काठमाडौं- ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको अपी पावर कम्पनीले अपी इन्फ्रा लिमिटेड खडा गरेर लगानी विस्तारलाई तिव्रता दिन थालेको छ। कम्पनीले ऊर्जासँगै अन्य क्षेत्रमा समेत लगानी विस्तार सुरू गरेको हो।
कम्पनीले अपार्टमेन्टमा समेत लगानी विस्तार गरेको छ। ललितपुरको झम्सिखेलमा १० तलाको अक्जरी अपार्टमेन्टको निर्माण सुरू गरेको हो। कम्पनीले तीन रोपनी क्षेत्रफलमा ४३ युनिटको अपार्टमेन्ट निर्माण गर्नेछ।
कम्पनीका अनुसार अपार्टमेन्ट २ वर्षभित्र बनाउने लक्ष्य लिइएको छ। अपार्टमेन्ट निर्माणमा १ अर्ब २० करोड खर्च हुने अनुमान कम्पनीको छ। १० तले अपार्टमेन्टमा ४५ वटा सुविधासम्पन्न युनिट हुने र दुई वर्षमा काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ।
अपी पावर कम्पनीकै ग्रुपअन्तर्गत रहेर कम्पनी पानी उत्पादनमा पनि केन्द्रित हुने भएको छ। अपी स्प्रिङ लिमिटेडले ‘अपी’ नामको पानी ल्याउने भएको छ। कम्पनीले उक्त पानीका लागि १ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मै उत्पादन हुनेगरी दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेको छ। कम्पनीले मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारको पानी उत्पादन गर्दैछ।
अपार्टमेन्ट निर्माण गर्नको लागि रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद नचाहिने कम्पनीको भनाइ छ। निर्माण सम्पन्न भएपश्चात अपार्टमेन्टबाट २० देखि ३० करोड रुपैयाँ आम्दानी हुने कम्पनीको प्रक्षेपण छ।
हाइड्रो उत्पादन गरिरहेको कम्पनीले बिजुली व्यापारको समेत तयारी गरेको छ। सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएमा अन्तर्राष्ट्रिय व्यापारमा जानेसमेत योजना कम्पनीले बनाएको छ।
कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपाने कारबाहीमा परेपछि अहिले अध्यक्षको रुपमा सृजना खड्काले कम्पनी सम्हाल्दै आएकी छिन्। कम्पनीले दार्चुलाको नौगडगाढ नदीको पानी उपयोग गरी ८.५ मेगावाट क्षमताको नौगडगाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो।
अपीले अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरिसकेको छ। कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ। जुन सुदूरपश्चिमको हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो।
यस्तै कम्पनीले तीनवटा सोलार आयोजना पनि निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ।
नेपाल विद्युत प्राधिकरणले सोलार आयोजना निर्माणको लागि गरेको टेण्डरमा पनि सहभागिता जनाएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने तयारी भएको अपी पावरले जनाएको छ।