बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

उतारचढावबीच १४ अंकले घट्यो सेयर बजार, ७ अर्ब ९१ करोडको कारोबार

बुधबार, कात्तिक २८ २०८१
उतारचढावबीच १४ अंकले घट्यो सेयर बजार, ७ अर्ब ९१ करोडको कारोबार

काठमाडौं- लगातार दुई दिनको वृद्धिपछि सेयर बजार फेरि लगातार दुई दिन घटेको छ। यो साता पहिलो दुई दिनको कारोबारमा ८४.६८ अंकले बढेको बजार त्यसपछिका दुई कारोबारमा २५.३६ अंकले घटेको हो। 

यो साता पहिलो कारोबारमा आइतबार ६२.५४ अंकले बढेको सेयर बजार दोस्रो कारोबारमा सोमबार २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा पुगेको थियो। मंगलबार ११.२४ अंकले घटेर बजार २७४८.९६ बिन्दुमा झरेको थियो। 

बुधबार १४.१२ अंकले घटेर बजार २७३४.८३ बिन्दुमा झरेको छ। ९९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

तिहारअघि उतारचढावपूर्ण अवस्थामा धरमर गरिरहेको सेयर बजार तिहार बिदापछि पनि अपेक्षा गरेविपरीत कमजोर देखिएको थियो। चाडबाड सकिएपछिको सेयर बजारमा दुई दिन व्यापक हरियाली देखिँदा मंगलबार र बुधबार भने सामान्य घटेको हो।  

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू थिए। कात्तिकमा बजारले त्यसअनुसार साथ नपाइरहँदा आइतबार र सोमबार भने व्यापक वृद्धि देखिएको थियो। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो।

अहिलेको पर्ख र हेरको अवस्थामा देखिएका लगानीकर्तामा विश्वास फर्किँदै आएकाले बजारले उचाइ लिने उनीहरूको तर्क छ। निरन्तर उचाइतर्फ बढ्दा कुनै दिन करेक्सन देखिए पनि बजारले अब वृद्धितर्फ नै साथ पाउने विश्लेषकहरूको भनाइ छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend