३ २०८१
प्रतिबन्धको समयमा भूमिगत भएको आयात खुकुलो हुँदा पनि लयमा फर्किएन

प्रतिबन्धमा पनि नपरेका र भन्सार महसुल पनि उच्च नभएका वस्तुको पनि आयात बढ्न नसकेको भन्सारको पछिल्लो विश्लेषण छ।

काठमाडौं- भुक्तानी सन्तुलनमा दबाब सिर्जना भएपछि गरिएको कडाइको समयमा भूमिगत भएको आयात अझै पनि लयमा फर्किन सकेको छैन। सीमित वस्तुमा लगाएको प्रतिबन्धको मौका छोप्दै अरु केही वस्तुको आयात पनि भूमिगत भएको पछिल्लो समय अर्थ मन्त्रालयले विभिन्न चरणमा गरेको अनुसन्धानले देखाएको छ। 

‘प्रतिबन्ध लगाएकै वस्तु बजारमा छ्यापछ्याप्ती भेटिनु त हाम्रो स्वभाविक नियति नै भयो, त्योभन्दा पनि जोखिमपूर्ण प्रतिबन्ध नलागेका र न्यून भन्सार भएका वस्तु पनि भूतिगत मार्गबाट भित्रिन थालेको पाइयो’ मन्त्रालयनिकट उच्च स्रोतले भन्यो। 

कुन वस्तुको कति आयात कति औपचारिक र कति अनौपचारिक भयो भन्ने यकिज तथ्यांक अझै पूर्ण संकलन नभएको स्रोतको भनाइ छ। तथ्यांकको जटिलता पनि छ। के कति यस्तो आयात भयो भन्ने खाली अनुमानमात्र हुने भएकाले पनि कठिन भएको अधिकारीहरू बताउँछन्। 

बजारमा कुनै पनि वस्तुको अभाव नभएको, मूल्य पनि नघटेको तर निजी कम्पनीको औपचारिक ब्यालेन्ससिट र राज्यमा आउने करमा सुधार नभएकाले यस्तो भूमिगत आयात अझै पनि नघटेको प्रष्ट देखिने आन्तरिक राजस्व विभागका अधिकारीहरू बताउँछन्। 

विभागले अनुसन्धान गर्दा पनि औपचारिक स्टक र बिलिङमात्र देखिने भएकाले एकीकृत वित्तीय कारोबारको संकलन नहुँदासम्म यस्तो विचलन आइरहने उनीहरूको भनाइ छ। 

भुक्तानी सन्तुलनको संकटको समयमा प्रतिबन्ध लागेका वस्तुमाथिको प्रतिबन्ध हट्दासमेत अहिले औपचारिक आयात नबढेको भन्सारका अधिकारीहरू बताउँछन्। 

प्रतिबन्धमा पनि नपरेका र भन्सार महसुल पनि उच्च नभएका वस्तुको पनि आयात बढ्न नसकेको भन्सारको पछिल्लो विश्लेषण छ। 

‘कतिपय अवस्थामा यस्तो भयो कि शून्य भन्सार भएकै वस्तुको पनि औपचारिक आयात घटेको छ। भन्सारभन्दा पनि च्यानलबाट ल्याउँदा आन्तरिक करको दायरामा पर्ने भएकाले त्यसबाट उन्मुक्ति पाउन पनि अवैध आयात भइरहेको पाइएको छ’ भन्सार विभागका एक अधिकारी भन्छन्। 

खुला सीमानाको दुरुपयोग गर्दै तस्करहरूले अवैध पैठारी चलाइरहेको भन्सारको निष्कर्ष छ। 


प्रकाशित : बिहीबार , मंसिर १३ २०८११०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend