मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कर्जा प्रवाह नबढेपछि वाणिज्य बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७७.९८ प्रतिशतमा झर्‍यो, कुन बैंकको कति?

सोमबार, मंसिर १० २०८१
कर्जा प्रवाह नबढेपछि वाणिज्य बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७७.९८ प्रतिशतमा झर्‍यो, कुन बैंकको कति?

राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्यांकअनुसार निक्षेपको औषत ब्याजदर ५.२४ प्रतिशत र कर्जाको औषत ब्याजदर ९.३३ प्रतिशतमा आएको छ।

काठमाडौं- अर्थतन्त्र चलायमान हुन नसक्दा २० वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात ७७.९८ प्रतिशतमा आएको छ। वाणिज्य बैंकहरूले अहिलेको अवस्थामा करिब ७ खर्ब १० अर्ब कर्जा लगानी गर्न सक्ने क्षमता भएपनि कर्जाको माग नबढ्दा प्रणालीमा थुप्रिएको छ।

राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्यांकअनुसार निक्षेपको औषत ब्याजदर ५.२४ प्रतिशत र कर्जाको औषत ब्याजदर ९.३३ प्रतिशतमा आएको छ।

पछिल्लो समय बैंकहरूले आफ्नो अधिकांश प्रोडक्टको ब्याजदर ९ प्रतिशतदेखि ७.३६ प्रतिशतको बीचमा ल्याइसकेका छन्। अर्थात बैंकहरुले आधार दरमा १ प्रतिशत प्रिमियम जोडेर कर्जा ब्याजदर निर्धारण गरेपनि कर्जा लगानी हुन सकेको छैन। 

निक्षेप संकलनमा भएको वृद्धिको तुलनामा कर्जा लगानी नभएपछि २० वटै वाणिज्य बैंक कर्जा निक्षेप अनुपातका आधारमा निकै सुविधाजनक स्थितिमा छन्। राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरेको छ। 

९० प्रतिशतमाथि सीडी अनुपात गएमा राष्ट्र बैंकले जरिवाना लगाउँदै आएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कर्जा निक्षेप अनुपातका आधारमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा सहज अवस्थामा रहेको छ। यस बैंकको सीडी अनुपात ६४.१२ प्रतिशत रहेको छ। 

राष्ट्रिय वाणिज्य बैंकपछि सबैभन्दा कम सीडी अनुपात नेपाल एसबिआई बैंकको ७३.५१ प्रतिशत रहेको छ। यसैगरी हिमालयन बैंकको सीडी अनुपात ७३.८७ प्रतिशत छ।

हिमालयन बैंकपछि सीडी अनुपात कम हुने बैंकमा कृषि विकास बैंक रहेको छ। यस बैंकको कर्जा निक्षेप अनुपात  ७४.०२ प्रतिशत छ।

यसैगरी नेपाल बैंक लिमिटेडको ७५.३१ प्रतिशत, प्रभु बैंकको ७६.०१ प्रतिशत, स्टाण्डर्ड चार्टर्ड बैंकको ७६.४८ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७६.८२, लक्ष्मीसनराइज बैंकको ७७.०५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७९.४६ प्रतिशत र एनआईसी एसिया बैंकको ७९.६२ प्रतिशत  कर्जा निक्षेप अनुपात रहेको छ। 

यस्तै ८० प्रतिशतभन्दा बढी कर्जा निक्षेप अनुपात हुनेमा सानिमा बैंकको ८०.१३ प्रतिशत, नबिल बैंकको कर्जा निक्षेप अनुपात ८१.७१ प्रतिशत, एभरेष्ट बैंकको ८१.३७ प्रतिशत, सिद्धार्थ बैंकको ८१.५३ प्रतिशत,एनएमबि बैंकको ८१.७० प्रतिशत रहेको छ।

यसैगरी माछापुच्छ्रे बैंकको ८२.१७ प्रतिशत, कुमारी बैंकको ८२.८८ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकको ८३.६५ प्रतिशत रहेको छ। सबैभन्दा बढी कर्जा निक्षेप अनुपात प्राइम कर्सियल बैंकको ८५.३८ प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, मंसिर १० २०८१०७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend