गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपर रहेका विभिन्न उन्नाइस स्थानमा पहिराको नक्सांकन गरिएको छ।
पहिराले मानवबस्ती, समुदाय, खेतीयोग्य जमिन तथा भौगोलिक रूपमा पुर्याउनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि नक्सांकन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।
गाउँपालिकाको पहलमा भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)मार्फत पहिराले बढी क्षति पुर्याउनसक्ने स्थानको नक्सांकन गरिएको उनको भनाइ छ। गाउँपालिकाले १९ स्थानका पहिराको नक्सांकनका लागि प्राथमिकीकरण गरेको थियो।
पहिरोको नक्सांकनले पहिरोबाट हुनसक्ने जोखिमको अनुमान गर्न सकिने भएकाले जोखिम न्यूनीकरण र रोकथामका लागि सजिलो हुने एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजंग गुरुङले जानकारी दिए।
'पहिरो नियन्त्रणको काम गर्नुअघि अवस्था पत्ता लगाउन सम्पूर्ण अध्ययन गरी नक्सांकन गर्नुपर्छ, त्यसपछि मात्र पहिरोको सम्भावित जोखिम थाहा हुन्छ र जोखिम न्यूनीकरण गर्न सजिलो हुन्छ', उनले भने।
नक्सांकन गर्दा पहिरोको भौगोलिक, भौगर्भिक अवस्था, पहिरो रहेको स्थानको माटो, ढुंगा र चट्टानको अवस्थाबारे अध्ययन गरिन्छ। नक्सांकन गरिएका पहिरोग्रस्त क्षेत्रलाई जोखिमका आधारमा तीन भागमा विभाजन गरी नियन्त्रणका लागि योजना बनाउन सुझाव दिइएको गुरुङले बताए।
गाउँपालिकाका वडा नं १, ३, ४, ५, ६ र ८ का बस्ती नजिक रहेको पहिरोको नक्सांकन गरिएको हो। 'नक्सांकनबाट धेरै उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमका आधारमा छुट्याइएको छ', उनले भने, '११ स्थानका पहिरो थोरै बजेटमा पनि नियन्त्रण गर्न सकिने अवस्था छ।' रासस