आइतबार, मंसिर ९ गते २०८१    
images
images

कृषि कर्ममा फेरिँदो प्रविधि र सीप : माटोबिना पानीमै सफल खेतीदेखि कालो गोलभेँडासम्म

images
आइतबार, मंसिर ९ २०८१
images
images
कृषि कर्ममा फेरिँदो प्रविधि र सीप : माटोबिना पानीमै सफल खेतीदेखि कालो गोलभेँडासम्म

हाइड्रोपोनिक्स र एक्वापोनिक्स प्रणाली अपनाएर खेती गर्नुका साथै यसमा रुचि राख्ने अन्य किसानहरुलाई अघि बढ्न पनि सहयोग गरेर हाइड्रोपोनिक्स नेपालले कृषिमा उदाहरणीय काम गरिरहेको छ।

images
images

काठमाडौं- कृषिमा नयाँ विधि र शैलीको प्रयोग बढ्दै गइरहेको छ। अधिक उत्पादन र राम्रो नाफाका साथै स्वस्थ खानपानका लागि पनि नयाँ विधिले सहयोग गरिरहेका छन्। यस्तैमध्येको एक आधुनिक वैज्ञानिक शैली हो, ‘हाइड्रोपोनिक्स’। न खेतबारी चाहियो न त माटो नै। जहाँ पानीमै हुर्काइन्छ बिरुवा। 

images
images
images

यस्तै हाइड्रोपोनिक्स प्रणाली अपनाएर खेतीमा लागिरहेको एउटा फार्म हो ‘हाइड्रोपोनिक्स नेपाल’। काठमाडौंको सांस्कृतिक ऐतिहासिक सहर टोखाको सपनतिर्थनजिकै रहेको यो अर्गानिक फार्मले हाइड्रोपोनिक्स, एक्वापोनिक्स प्रणालीको खेतीका साथै फार्म गार्डेन क्याफेसमेत सुरु गर्दैछ। 

images

हाइड्रोपोनिक्स् माटोबिना नै पानीमा वनस्पति उमार्ने वैज्ञानिक विधि हो। यसमा जमिनमा उम्रने बोटविरुवाका जरालाई माटोको सट्टामा पानीमा राखेर विभिन्न पोषक तत्वको मिश्रणबाट हुर्काइन्छ। जसमा स्वस्थ बिरुवाका लागि आवश्यक सबै पोषक तत्व दिइन्छ। 

images

जलवायु र वातावरणीय प्रणालीलाई यसरी नियन्त्रित गरिन्छ जसले गर्दा मौसममा हुने फेरबदलले समेत यसलाई ठूलो असर गर्दैन। सानो ठाउँमा धेरै खेती गर्न सकिनुका साथै पानीको बचतमा समेत यो खेती प्रणालीले सहयोग गर्छ। खेतीका लागि विशेषगरी ग्रिनहाउसकै प्रयोग गर्ने गरिन्छ। जहाँ प्रकाश र पानीका साथै कार्बनडाइअक्साइड र आवश्यक पोषक तत्वहरूमा विशेष ख्याल गरिन्छ। 

माटोमा हुने परम्परागत खेतीमा बिरुवाले माटोबाट आवश्यक पोषक तत्वहरू पाउँछन्। हाइड्रोपोनिक्समा भने बिरुवाले माटोबाट पोषक तत्वहरू अवशोषित गर्नुको सट्टा ती पोषक तत्वहरूलाई तरल घोलबाट सोस्छन्, जुन पानीमा मिलाइएको हुन्छ। 

tokha farm (8).jpg

यो प्रणालीमा विरुवा हुर्कन सहयोगका लागि विभिन्न ट्रे, पाइप, बालुवा या गिट्टीका टुक्रा, चट्टान, ऊनजस्ता गैरमाटोका सामान प्रयोग गरिएका हुन्छन्। हाइड्रोपोनिक्समा यस्तो प्रणालीको प्रयोग हुन्छ जसमा हरक्षण बिरुवाहरूलाई निगरानी गर्ने र आवश्यक व्यवस्था मिलाउने काम भइरहेको हुन्छ। पानी, प्रकाश र अन्य आवश्यक तत्वहरुको प्रणाली ठीक ढंगले सञ्चालन होस् भन्नका लागि स्वचालित रुपमा चल्ने विशेष समयतालिका बनाइएको हुन्छ। 

हाइड्रोपोनिक्स प्रणालीको सबैभन्दा महत्त्वपूर्ण तत्व भनेको नै पोषक तत्वको घोल हो, जुन पानीमा मिलाइएको हुन्छ। त्यो कति समय कसरी दिने भन्नका लागि स्वचालित ‘टाइमर’ राखिएका हुन्छन्। सयौँ वर्षअघिदेखिको खोज अनुसन्धान र प्रयोगले यो विधि विश्वभर फैलँदै गइरहेको छ। 

‘हाइड्रोपोनिक्स नेपालले यो प्रविधि इजरायलबाट नेपाल भित्र्याएको हो। हाइड्रोपोनिक्स भनेको माटोबिनाको खेती हो। जुन पानीमा गरिन्छ। पानीमा न्युट्रिसनहरू हालेर बिरुवामा सप्लाइ गरिन्छ। त्यसबाटै पानीमा बिरुवाहरूको ग्रोथ हुन्छ’, हाइड्रोपोनिक्स नेपालका मेनेजर भुवन भण्डारी भन्छन्, ‘एक्वापोनिक्स भनेको चाहिँ हाइड्रोपोनिक र एक्वाकल्चरको हाइब्रिड हो। यसमा माटोबिनाको खेती र माछापालनलाई एउटै संयन्त्रमा जोडिएको हुन्छ।'

tokha farm (3).jpg

‘हाइड्रोपोनिक्स नेपाल’मा गरिँदै आएको एक्वापोनिक्स विधिमा बिरुवा र माछाबीच सम्बन्ध स्थापित गराइएको छ। जहाँ माछाले मोटबिरुवाहरूलाई मल दिने काम गरेका छन् भने बोटबिरुवाहरूले माछाका लागि चाहिने पानी सफा गरेर माछापोखरीमा फिर्ता पठाउने काम गरेको छ।

‘यसमा एउटा इकोसिस्टम स्थापित भएको हुन्छ। यसैको आधारमा फार्म चलेको हुन्छ। विशेषगरी यहाँ काचै खाइने सागहरु उत्पादन भइरहेको छ। यहाँको उत्पादन प्राय ठूला होटलहरूमा सप्लाइ हुन्छ। स्वास्थ्यका हिसाबले पनि यहाँको उत्पादन उपभोक्ताले राम्रो मानेका छन्। सागमात्रै नभएर सबै प्रकारका बोटबिरुवाहरू यही प्रविधिबाट लगाउन सकिन्छ’ भण्डारीले सुनाए। 

आफ्नो फार्ममा उत्पादन भएका सबै कुरा पूर्णरुपमा अर्गानिक हुने बताउँदै भण्डारी भन्छन्, ‘यहाँ थोरै पनि विषादी देखियो भने बिरुवाहरू पनि मर्छन् र माछापालन पनि खेर जान्छ। यो एकदमै प्राकृतिक तवरबाट भइरहेको काम हो। मानव स्वास्थ्यभन्दा ठूलो कुरा अर्को छैन, त्यसले हामीले पूर्णरुपमा स्वस्थ उत्पादन होस् भन्नेमा ध्यान दिएका छौँ।’ 

tokha farm (4).jpg

जनसंख्या बढ्दै जाँदा खेतीयोग्य जमिन घट्दै गइरहेकाले पनि माटोबिना नै गर्न सकिने यो आकाशे खेती अझ बढी उपयोगी हुने भण्डारी बताउँछन्। ‘यसलाई तला तला बनाएर माथिसम्म पनि लैजान सकिन्छ। यसमा प्रविधिअनुसार खर्च भने लाग्छ। इको सिस्टम फुलफिल गर्न एउटा साइकल हुन्छ। हरेक दिन कतिवटा बिरुवा रोप्ने कतिवटा उत्पादन गर्ने भन्ने निश्चित गरिएको हुन्छ’ उनले भने। 

गएको ८ वर्षदेखि चलिरहेको यो फार्ममा प्रमुख लगानीकर्ता पर्यटन व्यवसायी सुमन पाण्डेसहित निलमणी सापकोटा र गणेश पाण्डे सञ्चालक रहेका छन्। झण्डै दुई करोड रुपैयाँ लगानी भइसकेको यो फार्ममा अहिले २० जनाभन्दा बढी कामदारहरू रहेका छन्। यहाँ भएको उत्पादन प्राय त ठूला तारे होटलहरूमा नै पुग्छन्। 

tokha farm (5).jpg

‘यसमा प्राय पाँचतारे, तीनतारे होटलका साथै केही व्यक्तिगत ग्राहकहरू पनि छन्। आम्दानीको हिसाबले यो व्यवसाय अहिले पष्टाउँदो छ। किनभने कोरोनापछि मानिसहरूले स्वास्थ्य संवेदनशीलता अलि बढी अपनाएको पाइन्छ। सलादहरू शतप्रतिशत अर्गानिक भएकाले जो कोहीले पनि यो एकपटक प्रयोग गरेपछि मन पराउनुहुन्छ। आम्दानीको हिसाबले हामी सन्तुष्ट छौँ’ मेनेजर भण्डारीले सुनाए।

‘हाइड्रोपोनिक्स नेपाल’ आफ्नो फार्ममा उत्पादनमा मात्रै होइन प्रविधि र सीप हस्तान्तरणमा पनि सक्रिय रहेको छ। हाइड्रोपोनिक्स खेतीका लागि आवश्यक पर्ने फार्म तयार पारिदिन र किसानलाई बजारसम्मको पहुँचमा पुर्‍याउन पनि यसले मद्धत गर्ने गरेको छ। 

tokha farm (7).jpg

‘हामी सहुलियत रकममा नै फार्महरू सेटअप इन्स्टलेसन गर्ने काम पनि गरिदिन्छौँ। बजार खोजिदिने काम गर्छौँ। हाइड्रोपोनिक्स प्रविधिमा रहेर खेती गर्ने किसानहरू हामीमार्फत नै पनि ५० फार्मभन्दा बढी भइसकेको छ’ भण्डारीले भने।  

आफूहरूले ग्राहकहरूमार्फत निकै राम्रो प्रतिक्रिया पाइरहेको भण्डारी सुनाउँछन्। ‘स्वास्थ्यका दृष्टिले राम्रो हुनुका साथै बाहिरका अन्य खेतीमा भन्दा यसमा स्वाद पनि राम्रो छ भन्नुहुन्छ। यसमा तिख्खरपन हुन्छ र निकै नरम पनि हुन्छ। खाँदा मजा आउँछ। ग्राहकहरूले त अहिले माटोमा भएको उत्पादन र यहाँको उत्पादन हेरेरै चिन्न थालिसक्नुभएको छ’ उनले प्रष्ट्याए। 

tokha farm (6).jpg

माटोबिना पानीमा गरिने यो खेतीमा विशेष त सरसफाइमा नै विशेष ध्यान दिनुपर्छ। यहाँ सबै कामदारहरू फार्ममा काम गर्दा मास्क र एप्रोन लगाएर नै काम गरिरहेका देखिन्छन्। ‘हुन पनि समयको हिसाबले फरक होला नत्र त बिरुवा हुर्काउनु भनेको बच्चा हुर्काउनुजस्तो नै त हो। सबै कुरामा ख्याल गरेर रेखदेख गर्नुपर्छ’ भण्डारीले भने। 

चार महिनादेखि फार्ममा काम गरिरहेकी रुद्रमाया श्रेष्ठलाई यहाँ काम सजिलो लाग्छ। उनका अनुसार माटोमा गरिने खेतीमा भन्दा पानीको खेतीमा काम सहज छ। ‘सबै कुरा सफा र स्वस्थ होस् भन्नेमा ध्यान दिनुपर्छ। फार्म सरसफाइमा विशेष ध्यान दिन्छौँ। कुनै पनि विषादीहरुको प्रयोग यहाँ हुँदैन’ उनले भनिन्। 

हाइड्रोपोनिक्स नेपालमा अहिले कालो गोलभेँडाको खेतीसमेत सफल प्रयोग गरिएको छ। तारे होटलहरुमा अत्याधिक माग रहेको कालो गोलभेँडा अन्य गोलभेँडाको तुलनामा दोबर मूल्यमा बिक्री हुने गरेको पाइन्छ। हाइड्रोपोनिक्स नेपालमा कालो गोलभेँडा खेतीको प्रयास सफल भएसँगै अब यसलाई व्यावसायिक रुपमा अघि बढाइँदै छ। 

tokha farm (2).jpg

‘कालो गोलभेँडाको सुरुवात रुसबाट भएको मानिन्छ। नेपालमा यो सन् २०१९ मा भित्रिएको हो। यसलाई व्यावसायिक उत्पादन गर्न सकिन्छ कि भनेर हामीले गरेको प्रयोग अहिले सफल भएको छ’ भण्डारीले भने। 

औषधीय गुणले भरिपूर्ण हुने कालो गोलभेँडामा अरु गोलभेँडामा भएको गुण सबै हुने र स्वाद पनि अलि भिन्न हुने बताउँदै भण्डारी भन्छन्, ‘यसलाई अरु गोलभेँडाजस्तै प्रयोग गर्न सकिन्छ। अब हामी व्यावसायिक उत्पादनमा नै लाग्ने छौँ। यो गोलभेडा एउटा बोटमा नै १० किलोसम्म फल्ने रहेछ।'

सामान्य उपभोक्ताले पनि खरिद गर्न सक्नेगरी उत्पादनको प्रयास गरिरहेको भण्डारी बताउँछन्। ‘जति उत्पादन गर्न सकियो मूल्य उति नै घट्ने छ। अहिले प्रयोगका रुपमा मात्र सुरु गरेकाले बिक्री गरेका छैनौँ। यसको बीउ उत्पादनको प्रयास पनि गरिरहेका छौँ। त्यो सफल भएमा किसानहरूलाई पनि वितरण गर्नेछौँ’ उनले भने। 

tokha farm (10).jpg

हाइड्रोपोनिक्स नेपालको फार्मसँगै अहिले फार्म गार्डेन क्याफेको निर्माणसमेत धमाधम भइरहेको छ। जहाँ अर्गानिक स्वादसँगै प्राकृतिक वातावरणमा रमाउन सकिनेगरी काम भइरहेको छ। केही समयमा नै होमस्टेको सुविधासमेत ल्याइनेगरी काम भइरहेको सञ्चालक बताउँछन्।    

‘फार्ममा उत्पादन भएका अर्गानिक उत्पादन ग्राहकहरूले यहाँ नै बसेर स्वाद लिन पाउनेछन्। यसमा अन्य हिमाली उत्पादनहरू पनि प्रयोग हुनेछ। कृत्रिम रंग र कृत्रिम स्वाद यहाँ प्रयोग हुने छैन। हिमाली नुनको प्रयोगसँगै यहाँ सकेसम्म स्वस्थ स्वाद पस्कने छौँ' भण्डारीले बताए। 

tokha farm (9).jpg

हाइड्रोपोनिक्स र एक्वापोनिक्स प्रणाली अपनाएर खेती गर्नुका साथै यसमा रुचि राख्ने अन्य किसानहरुलाई अघि बढ्न पनि सहयोग गरेर हाइड्रोपोनिक्स नेपालले कृषिमा उदाहरणीय काम गरिरहेको छ।

हाइड्रोपोनिक्स नेपालले आधुनिक प्रविधि र सीपको सही उपयोग गर्न सके कृषिको प्रारब्ध बदल्न सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गरिरहेको छ।

भिडियोमा हेर्नुहोस् -

 


प्रकाशित : आइतबार, मंसिर ९ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend