मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

भारतले निकासी खुला गरेपछि वीरगञ्ज नाकाबाट भित्रिन थाल्यो भारतीय धान र चामल

images
बुधबार, मंसिर ५ २०८१
images
images
भारतले निकासी खुला गरेपछि वीरगञ्ज नाकाबाट भित्रिन थाल्यो भारतीय धान र चामल

कच्चा पदार्थको कमी र भारतीय चामल उत्पादकसँग प्रतिस्पर्धा गर्न नसकिँदा नेपाली चामल उद्योग दिनप्रतिदिन धराशायी बन्दै गएको बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह बताउँछन्।

images
images

पर्सा- वीरगञ्ज नाकाबाट भारतीय धान र चामल भित्रिन थालेको छ। तीन वर्षपछि भारतले यसवर्ष निकासी खुला गरेपछि नोभेम्बर १ यता वीरगञ्ज नाकाबाट भारतीय धान र चामलसमेत भित्रिन थालेको हो।

images
images
images

वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँचचौकी सञ्चालक कम्पनी टीआरएस हिमालयन लजी पार्कको तथ्यांकअनुसार, नोभेम्बर १ देखि हालसम्मको अवधिमा यो नाका हुँदै ९६ ट्रक धान र १९ ट्रक चामल भित्रिएको छ।

images
images

हिमालयन लजी पार्कका अपरेशन इन्चार्ज जीतेन्द्र रसाइलीले दैनिक १० देखि १२ गाडी धान भित्रिरहेको बताए। एक ट्रकले सरदर ४४/४५ टन धान बोक्छ। हाल भारतको पश्चिम बंगालको वर्द्धधाम, बिहार र पञ्जाबबाट धान आइरहेको छ।

images
images
images

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् नेपाल चामल दाल तेल उद्योग संघका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले भारतले यसवर्ष नेपालका लागि कोटा निर्धारण नगरेको बताए। ‘भारतले तीन वर्षपछि नेपाल र अन्य देशमा धानको निकासी पूर्णरुपले खुला गरेको हो,’ उनले भने, ‘गतवर्ष भारतले नेपालमा ६ लाख टन धान निकासीको कोटा निर्धारण गरेको थियो।’

विगतमा निकासीमा २० प्रतिशत शुल्क लगाएको भारतले यसवर्ष धान निकासीमा यो शुल्क हटाएर शून्यमा झारेको उनले जानकारी दिए। विगतमा भारतमै धानको उत्पादन घटेको तथा रुस-युक्रेन युद्धलगायतका कारण देखाउँदै भारतले छिमेकी मुलुकहरूमा धानको निकासी नियन्त्रण गर्न कोटा निर्धारण गरेको थियो।

यसवर्ष भारतले धानको निकासीमा कुनै बन्देज नलगाएकाले नेपालको सबै नाकाबाट धान आयात गर्न सकिने उनले बताए। गतवर्ष वीरगञ्ज र भैरहवा नाकाबाट मात्रै धान आयात भएको थियो।

नेपालमा हाल बर्सेनि करिब २० देखि २२ लाख टन धान उत्पादन हुन्छ तर नेपालको धानको माग बर्सेनि करिब ३० लाख टन रहेको छ। यस्तो अवस्थामा अपुग रहेको करिब ८ लाख टन धान आयात गर्नुको विकल्प नरहेको गुप्ता बताउँछन्। भारतबाट धान आयात गर्दा ५ प्रतिशत भन्सार शुल्क र २ दशमलव ५ प्रतिशत अग्रिम आयकरमात्र लाग्ने उनले बताए। 

पर्सा तथा बारामा सञ्चालित तीन दर्जनभन्दा बढी व्यावसायिक राइस मिल्सहरूले भारतबाटै धान मगाएर उद्योग सञ्चालन गरिरहेको बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले जानकारी दिए। 

‘अहिले राइस मिलबाहिर धान लोड गरेको भारतीय ट्रकहरू सहजै देख्न सकिन्छ,’ उनले भने, ‘यसले भारतीय धानकै भरमा यहाका राइस मिल सञ्चालनमा रहेको पुष्टि गर्छ। विगतमा नेपालमा उत्पादित धान, चामल भारतलगायतका मुलुकमा निर्यात हुने गर्थ्यो। तर अहिले विदेशी धान चामलमा आम नेपाली निर्भर छन्।'

विदेशी धान चामललगायतका खाद्यान्न नेपाल नभित्रिए यहाँ खाद्य अभाव हुने अध्यक्ष गुप्ताको भनाइ छ। कच्चा पदार्थको कमी र भारतीय चामल उत्पादकसँग प्रतिस्पर्धा गर्न नसकिँदा नेपाली चामल उद्योग दिनप्रतिदिन धराशायी बन्दै गएको उनी बताउँछन्।


प्रकाशित : बुधबार, मंसिर ५ २०८११५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend