बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजारमा पर्ख र हेरकै सोच, मौद्रिक नीतिको पहिलो समीक्षा पर्खंदै लगानीकर्ता

४.९८ को अंकको वृद्धि, ११ अर्ब ७२ करोड रुपैयाँको कारोबार

आइतबार, मंसिर २ २०८१
सेयर बजारमा पर्ख र हेरकै सोच, मौद्रिक नीतिको पहिलो समीक्षा पर्खंदै लगानीकर्ता

काठमाडौं- गएको साता समग्रमा ७३.२७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार उतारचढावबीच सामान्य वृद्धितर्फ लागेको छ। बढेर २७८७ को बिन्दुसम्म पुगेको बजार बन्द हुने समयमा २७५३ मा पुगेको छ।  

आइतबार ४.९८ अंकको झिनो वृद्धिसहित २७५३.७६ बिन्दुमा पुगेको बजारमा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ। १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार ६२.५४ अंकले बढेको सेयर बजार दोस्रो कारोबारमा सोमबार २२.१४ अंकले बढेको थियो। मंगलबार ११.२४ अंकले घटेको बजार बुधबार पनि १४.१२ अंकले घटेको थियो। बिहीबार भने बजार १३.९५ अंकले बढेर २७४८.७८ बिन्दुमा पुगेको थियो। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा यही मंसिर दोस्रो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ। मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जाको १५ करोडको सीमा र जोखिमभारसमेत घटाउने सम्भावना देखिएको छ। ठूला लगानीकर्ताहरू मौद्रिक नीतिको समीक्षाको पर्खाइमा समेत देखिएका छन्। 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत लगानीकर्ताहरूमाथि लगाइएको १५ करोडको सीमा हटाउने र १२५ प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेर बजारलाई सकारात्मक सन्देश दिन राष्ट्र बैंक लचिलो हुन सक्ने देखिएको छ। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू थिए। कात्तिकमा बजारले त्यसअनुसार साथ नपाइरहँदा आइतबार र सोमबार भने व्यापक वृद्धि देखिएको थियो। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। यसमा नीतिगत साथ मिले लगानीकर्ता थप उत्साही हुने उनीहरूको भनाइ छ। 

अहिलेको पर्ख र हेरको अवस्थामा देखिएका लगानीकर्तामा विश्वास फर्किँदै आएकाले बजारले उचाइ लिने उनीहरूको तर्क छ। निरन्तर उचाइतर्फ बढ्दा कुनै दिन करेक्सन देखिए पनि बजारले अब वृद्धितर्फ नै साथ पाउने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : आइतबार, मंसिर २ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend