बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा पहिलोपटक पस्मिना उद्योगमा प्रयोग हुने कच्चा पदार्थको उत्पादन सुरु

सोमबार, मंसिर ३ २०८१
नेपालमा पहिलोपटक पस्मिना उद्योगमा प्रयोग हुने कच्चा पदार्थको उत्पादन सुरु

हिमाली भेगका पाटन, चौर, खर्कमा पालिएका च्यांग्राको भुवा तिब्बततिर निकासी हुँदै आएकोमा अब नेपालमा नै प्रयोग हुने छ।

काठमाडौं- पस्मिनामा प्रयोग हुने कच्चा पदार्थ स्वदेशमा नै उत्पादन सुरु हुने भएको छ। पस्मिनाका वस्तु उत्पादन र निर्यात गर्दै आएका व्यवसायीले कच्चा पदार्थ उत्पादन सुरू गर्न लागेका हुन्।

व्यवसायीले ललितपुरमा ‘नेपाल फाइबर प्रोसेसिङ प्रालि’ नामक कम्पनी स्थापना गरेर कच्चा पदार्थ संकलन र प्रशोधनको काम सुरू गरेका छन्।

नेपालबाट बर्सेनि तीन अर्ब रुपैयाँभन्दा बढीको पस्मिना निर्यात हुने गरेको तथ्यांक छ। गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २ करोड रुपैयाँको पस्मिना निर्यात भएको थियो।

नेपालमा पस्मिनाका वस्तुमा प्रयोग गर्नका लागि करोडौँ रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ। अब स्वदेशमा नै कच्चा पदार्थ उत्पादन हुन थालेपछि पस्मिना उद्योगमा लगानीकर्ताको आकर्षण बढ्ने देखिएको छ। 

नेपाल फाइबर प्रोसेसिङ प्रालिका अध्यक्ष धनप्रसाद लामिछानेसहितले सामूहिक रूपमा लगानी गरेर पस्मिनाको कच्चा पदार्थ उत्पादन सुरू गरेका हुन्।

mustang bhuwa.jpg

नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा पस्मिना पर्ने भए पनि यसका लागि शतप्रतिशत कच्चा पदार्थ आयात नै हुने गरेको छ। स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्ने सरकारी लक्ष्यअनुसार ७/८ वर्षमा अहिलेको आयात पूर्णरूपमा प्रतिस्थापन गर्न सकिने गरी काम सुरू गरिएको नेपाल पस्मिना उद्योगका अध्यक्षसमेत रहेका लामिछाने बताउँछन्। ललितपुरको हरिसिद्धिमा चार रोपनी जग्गामा उद्योग स्थापना गरिएको छ।

हिमाली भेगका पाटन, चौर, खर्कमा पालिएका च्यांग्राको भुवा तिब्बततिर निकासी हुँदै आएकोमा अब नेपालमा नै प्रयोग हुने छ।

'अब उद्योगसँगै ती कच्चा पदार्थ काठमाडौं आउने छ। नेपालमा अहिले वार्षिक ३ सयदेखि ४ सय टन कच्चापदार्थ चाहिन्छ। यसकारण पूरै माग धान्नका लागि धेरै ठाउँमा चौरीपालन सुरू गराउन लाग्नु पर्दछ,' अध्यक्ष लामिछानेले भने।

नेपालमा पस्मिना उद्योगीहरू अनुमानित पाँच सयको हाराहारीमा छन्। यस्तै देशभर १२ सयको संख्यामा पस्मिनासम्बन्धी विभिन्न पसल राखेर व्यवसाय गर्नेहरू रहेका छन्। 

अहिले व्यवसायीले भुवा संकलनका लागि मुस्ताङको लोमान्थाङमा संकलन केन्द्र निर्माण गरेका छन्। यसका साथै डोल्पा र मुगुमा संकलन केन्द्र बनाउने योजना रहेको बताइएको छ।

bheda chyngra.jpg

यस्तै हुम्ला र जुम्लामा पनि संकलन केन्द्र बनाउने तयारी गरिएको छ। प्रशोधनका लागि आवश्यक नयाँ प्रविधिका मेसिन तथा उपकरण खरिद गर्न र च्यांग्राको भुवा संकलन केन्द्र स्थापना गर्न सरकार र विश्व बैंकले एक/एक करोड रुपैयाँ सहयोग गरेको इन्टरनेसनल ट्रेड सेन्टर (आईटीसी)ले उल्लेख गरेको छ। अहिले पाँचवटा मात्रै युनिट उद्योगमा राखिएको छ। अहिले केही टनमात्रै कच्चा पदार्थ संकलन गरेर काम भइरहेको लामिछानेले बताए। अहिले ५ करोड रुपैयाँमात्रै लगानी गरेर सुरू गरिएको उनको भनाइ छ। 

उद्योगमा आवश्यक कच्चा पदार्थका लागि किसानलाई कसरी च्यांग्राको ऊन उत्पादन गर्ने, ग्रेडिङ गर्ने र भण्डारण गर्ने भनी सिकाइएको थियो। यो अभियानमा मुस्ताङ र डोल्पाका ३ सय २ जना किसान सूचीकृत छन्। 

मुस्ताङमा च्यांग्रापालन गरेकामध्ये ३० प्रतिशतले भुवा निकाल्ने गरेका छन्। त्यहाँका किसानलाई प्रोत्साहन गरेर यो परिमाणलाई थप बढाउन खोजिएको छ। मुस्ताङबाट अहिले २ टन भुवा आइरहेको छ भने डोल्पामा ५ टन रहेको छ। 

भिडियोमा हेर्नुहोस् -


प्रकाशित : सोमबार, मंसिर ३ २०८११२:१४
  • सम्बन्धित विषय:

  • # बन्दैछ देश


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend