काठमाडौं- अर्थतन्त्र नसुध्रिएपछि बैंक वित्तीय संस्थाहरू खराब कर्जा वृद्धिको मारसँगै कर्मचारीले जागिर छोड्ने दबाबबाट गुज्रिरहेका छन्। बैंकका अनुभवि तथा पुराना कर्मचारीहरू जागिर छाडेर विदेश जान थालेपछि विभिन्न बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू चिन्तामा परेका हुन्।
मुलुकको अर्थतन्त्रलाई लिएर निरासासँगै बैंक वित्तीय संस्थाले दिएको सेवा सुविधामाथि चित्त नबुझाइ कर्मचारीहरू विदेश जाने क्रम बढेपछि बैंक वित्तीय संस्थाहरूमा मानव संशाधन व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको छ।
अर्थतन्त्रमा समस्या रहेको र बैंकले दिने टार्गेट पूरा गर्न नसकिने भन्दै बैंक छोड्ने क्रम तीब्ररुपमा बढ्न थालेको बैंकर्स बताउँछन्।
बैंक वित्तीय संस्थाको जागिरलाई आकर्षक मानिएपनि नियामक राष्ट्र बैंकले छोटो समयमा गर्ने नीतिगत फेरबदल, दुर्गा प्रसाईंलगायतले ऋण तिर्नु नपर्ने भन्दै बैंकर्समाथि गरिररहेको आक्रमण र भविष्यप्रतिको चिन्ताले बैंकर्सले जागिर छोडेको हुनसक्ने अनुमान गरिएको छ।
बैंकिङ क्षेत्रलक्षित आक्रमण भएपनि राज्यले सुरक्षाको प्रत्याभूति दिन नसकेपछि पछिल्लो समय बैंक वित्तीय संस्थाका कर्मचारी बढी निराश छन्। ऋण नतिर्ने भन्दै अराजकता फैलाउनेमाथि सरकारले कारबाही नगरेकाले पनि कर्मचारीहरू त्रसित छन्।
ऋण असुली बैंकको प्रमुख काम भएपनि ऋण असुली गर्न बैंकले खटाएका कर्मचारीहरूमाथि नै आक्रमण भइरहँदा राज्य मौन बस्दा बैंकिङ क्षेत्रमा निरासा बढिरहेको छ। निर्णय सञ्चालक समितिबाट हुने तर समस्यामा कार्यान्वयन गर्ने कर्मचारी पर्ने भएपछि बैंकको जागिरप्रति कर्मचारीको वितृष्णा बढ्न थालेको हो।
अन्य बैंक वित्तीय संस्थामात्रै नभएर पछिल्लो समय राष्ट्र बैंकको आईटी विभागमा काम गर्ने केही कर्मचारीले समेत जागिर छोडेको बताइएको छ।
बैंक वित्तीय संस्थाहरू यसैपनि अधिक तरलता तर न्यून कर्जा प्रवाहको मागबाट गुज्रिरहेका छन्। ब्याजदर घटेर ७/८ प्रतिशतमा आइपुग्दा पनि कर्जा प्रवाह नबढेपछि बैंकर्सको निरासा चरमस्तरमा पुगेको हो।
सरकारी निर्माण क्षेत्र ठप्पप्राय रहेको र निजी क्षेत्रले कर्जाको माग नगरेकाले कर्जा प्रवाह बढ्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताउँछन्। 'बैंकिङ प्रणालीमा तरलताको कुनै कमी छैन। ब्याजदर घटेर न्यूनतमस्तरमा आइसकेको छ। तर कर्जाको माग बढेको छैन। खराब कर्जाको समस्याबाट बैंकहरू यसैपनि दबाबमा थिए नै पछिल्लो समय कर्मचारीहरूले बैंक छोड्ने प्रवृत्ति बढेको छ। सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन। निजी क्षेत्रले कर्जाको माग गरेको छैन। बैंकहरू नाफा घट्दै गइरहेको छ। अहिले सबैतिर निरासा चरमस्तरमा पुगेको छ। यसबाट कसरी बाहिर निसक्ने उपाय देखिरहेको छैन', केसीले बताए।
बैंकहरूको खराब कर्जा बढेसँगै बैंकहरूको खराब कर्जा नोक्सानी व्यवस्था बढिरहेको छ। पछिल्लो समय राष्ट्र बैंकले केही नीतिगत सहजीकरण गरेपनि आगामी समयमा त्यो मात्रै पर्याप्त हुने देखिँदैन।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही नीतिगत सहजीकरण गर्दै असल कर्जाको नोक्सानी व्यवस्था घटाउने, नियामनकारीकोषको सीमा बढाउने, नीतिगत दर घटाउने, निर्माण क्षेत्रको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्ने, सेयर कर्जाको सीमा हटाउने, पुँजीकोष पुर्याउनका लागि अग्राधिकार सेयर जारी गर्न अनुमति दिनेलगायतका नीतिगत निर्णय गरेको थियो।
तर निजी क्षेत्रको मनोबल नबढ्दा अर्थतन्त्रले गति लिन सकेको छैन। सेयर बजार सामान्यरुपमा बढेपनि घरजग्गा चलायमान हुन सकेको छैन।
अर्कोतर्फ मौद्रिक नीतिमा अधिकतम लचकता अपनाएपनि सरकारको वित्त नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा अर्थतन्त्रमा समस्या देखिएको हो।
बाह्य क्षेत्र निकै सुविधाजनक अवस्थामा पुगेपनि सरकारले आशा जगाउने खालका ठूला परियोजनाहरू सञ्चालन गर्न सकेको छैन। मुलुकमा विकास निर्माण गर्ने र रोजगारी सृजना गर्ने कामभन्दा पनि विभिन्न सरकारी खर्च, कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्तालगायत चालु शीर्षकका क्षेत्रमा मात्र खर्च भइरहेको छ।
सरकारले उठाएको राजस्व ऋणको साँवा ब्याज तिर्न र चालु खर्च धान्नमा नै सकिएकाले सरकारले विकास निर्माणको काम गर्न पाएको छैन। विकास निर्माणको काम नहुँदा निर्माण समाग्रीको माग बढ्न सकेको छैन।
निर्माण समाग्रीको माग नबढ्दा उत्पादन घटेको छ। उत्पादनमा आएको कमीले रोजगारी र पारिश्रमिकमा कटौती भएको छ। रोजगारीमा कटौती हुँदा उपभोग घटेको छ। उपभोगमा आएको कमीले माग घटेको छ। माग घट्दा आयात घटेको छ। आयातमा आएको कमीले सरकारी राजस्व घटेको छ भने राष्ट्र बैंकमा विदेशी विनिमय सञ्चिति थुप्रिएको छ।
गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन करिब १७ प्रतिशतले बढेपनि पुँजीगत खर्चमा सुधार हुन सकेको छैन। विगतमा रोकिएका र खर्च हुन नसकेका परियोजनाहरू संचालनमा तीब्रता दिँदै सरकारले विकास निर्माणको काम बढाएर बैंक वित्तीय संस्थाहरूको न्यून कर्जा प्रवाहको समस्या हल नगरे आगामी समय थप जटिल बन्दै जाने देखिएको छ।