इटहरी- काठमाडौंका गल्लीहरूमा धरानको कालो बंगुरका बोर्ड यत्रतत्र पाइन्छन्। धरानमै अपुग कालो बंगुरबारे काठमाडौंमा पनि व्यापक चर्चा परिचर्चा हुन्छ।
धरानको शुद्ध कालो बंगुरदेखि धरानको ओरिजिनल कालो बंगुरका बोर्डहरू जति देखिन्छन् त्यति सबैलाई भाग पुग्नेगरी धरानमा बंगुर उत्पादन भने छैन। बरमजीयाको बुढो बाजेको पेडा पसलजस्तै धरानको कालो बंगुरको चर्चा काठमाडौं यति छ कि त्यति चर्चा धरानमै पनि छैन।
कालो बंगुरको मासु चर्चा भएजति त धरानमा नै पनि पाइँदैन। कालोमात्र बंगुर बिक्री गर्ने गरेका गोपाल खड्कीले पनि पूर्वी पहाडी जिल्लाबाट मगाउँछन्।
खड्कीका हजुरबाको पालादेखि सुँगुर काट्ने व्यवसाय चल्दै आएको छ। उनका हजुरबाले धरानको सिरानमा मासु पसल खोलेका थिए। खोलाले पसल बगाएपछि बजारतिर सरे। पछिल्लो समय उनको व्यवसाय कालो बंगुरकै नामले परिचित छ। धरानमा बिरलै पाइने कालो बंगुरको स्वाद उनले दिइरहेका छन्।
धरानमा नियमित कालो बंगुर काट्ने उनी एकमात्र व्यवसायी हुन्। खड्कीको स्मरणमा धरानमा कालो बंगुरको कुनै इतिहास थिएन। २०६० सालको दशकमा हाइब्रिड बंगुरको चर्चा निकै चल्यो। चाँडो बढ्ने र मासु पनि धेरै हुने भएपछि त्यही बंगुरपालन सुरु भयो। पछि उपभोक्ताले नरुचाएपछि बिस्तारै पुरानै लोकल सुँगुरतर्फ आकर्षण बढ्यो। त्यसबेला लोकल सुँगुर पाउनै छाडिसकेको अवस्था थियो। अहिले पनि धरानमा लोकल सुँगुर पाइँदैन।
फार्म हाउसमा पालेका बंगुर उनी लिँदैनन्। स्थानीय उत्पादकले उत्पादन गरेका एक दुईवटा बंगुर संकलन गरेर धरान ल्याउने गरेको उनले बताए। हाइब्रिडले बजार लिए पनि उनले स्थानीय उत्पादनमा ध्यान दिएका छन्।
धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुरदेखि कालो बंगुर आयात गर्छन्। सबैतिर कालो बंगुरको नाम चलेपछि उनले पसलको नाम नै ‘धराने कालो बंगुर’ राखे। त्यहीबाट सुरु भयो धराने कालो बंगुरको चर्चा।
सुरुवातमा स्थानीय बजारमा हर्रा र पुँडी दुईथरिका सुँगुर थिए। पछि हर्रा हराएर गयो। अहिले सुँगुरको स्थानीय प्रजाति नै लोप भएको उनको भनाइ छ।
उनका छिमेकी व्यवसायी राजकुमार खड्कीले भने बंगुर काट्न छाडेका छन्। बंगुर पाउनै छाडेपछि उनी राँगाको मासु बिक्री गर्छन्। लामो समय बंगुर बिक्री गरेका उनलाई कालो बंगुरको कथा कसरी सुरु भयो थाहा छैन।
न्यु याङतारु सेकुवा धरानका सञ्चालक प्रदीप तामाङ मासु पसलबाट ल्याएर कालो बंगुरको परिकार बिक्री गर्ने गरेको बताउँछन्। बंगुर कहाँबाट आउँछ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ। चार वर्षदेखि धरानमा बंगुर पाउनै छाडेको बताउँदै उनले अन्यत्रै फर्मबाट ल्याएको हुनसक्ने अनुमान गरे।
तामाङको आशंकालाई पुष्टि गर्छन् धरानका बंगुरपालक किसान पूर्ण राई। ६ करोड लगानी गरेर बाहिङ बंगुरपालन फर्म सञ्चालन गरेका उनले हालसम्म १० करोड रुपैयाँभन्दा बढी घाटा ब्यहोरेको सुनाए। उनीसँगै किराँतेश्वर कृषि सहकारीले पनि चार करोड रुपैयाँ घाटा भोगेको छ। हाल सहकारीले बंगुरपालन बन्द गरिसकेको छ। सँगै रहेका पाँचथर कृषि फर्म र माछामारा कृषि फर्मले व्यावसायिक बंगुर पालन बन्द गरेका छन्।
२०७० सालमा स्थापना भएको सहकारीले सुरुमा केही नाफा कमायो। २०७२ सालको नाकाबन्दीमा दाना नपाएपछि बंगुर फस्टाउन सकेनन्। त्यसबेला सहकारीले २ करोड र आफ्नो निजी फर्ममा २ करोड घाटा ब्यहोर्नुपरेको उनले बताए। २०७७ देखि सुरु भएको पीआरआरएस नामको सङ्क्रमणले फर्म नै बन्द गर्नुपर्ने अवस्था आयो।
उनले भने, ‘२०७९ मा पुनः अफ्रिकन स्वाइन फ्लु देखा पर्यो। जसले गर्दा धेरै घाटा भयो। धरानका ७० वटा बंगुर फर्ममध्ये अहिले एक दुईवटा मात्र सञ्चालनमा छन्।’
धरानमा सञ्चालनरत फर्मले धरानकै माग धान्न सकेको छैन। बिनिता मासु पसलका सञ्चालकले बाहिरैबाट ल्याएर मासु बिक्री गर्ने गरेको सुनाए। धरानमा फर्म बन्द भएपछि पहाडी जिल्लाबाट बंगुर ल्याउने गरेको सञ्चालकको भनाइ छ।
धरान मासु पसलका सञ्चालक मदन तामाङ व्यावसायिक फर्महरू बन्द हुँदै गएपछि बाहिरबाट आएको बंगुरले माग धानिरहेको बताउँछन्। झापा, मोरङदेखि पहाडी जिल्लाका बंगुर आउने गरेको बताउँदै उनले काठमाडौं थोरै मात्रामा निर्यात हुनसक्ने बताए। स्थानीय उत्पादनले महिनाको १० दिन पनि नधान्ने भएपछि बाहिरबाट ल्याउनैपर्ने बाध्यता रहेको उनको भनाइ छ।