मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार वृद्धितर्फ सेयर बजार, ३३ अंकले बढ्यो, ७ अर्ब ४४ करोड रुपैयाँको कारोबार

मंगलबार, मंसिर ११ २०८१
लगातार वृद्धितर्फ सेयर बजार, ३३ अंकले बढ्यो, ७ अर्ब ४४ करोड रुपैयाँको कारोबार

काठमाडौं- आइतबार १३.०३ अंकले घटेको सेयर बजार सोमबार र मंगलबार लगातार वृद्धितर्फ लागेको छ। दुई दिनमा गरेर बजार ४९.२४ अंकले बढेको छ। 

गएको साता समग्रमा ६८.३५ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार ओरालोतिरै लागेकोमा सोमबार र मंगलबार भने हरियाली देखिएको हो। यो साता आइतबार १३.०३ अंकले घटेको सेयर बजार सोमबार १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा पुगेको थियो। 

मंगलबार ३३.४१ अंकले बढेर बजार २७१६.६६ बिन्दुमा पुगेको छ। २११ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ। ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा लगानीकर्ता देखिन्छन्। सोमबार र मंगलबार बढेको बजारले सकारात्मक संकेत गरिरहँदा नीतिगत साथ मिलेमा बजारले नयाँ उचाइ लिने देखिन्छ। 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत लगानीकर्ताहरूमाथि लगाइएको १५ करोडको सीमा हटाउने र १२५ प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेर बजारलाई सकारात्मक सन्देश दिन राष्ट्र बैंक लचिलो हुन सक्ने देखिएको छ। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend