बिहीबार , मंसिर ६ गते २०८१    
images
images

सीमावर्ती भारतीय बजारमा नेरु-भारुमा मनपरी, नेपाली मुद्राको अवमूल्यन

व्यवसायी भन्छन् - नेपालको अव्यवहारिक करनीति र सुन तस्करीसमेत कारण

images
बिहीबार , मंसिर ६ २०८१
images
images
सीमावर्ती भारतीय बजारमा नेरु-भारुमा मनपरी, नेपाली मुद्राको अवमूल्यन

दसैँतिहार, छठजस्ता चाडपर्वको माहोलमा भारतबाट सुनदेखि प्याजसम्म भित्रिन थालेपछि रक्सौलका व्यापारीहरूले मनपरी बट्टा लिन थालेको नेपाली उपभोक्ताहरू बताउँछन्।

images
images

पर्सा- देशकै प्रमुख नाकाको रुपमा रहेको नेपाली सहर वीरगञ्जका सर्वसाधारण किनमेल गर्न सीमावर्ती भारतीय सहर रक्सौल पुग्छन्। नेपाली बजारभन्दा सस्तोमा खाद्यान्न, लत्ताकपडालगायतका मालसामान खरिद गर्न रक्सौल पुग्ने नेपाली उपभोक्ताले केही समययता घाटा ब्यहोर्दै आएका छन्। 

images
images
images

धेरै त नेपाली उपभोक्तामै टिकेका रक्सौलका व्यापारी तथा सटही काउन्टर सञ्चालकले नेपाली मुद्रालाई अवमूल्यन गरिरहेको पीडितले गुनासो गरेका छन्। सीमावर्ती भारतीय बजार रक्सौलका व्यापारीले नेपाली रुपैयाँको मनपरी मूल्य निर्धारण गरिरहेको उनीहरूको गुनासो छ। 

images

रक्सौलका व्यापारीले नेपाली मुद्राको अवमूल्यन गरी हाल ६ देखि ७ रुपैयाँसम्म ‘बट्टा’ लिइरहेका छन्। १ सय भारतीय रुपैयाँको आधिकारिक विनिमय मूल्य १ सय ६० नेपाली रुपैयाँ रहेपनि रक्सौल बजारमा नेरु १ सय ६६ देखि १ सय ६७ नेपाली रुपैयाँबराबर १ सय भारतीय रुपैयाँ कायम गरेर रक्सौलका व्यापारीहरूले नेपाली उपभोक्तासँग चर्को बट्टा लिइरहेका छन्। 

images

कतिपय नेपाली उपभोक्ता आफूहरू रक्सौल बजारमा ठगिएको भेउसम्म पाउँदैनन्। कतिपय नेपाली उपभोक्ताले यसबारे जानकारी रहेपनि नेपाली बजारभन्दा सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु पाइने लोभमा जानाजान ठगिँदैछन्। दसैँ, तिहार तथा छठ पर्वका लागि नेपाली उपभोक्ताहरू ठूलो संख्यामा भारतीय बजार रक्सौल किनमेल गर्न पुगेका थिए।  

तुलनात्मक रुपमा नेपालतर्फ वीरगञ्जको बजारमा किनमेल गर्ने उपभोक्ताको संख्या कम छ भने भारतीय बजार रक्सौलमा नेपाली उपभोक्ताको चहलपहल बढी रहँदै आएको छ। सामान्य अवस्थामा पनि रक्सौल बजार वीरगञ्ज बजारभन्दा अत्यन्त चलायनमान रहने गर्छ। धेरै त नेपाली ग्राहकले नै यो बजार चल्ने गरेको रक्सौलका व्यापारी स्वीकार्छन्। 

raksaul naka (2).jpg

रक्सौलमा किनमेल गर्न आउने वीरगञ्जका मात्र नभइ बारा, मकवानपुर, काठमाडौंसम्मका नेपाली ग्राहक हुने गरेका छन्। बिशेषगरी दैनिक उपभोग्य खाद्यान्न सामग्री र लत्ताकपडा तुलनात्मक रुपमा भारतमा सस्तो हुने गरेको छ। 

यसअघि सात/आठ महिनाअघिसम्म नेपाली मुद्राको विनिमय दर भारत रक्सौल बजारमा आधिकारिक दररेट बराबर नै रहेको थियो। त्यसअघि करिब एक महिना त नेपाली मुद्रा नै भारतीय बजारमा बलियो भएको थियो। 

दसैँतिहार, छठजस्ता चाडपर्वको माहोलमा भारतबाट सुनदेखि प्याजसम्म भित्रिन थालेपछि रक्सौलका व्यापारीहरूले मनपरी बट्टा लिन थालेको नेपाली उपभोक्ताहरू बताउँछन्। 

वीरगञ्जका एक स्थापित व्यापारीले तीन सातायता भारतबाट नेपालतर्फ सुनको समेत तस्करी हुन थालेपछि त्यसको फाइदा रक्सौलका व्यापारीहरूले उठाएको आरोपसमेत लगाए। तस्करी सुरु भएपछि त्यसको सोझो असर बजारमा परेर नेपाली मुद्रा अवमूल्यन हुन थालेको ती व्यापारीले बताए। 

‘रक्सौल बजारमा नेपाली मुद्राको अवमूल्यन गरेर चर्को बट्टा लिने काम त्यहाँका व्यापारीहरूले मनोमानीपूर्वक गर्ने हो, बजारको अवस्थाले बट्टाको दर निर्धारण गर्ने होइन,’ उनले भने, ‘त्यो त एक अर्को मुलुकमा सुन कसरी र कति परिमाणमा तस्करी हुन्छ त्यसले निर्धारण गर्ने गरेको हो, सुनको तस्करी र दैनिक उपभोग्य वस्तुको खरिद बिक्री हुने बजारबीच कुनै सामञ्जस्यता छैन।’ 

हाल भारत सरकारले सुनको आयातमा भन्सार महसुल घटाएपछि नेपालभन्दा भारतमा सुन सस्तो हुँदा भारतबाट नेपालतर्फ सुन तस्करी भइरहेको ती व्यापारीले बताए।

‘नेपालमा हाल सुनको आयात गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्छ भने भारतमा ३ प्रतिशतमात्र भन्सार महसुल लाग्छ,’ उनले भने, ‘प्रति १० ग्राम सुनको मूल्य नेपालभन्दा भारतमा १० हजार रुपैयाँले सस्तो छ।’

भारत सरकारले नेपाल र बंगलादेश हुँदै आफ्नो मुलुकमा हुने सुन तस्करी रोक्न यो कदम चालेको हो। विगतमा चीनबाट नेपाल हुँदै भारततर्फ हुने सुनको तस्करी हाल भारत हुँदै नेपालतर्फ हुने गरेको सीमा नाकानजिकका सुनचाँदी व्यवसायीहरूले समेत बताएका छन्। चीनमा तीन महिना लामो बिदा नजिकिएकाले भारतबाट नेपालतर्फ हुने सुनको तस्करी जनवरी मध्यसम्म हुने सम्भावना रहेकोसमेत व्यवसायीले बताए। 

raksaul naka (3).jpg

वीरगञ्ज उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष माधव राजपाल भारतीय बजारमा हुने गरेको नेपाली मुद्राको अवमूल्यन रोक्न नेपाल सरकारले आयात रोकेको मरिच, केराउ, छोकडा आदि वस्तुको आयात खुला गर्नुपर्ने बताउँछन्। 

पछिल्लो समय रक्सौलमै चर्चित भारतीय ब्राण्ड तनिश्क, कल्याण आदिले आफ्ना गहनाका शोरुमहरू पनि सञ्चालनमा ल्याएको र त्यो नेपाली ग्राहकहरूलाई नै लक्षित गरी सञ्चालन गरिएको उनले बताए।  

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल नेपाल सरकारको करनीति अव्यवहारिक हुँदा नेपालीभन्दा भारतीय बजारहरूमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य सस्तो भएर नेपाली उपभोक्ता भारतीय बजारहरूमा आकर्षित हुने गरेको बताउँछन्। 

‘भारत सरकारको कर प्रणालीसँग सामञ्जस्यता राखेर नेपालमा पनि वस्तुअनुसारको भन्सार महसुल तथा कर निर्धारण हुने हो भने भारतबाट हुने सबै खाले वस्तुको तस्करी स्वतः नियन्त्रणमा आउँछ,’ उनले भने, ‘यसो हुँदा नेपाली उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जाने प्रवृत्ति पनि अन्त्य हुन्छ र नेपाल सरकारको कर असुली पनि वृद्धि हुन जान्छ।’ हाल पनि नेपाली उपभोक्ताले भारतीय बजारमा जीएसटी तिरेरै मालसामान खरिद गर्ने गरेको उनले बताए। 

पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारती भारतबाट नेपालतर्फ सुन तस्करी भइरहेको कुराको जानकारी हालसम्म आफूहरूलाई नरहेको बताउँछन्। ‘हामीले सीमा नाकामा कडाइ गरेका छौँ, कुनै पनि वस्तुको तस्करी नहोस् भनि आवश्यक सजगता अपनाएका छौँ,’ उनले भने, ‘त्यस्तो गतिविधि भएको पाइए तस्करीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने नै छौँ।’


प्रकाशित : बिहीबार , मंसिर ६ २०८१०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend