काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार उतारचढावबीच सामान्य वृद्धितर्फ लागेको सेयर बजारमा दोस्रो कारोबारमा भने भारी गिरावट आएको छ। मंगलबार ५१.११ अंकले घटेर बजार २७०२.६५ बिन्दुमा ओर्लिएको छ।
मंगलबार २० वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा १० अर्ब ४६ करोड ८३ लाख रूपैयाँको कारोबार भएको छ। २ सय २४ कम्पनीको सेयर मूल्य घट्दा एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
यो साता आइतबार ४.९८ अंकको झिनो वृद्धिसहित २७५३.७६ बिन्दुमा पुग्दा ११ अर्बभन्दा बढीको कारोबार भएको थियो। सोमबार बन्द रहेको बजार मंगलबार भने बढ्ने अपेक्षाविपरीत ओरालो लागेको हो।
गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू थिए। कात्तिकमा बजारले त्यसअनुसार साथ नपाइरहँदा आइतबार र सोमबार भने व्यापक वृद्धि देखिएको थियो।
गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। यसमा नीतिगत साथ मिले लगानीकर्ता थप उत्साही हुने उनीहरूको भनाइ छ।
अहिलेको पर्ख र हेरको अवस्थामा देखिएका लगानीकर्तामा विश्वास फर्किँदै आएकाले बजारले उचाइ लिने उनीहरूको तर्क छ। निरन्तर उचाइतर्फ बढ्दा कुनै दिन करेक्सन देखिए पनि बजारले अब वृद्धितर्फ नै साथ पाउने विश्लेषकहरूको भनाइ छ।