बिहीबार , मंसिर २७ गते २०८१    
images
images

पक्राउ परे कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी : कसरी भएको थियो जापान लैजाने फर्जी काम?

images
आइतबार, कात्तिक २५ २०८१
images
images
पक्राउ परे कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी : कसरी भएको थियो जापान लैजाने फर्जी काम?

नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान प्रहरीलाई दिएपछि विवादले मानव तस्करी प्रकरणको रूप लिएको हो।

images
images

इटहरी- विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ। पदको दुरूपयोग गर्दै गैरकानूनी तरिकाले मानिसहरू जापान पुर्‍याउन लागेको आरोप लागेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ गरेर विमानबाट काठमाडौं पठाइएको हो।

images
images
images

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराइ अधिकारीसँगै अन्य तीनजना व्यक्ति पनि जापान गएका थिए। तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो।

images

मानव तस्करको योजनाअनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। अधिकारीसँगै जापानबाट निष्कासनमा परेका ६ जनामाथि प्रहरीले सरकारी कागजात कीर्तेमा अनुसन्धान गरिरहेको छ। 

images

अधिकारीमाथि गम्भीर आरोप लागेपछि एमालेको कोशी प्रदेश कमिटीले शनिबारमात्रै अधिकारीलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी कारबाही गरेको थियो। शनिबार नै बसेको एमाले सचिवालय बैठकले पनि अधिकारीलाई कारबाही गर्ने कोशी प्रदेश कमिटीको निर्णयलाई अनुमोदन गरेको थियो। 

अधिकारी कानूनका जानकार र सरल नेताको रूपमा चिनिन्थे। दुई पटकसम्म मोरङ २ (ख) बाट निर्वाचित उनी राज्यमन्त्री हुँदै फुल मन्त्री भए। नेकपा एमाले मोरङको प्रभावशाली नेताको रूपमा चिनिएका उनी नक्कली कागजात र ३० लाख लेनदेनको फन्दामा परेका छन्। 

जापान पुर्‍याइदिने भन्दै दलालले पैसा लिएको विषयमा अधिकारी मुछिएका छन्। यसमा उनको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गर्ने छ। नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान प्रहरीलाई दिएपछि विवादले मानव तस्करी प्रकरणको रूप लिएको हो। 

आन्तरिक मामिला मन्त्रालयको नक्कली परिचयपत्र बनाएर जापान छिर्ने प्रयासमा रहेका युवाहरू टोकियो विमानस्थलबाट डिपोर्ट भए। कात्तिक १४ गते मन्त्री अधिकारीसहित पाँच जनालाई जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो। जापानबाट सँगै आएका नवलपरासीकी अनिता तिम्सिना र मन्त्री अधिकारीलाई भने प्रहरीले पक्राउ गरेन। 

विमानस्थलबाट पक्राउ परेसँगै खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान प्रहरीमा दिए। तीन जनाले जम्मा ३० लाख बुझाएको बयान दिएपछि जापान पठाउनको लागि संलग्नहरूको खोजी प्रहरीले थालेको हो। 

शेर्पाले खोटाङस्थित ऐँशेलुखर्क गाउँपालिका वडा नम्बर-२ को वडा सदस्यको परिचयपत्र, देवकोटा र राईले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नक्कली परिचयपत्र बनाएका थिए। पूर्वमन्त्री अधिकारीले आफूसँग नक्कली कागजात बोकेका व्यक्तिहरू पनि जापान जान लागेको जानकारी भएपछि जापानको कार्यक्रम छाडेर नेपाल आएको बताएका थिए। बुधबार राजीनामा दिएका उनले आफैँ नेपाल फर्किएको बताए पनि जापान पुगेपछि डिपोर्ट भएका थिए। 

अधिकारीलाई जोड्ने एजेन्टको रूपमा मोरङका युवराज गौतम हुन्। उनैले अधिकारीलाई एउटा कार्यक्रममा जापान जाने प्रस्ताव गरेका थिए। जापान जाने भएपछि फुर्किएका अधिकारी अन्ततः फन्दामा परे। गौतमले धादिङका महेश पाण्डेमार्फत जापान जाने युवाको बन्दोबस्ती मिलाएका हुन्। 

पैसाको लेनदेनमा संलग्न पाण्डे र वीरबहादुर सुनार हुन्। जापान जाने तीनजना बाट पाण्डेले १० लाख सुनारले २० लाख बुझेका थिए। त्यही ३० लाखको फण्डामा पूर्वमन्त्री अधिकारी फन्दामा परेका हुन्। जापानमा कार्यक्रमको चाँजोपाँजो मिलाउने जिम्मा उनै पाण्डेले लिएका थिए। पाण्डेले कार्यक्रम मिलाएर मन्त्रीलाई अतिथि बनाएको र अन्य तीन जनालाई पनि सँगै पठाएको पाइएको छ। मानव तस्करी गिरोहमा आबद्ध पाण्डे र सुनारसहित नुवाकोटका जुगल रिजाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

पाण्डेकै योजनामा तीनजनाको मोबाइलमा मन्त्रीको फोटो पठाइएको थियो। मुख्यतः फर्जी कागजात बनाउने खेलमा संलग्न भएका थिए उनी। अन्य फरार दुई जनालाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। जापानमा टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारी जापान गएका थिए। 

पूर्वमन्त्रीको भूमिकाप्रति नेकपा माओवादी केन्द्रले विज्ञप्ति निकालेर विरोध जनाइसकेको छ। मन्त्री मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शिर निहुरिएको माओवादीको भनाइ छ। ‘उच्चपदस्थ व्यक्तिहरूको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करीको नयाँ प्रकरण त हैन भन्ने आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 


प्रकाशित : आइतबार, कात्तिक २५ २०८११४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend