बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लगातार उचाइतर्फ सेयर बजार, लगानीकर्तामा विश्वास फर्किएको हो?

११ अर्ब ३१ करोड रुपैयाँको कारोबार

सोमबार, कात्तिक २६ २०८१
लगातार उचाइतर्फ सेयर बजार, लगानीकर्तामा विश्वास फर्किएको हो?

काठमाडौं- यो साता पहिलो कारोबारमा आइतबार ६२.५४ अंकले बढेको बजार दोस्रो दिनको कारोबारमा सोमबार पनि हरियालीतर्फ नै बढेको छ। चाडबाड सकिएपछिको सेयर बजार व्यापक हरियालीतर्फ देखिएको हो।

तिहारअघि उतारचढावपूर्ण अवस्थामा धरमर गरिरहेको सेयर बजार तिहार बिदापछि पनि अपेक्षा गरेविपरीत कमजोर देखिएको थियो। छठ बिदापछि खुलेको बजार लगातार बढिरहेको छ।

सोमबार हरियालीतर्फ ठूलो उतारचढाव देखिँदै २२.१४ अंकले बढेर बजार २७६०.२१ बिन्दुमा पुगेको छ। १४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। ९२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू थिए। कात्तिकमा बजारले त्यसअनुसार साथ नपाइरहँदा आइतबार र सोमबार भने व्यापक वृद्धि देखिएको छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। अहिलेको पर्ख र हेरको अवस्थामा देखिएका लगानीकर्तामा विश्वास फर्किँदै आएकाले बजारले उचाइ लिने उनीहरूको तर्क छ। निरन्तर उचाइतर्फ बढ्दा कुनै दिन करेक्सन देखिए पनि बजारले अब वृद्धितर्फ नै साथ पाउने विश्लेषकहरूको भनाइ छ। 

लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिँदा आइतबार र सोमबार लामो समयपछि उछाल आएको हो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : सोमबार, कात्तिक २६ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend