काठमाडौं- स्थापना भएको १८ वर्षमा सिटिजन्स इन्टरनेशल बैंकको कुल निक्षेप १ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। बैंकिङ इन्डष्ट्रि र नेपाल राष्ट्र बैंकको निर्देशनभित्र रहेर सिटिजन्स बैंकले निक्षेप संकलन गर्दै आएको छ। यसले साधारण बचतलाई बढी प्रोत्साहन गरिरहेको छ।
निक्षेपलाई बढाउनका लागि सिटिजन्स इन्टरनेशनल बैंकले नेपालका विभिन्न सहरदेखि दूरदराजका गाउँ-गाउँसम्म शाखा विस्तार गरेको छ। यस बैंकले नेपालका विभिन्न जिल्लामा १९७ शाखा सञ्चालन गरिरहेको छ।
यसको कुल निक्षेपमा साधारण बचतकर्ताको निक्षेपको हिस्सा ७६ प्रतिशत रहेको छ भने २४ प्रतिशत हिस्सा संस्थागत बचतकर्ताहरूको रहेको छ।
बैंकको लागत घटाएर नाफा बढाउनका लागि पनि साधारण बचतलाई प्रोत्साहन गरिरहेको छ। साधारण बचत वृद्धि गर्ने नीति कडाइका साथ कार्यान्वयन गर्नका लागि बैंकले आफ्नो प्रत्येक शाखा र जनशक्ति परिचालन गर्दै आएको छ।
बचतलाई प्रोत्साहन गर्नका लागि बजारमा ब्याजदर घटेपनि बैंकले तुलनात्मकरुपमा बढी नै ब्याजदर निर्धारण गरिरहेको छ। बैंकको ब्याजदर प्रत्येक महिना घटबढ भएपनि बैंकले साधारण बचतमा ३ देखि ५ प्रतिशत ब्याज दिइरहेको छ।
यस्तै बैंकले १ वर्षसम्मको मुद्दती निक्षेपमा ६ प्रतिशतसम्म ब्याज दिइरहेको छ। डिजटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न यस बैंकले मोबाइल बैंकिङ एप्समार्फत मुद्दती निक्षेप जम्मा गर्न प्रोत्साहित गरिरहेको छ।
बैंकमा गएर मुद्दती निक्षेप गर्ने ग्राहकलाई ५.८५ प्रतिशत ब्याजदर दिइरहेकोमा मोबाइल बैंकिङमार्फत ६ प्रतिशत ब्याजदर दिइरहेको बैंकका प्रमुख मास बैंकिङ अफिसर रोशन मानन्धरले बताए।
'सिटिजन्स इन्टरनेशल बैंक स्थापना भएको १८ वर्षमा पुगेको छ। यस अवधिमा बैंकले निक्षेप संकलनलाई उच्च प्राथमिकतामा राखेको छ। सर्वसाधारणमार्फत हामीले निक्षेप संकलन गरिरहेका छौँ। पछिल्लो समय डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न हामीले मोबाइल बैंकिङमार्फत नै मुद्दती निक्षेप गर्नसक्ने व्यवस्था गरेका छौँ', उनले भने, 'बैंकमा नआई सेवाग्राहीले सिधै आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत मुद्दती निक्षेप गर्नसक्ने सुविधा सिटिजन्स बैंकले दिएको छ। यस्ता मुद्दती निक्षेपकर्तालाई अन्य निक्षेपकर्ताको तुलनामा बढी ब्याज दिने व्यवस्था बैंकले गरेको छ।'
बैंकले मुद्दती निक्षेपमा बचत प्रोत्साहन गर्नका तीन महिना अवधिदेखिकै बचतसम्बन्धी प्रोडक्टहरू सञ्चालन गरिरहेको छ। ब्याजदर बढेको समयमा बचतकर्ताहरूले लामो अवधिको मुद्दती निक्षेपमा रकम राख्ने र ब्याजदर घटेको समयमा छोटो अवधिमा निक्षेप जम्मा गर्ने भएकाले तीन महिनादेखिकै मुद्दती निक्षेप योजनाहरू बैंकले सञ्चालन गरिरहेको मानन्धरले बताए।
बैंकले तीन महिनाको अवधिको साधारण मुद्दती निक्षेपमा ४.५ प्रतिशत, ६ देखि १ वर्षको अवधिका लागि ४.८५ र १ वर्षभन्दा बढी अविधका लागि ५.८५ प्रतिशत ब्याजदर दिइरहेको उनले बताए।
बैंकले रेमिट्यान्स बचतलाई समेत प्रोत्साहन दिनका लागि साधारण रेमिट बचत र साधारण मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले बढी ब्याज प्रदान गरिरहेको छ। राष्ट्र बैंकको निर्देशनको पालना गर्दै यस बैंकले संस्थागत मुद्दती निक्षेपमा भने व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा १ प्रतिशत कम ब्याजदर दिइरहेको छ।
व्यक्तिगत निक्षेपकर्ताभन्दा संस्थागत निक्षेपकर्ताहरूले बैंकमा ठूलो मात्रामा निक्षेप राख्ने गरेका छन्। संस्थागत निक्षेपकर्ताहरूसँग बढी रकम हुने भएकाले संस्थागत निक्षेपकर्ता बचतको रकम ठूलो रहेको छ।
कर्मचरी सञ्जयकोष, नागरिक लगानीकोष, नेपाल टेलिकम, सैनिक कल्याणकारीकोष र बीमा कम्पनीहरू यस बैंकका प्रमुख संस्थागत निक्षेपकर्ता हुन्।
बैंकले पछिल्लो समय संस्थागत निक्षेपकर्ताको तुलनामा व्यक्तिगत निक्षेपकर्तालाई प्राथमिकतामा राख्न थालेको छ। व्यक्तिगत निक्षेपकर्ता बढाउँदै लैजाने र संस्थागत निक्षेपकर्ता घटाउँदै जाने नीति बैंकले अबलम्वन गरिरहेको मानन्धर बताउँछन्।
'हामीले संस्थागत निक्षेपकर्ताको निक्षेप घटाउँदै लैजाने र व्यक्तिगत निक्षेपकर्ता बचतलाई प्रोत्साहित गर्ने नीति लिएका छौँ। देशभर रहेका १९७ शाखाबाट धेरैभन्दा धेरै ग्राहकमाझमा पुगेर सानो-सानो बचतलाई संकलन गरेर निक्षेपको बलियो र दिगो समिश्रण बनाउने लक्ष्य हामीले लिएका छौँ', उनले भने।
साधारण निक्षेप जति धेरै भयो त्यति नै धेरै बैंक बलियो हुने भएकाले साधारण बचत प्रोत्साहन गरिरहेको उनले बताए।
संस्थागत निक्षेपकर्ताको रकम बढी हुने र उनीहरूले ब्याजदर प्राथमिकतामा दिने भएकाले बढी ब्याजदर पाउनसाथ निक्षेप निकाल्ने अवस्था रहन्छ। जसले बैंकमा तरलताको जोखिम सृजना गर्छ।
साधारण बचतकर्ताले ब्याजदरलाई भन्दा पनि आवश्यकतालाई प्राथमिकता दिने भएकाले एकैपटक सबै निक्षेप माग गर्न नआउने भएकाले तरलतामा खासै ठूलो असर नपर्ने भएकाले बैंकले साधारण बचतलाई बढी प्राथमिकता दिने गरेको मानन्धर बताउँछन्।
देशका प्रत्येक जिल्लामा पुगेर सर्वसाधारणको खाता खोल्न लगाएर बचत संकलन गरिरहेकोमात्रै होइन डिजिटल बैंकिङमा समेत प्रोत्साहित गराइरहेको मानन्धरले बताए।
बैंकले मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड र डिम्याट खातासम्मको सुविधा दिएर बचत गर्न सर्वसाधारणलाई प्रोत्साहित गरिरहेको छ। वस्तु तथा सेवा खरिद बिक्री, भ्रमणलगायतमा क्यासलेस कारोबार गर्नका लागिसमेत बैंकले महत्वपूर्ण भूमिका खेलिरहेको उनले बताए।
यस्तै बैंकसँग व्यक्तिगत र संस्थागत बचतकर्ताका साथै निजी क्षेत्रतर्फ विभिन्न स्कुल, कलेज, अस्पताल र ठूला कर्पोरेट हाउसहरूको पनि बचत रहेको छ। निजी क्षेत्रहरूको संस्थाहरूको बचत तथा कर्जाको खातामात्रै होइन ती संस्थाहरूमा काम गर्ने कर्मचारीहरूको तलब खातासमेत यसै बैंकमा खोलाएर निक्षेप संकलन गरिरहेको छ।
निक्षेपकर्ताको सुविधालाई ध्यानमा राखेर सिटिजन्स इन्टरनेशल बैंकले २४ घण्टा उपलब्ध हुने गरी कल सेन्टरसमेत सञ्चालन गर्दै आएको छ। कल सेन्टरमार्फत सेवाग्राहीले आफ्नो सुझाव, समस्या र गुनासो टिपाउन सक्छन्।
विदेशमा रहेका नेपालीलाई बचतमा प्रोत्साहन गर्नका लागि मातृभूमि बचत खाता सुरुवात गरेको छ। विदेशमा गएर आम्दानी गर्ने नेपालीलाई नेपालमा रेमिट्यान्स बचत गर्न सहज होस् भन्ने उद्देश्यका साथ उक्त बचतखाता बैंकले सञ्चालनमा ल्याएको हो। उक्त बचत खातामा बैंकले १ प्रतिशत बढी ब्याज समेत दिने व्यवस्था गरेको छ।
बचतकर्ताबाट संकलन गरेको निक्षेप राष्ट्र बैंकले तोकेको स्प्रेड दर, कर्जा निक्षेप अनुपात र तोकिएको आर्थिक क्षेत्रभित्र रहेर बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा कर्जा प्रवाह गरी अधिकतम नाफा आर्जन गर्दै आएको छ।