काठमाडौ- दुईसाता लगातार बढेको सेयर बजार पुनः घट्न थालेको छ। मंगलबार १०.७८ अंकले घटेको बजार बुधाबार पनि दोहोरो अंकले घटेको छ। बुधवार नेप्से ३८.३५ अंकले घटेर २८९८.३१ बिन्दुमा पुगेको छ।
बुधबार १ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
बुधबार बजारका अन्य सूचकहरु घटेपनि हाइड्रो तर्फ भने अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। लगातार बढीरहदाँ सेयर बजारमा ठूलो गिरावट आउने भएकोले करेक्सन आउँदै बजार बढ्नु सकारात्मक भएको बजार विश्लेषक विष्णु बस्याल बताउँछन्।
मंगलबार सेयर बजार १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा पुगेको थियो। मंगलबार १ करो ६० लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो
‘अझै केही दिन बजारमा करेक्सन आउन सक्छ, तर अब बजारले नयाँ रेकर्ड कायम गर्छ,’ विश्लेषक बस्यालले भने। बजार ३२०० सयबाट घट्दै बढ्दै गर्दा २२ सयबाट टेको लागेर अगाडि बढेकोले अबको बजार ३२०० भन्दा माथी जाने प्राविधिक तथ्यांकले देखाउने समेत बस्यालको दाबी छ।
नेप्से परिसूचक सोमबार दोहोरो अंकले वृद्धि भएको थियो। सोमबार २०.६९ अंकले बढेर २९४७.४३ अंकमा पुगेको छ। सोमबार ७ अर्ब ९० करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो।
सोमबार एक करोड ४४ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको थियो। पुस मसान्तको दबाब सकिएसँगै सेयर लगानीकर्ताहरू सेयर खरिदमा झुम्मिएका थिए। माघमा कारोबारको पहिलो दिन नै सेयर बजारमा उत्साह छाएको थियो।
आइतबार ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको थियो। आइतबार ९ अर्ब ६७ करोड ६३ लाख रूपैयाँको कारोबार भएको थियो। गएको दुई सातामा सेयर बजार ३३३ अंकले बढेको थियो। जसलाई यो साता कारोबारको पहिलो दिन आइतबारको बजारले पनि साथ दिएको थियो।
गएको साता आइतबारदेखि बिहीबारसम्म नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको थियो। त्यसअघिको साता १६७.९७ अंकले बढेको बजार दुई सातामा गरेर ३३३.२५ अंकले बढेको थियो।
पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढ्दै गएको छ। त्यसअघि केही समय बजारमा उतारचढाव देखिएको थियो।