मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगानीकर्ताको अपेक्षाअनुसार देखिएन सेयर बजार, सामान्य वृद्धिबीच ७ अर्बको कारोबार

बुधबार, मंसिर ५ २०८१
लगानीकर्ताको अपेक्षाअनुसार देखिएन सेयर बजार, सामान्य वृद्धिबीच ७ अर्बको कारोबार

काठमाडौं- आइतबार ४.९८ अंकले बढेर मंगलबार ५१.११ अंकले घटेको सेयर बजार बुधबार सामान्य वृद्धितर्फ लागेको छ। लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा लगानीकर्ता देखिन्छन्। 

बुधबार ९.०९ अंकको वृद्धिसहित बजार २७११.७५ बिन्दुमा पुगेको छ। १४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता समग्रमा ७३.२७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार उतारचढावबीच ४.९८ अंकको सामान्य वृद्धितर्फ लागेको थियो। सोमबार बन्द रहेको बजार मंगलबार ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा ओर्लिएको थियो। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा आउने साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ। मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जाको १५ करोडको सीमा र जोखिमभारसमेत घटाउने सम्भावना देखिएको छ। 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत लगानीकर्ताहरूमाथि लगाइएको १५ करोडको सीमा हटाउने र १२५ प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेर बजारलाई सकारात्मक सन्देश दिन राष्ट्र बैंक लचिलो हुन सक्ने देखिएको छ। यस्तोमा ठूला लगानीकर्ताहरू मौद्रिक नीतिको समीक्षाको पर्खाइमा समेत देखिएका छन्। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा  बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। यसमा नीतिगत साथ मिले लगानीकर्ता थप उत्साही हुने उनीहरूको भनाइ छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : बुधबार, मंसिर ५ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend