काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो महिनामा नै शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ बचतमा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक व्यापार आयात ४.२ प्रतिशत र निर्यात ६.१ प्रतिशतले संकुचित भएकाले शोधनान्तर बचत बढेको हो।
यस्तै आयातको तुलनामा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले बढ्दा चालु खातामा बचतमा रहेकाले शोधनान्तर स्थितिमा बचत देखिएको हो। त्यसो त विगत दुई वर्षयता वैदेशिक व्यापार संकुचित रहेकाले नेपालको बाह्य क्षेत्र सुविधाजनक अवस्थामा छ।
चालु आर्थिक वर्षको असोज महिनामा हालसम्मकै धेरै १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। भदौ मसान्तसम्ममा कुल २ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा करिब ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको हो। जसले गर्दा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा चालु खाता १ खर्ब ११ अर्ब रुपैयाँले बचतमा रहेको छ।
गत वर्षको यसै अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो। गत वर्षको यसै अवधिमा शोधनान्तर बचत १ खर्ब १ अर्ब ६६ करोड मात्रै रहेको थियो।
व्यापार संकुचित र रेमिट्यान्समा भएको वृद्धिले विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्षको ३ महिनामा ८.७ प्रतिशतले बढेर १६ अर्ब ६० करोड डलर पुगेको छ। उक्त सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्रा सञ्चितिमा देखिएको सुधार र व्यापारमा आएको संकुचनले बैंकिङ प्रणालीमा अधिक तरलता र निक्षेप तथा कर्जाको ब्याजदर घटेर एकल अंकमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।