बिहीबार , मंसिर ६ गते २०८१    
images
images

‘बंगलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३० २०८१
images
images
‘बंगलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

ऊर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुग्ने बताए।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

images
images
images

नेपालमा उत्पादित विद्युत् आजदेखि बंगलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, 'दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो।'
 
उनले नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा भएको हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको उल्लेख गरे।

images

बंगलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बंगलादेश सरकारलाई उनले धन्यवाद दिए। उक्त निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगको उनको भनाइ थियो।

images

ऊर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुग्ने बताए। 

नेपाल-भारत र बंगलादेशबीच गत असोज १७ (अक्टोबर ३)का दिन त्रिपक्षीय सम्झौता भइ भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यातको अनुमति दिएको थियो।

आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको स्वीच अन गरेर औपचारिक शुभारम्भ गरेका हुन्।  

कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाईन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताए। उनले नेपालका विभिन्न जलविद्युत् परियोजनामा भारतले लगानी गरेको बताउँदै उक्त परियोजना सम्पन्नताले विद्युत् विस्तारमा थप सहजीकरण हुने विश्वास व्यक्त गरे।

मन्त्री खट्टरले नेपालको विद्युत् उत्पादन विकासमा भारत सरकार सहयोग गर्न तयार रहेको बताए। हरित ऊर्जाको दीगो विकासका लागि यस्ता सम्झौताले सहयोग पुग्ने उनको भनाइ थियो। 

बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताए। यस्ता सहकार्यले एकीकृत ऊर्जा विकासमा दक्षिण एशियाली देशलाई समृद्ध बनाउँदै दीगो विकासलाई सहयोग पुग्ने उनको भनाइ थियो।

उनले कार्वन उत्सर्जनलाई शून्यमा झार्ने नीति लिएको बंगलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जान नेपालका जलविद्युत्ले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले त्रिदेशीय ऊर्जा सम्झौता र निर्यात दक्षिण एशियाको इतिहासमा लामो समयसम्म स्मरणीय हुने बताए। 

सम्झौताअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ। नेपालले निर्यात गरेको बिजुली ४०० केभी प्रसारण लाइन हुँदै ढल्केबरबाट भारतको मुजफ्फरपुर–बहरामपुर हुँदै बंगलादेशको भेरमारासम्म पुर्‍याइनेछ। यो यामका लागि आज एक दिन मात्र बिजुली निर्यात हुनेछ।

कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढु्ङ्गाना, ऊर्जा मन्त्रालयका सहसचिवद्धय चिरञ्जीवी चटौत र जीवछ मण्डल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको सहभागिता रहेको थियो। 


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend