काठमाडौं- पछिल्लो एक दशकमा चमत्कारीक रुपमा भारतमा व्यावसायिक साम्राज्य खडा गर्न सफल गौतम अडानीविरुद्ध अमेरिकामा घुसखोरी तथा जालसाजीको अभियोगसहितको मुद्दा परेको छ।
संसारकै धनाढ्यहरूको माथिल्लो २०को सूचीमा रहेका अडानीविरुद्ध अमेरिकी न्यायधिवक्ताको कार्यालयले अभियोग दर्ता गरेपछि अडानीका मुख्य कम्पनीको सेयर मूल्यमा व्यापक गिरावट आएको छ। अडानी समूहले प्रबर्द्धन गरेका कम्पनीको सेयर मूल्य २८ अर्ब डलर घटिसकेको छ।
सेयर मूल्यको ओरालो यात्रा एकातिर कायमै छ भने अर्कोतिर अडानीमाथि अमेरिकी अदालतमा गम्भीर मुद्दामाथिको सुनुवाई पनि सुरू भएको छ।
भारतकै सबैभन्दा ठूलो सोलार प्लान्ट राख्ने योजना बनाएकै अडानी समूहले यो ठेक्का लिनका लागि २६ करोड अमेरिकी डलर घुस सरकारी अधिकारीलाई दिएको वा दिने योजना बनाएको आरोप अमेरिकी पक्षको छ। अमेरिकामा यो मुद्दा लाग्नुको मुख्य कारण भनेको यही परियोजनाका लागि भन्दै अमेरिकाबाट ऋण जुटाउन खोजिएको थियो।
६० करोड डलरको ऊर्जा बन्ड जारी गर्ने तयारी भइरहेको थियो। अमेरिकी लगानीकर्ता र नागरिकको रकम लिएर भारतमा घुस दिन खोजिएको भन्दै अभियोग लागेको छ। अडानीसहित सात जनालाई अभियुक्त बनाइएको छ।
यो मुद्दाले अडानी गम्भीर समस्यामा परेका छन्। यसअघि सर्टसेलर हिन्डनवर्गको आरोपलाई निस्तेज पार्न सफल भएपनि यो पालि भने अमेरिकी न्याय विभाग अन्तर्गतकै निकायले आरोप लगाएपछि उन सकसमा परेका हुन्।
भारतीय विपक्षी दलहरूले निरन्तर रुपमा अडानीलाई वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी निकट भएर अस्वभाविक लाभ लिएको आरोप लगाउँदै आएका छन्। पछिल्लो यो मुद्दापछि त झन भारतीय विपक्षी दलका नेता राहुल गान्धीले संसदीय समिति गठनको माग गरिसकेका छन्।
सत्तासँगको साँठागाँठबाट विमानस्थल, वन्दरगाह, निर्माण, ऊर्जा क्षेत्रका लाभदायक परियोजना हात पारेको र प्रतिस्पर्धीलाई पाखा लगाएर एकलौटी गरेको घरेलु आरोप लागेपनि अमेरिकी निकायले नै यो पालि संगिन आरोपसहित अडानीविरुद्ध अभियोग दर्ता गराएको छ।