शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

रौतहटमा जंगली हात्तीले नष्ट गर्‍यो धान र केराखेती

images
बुधबार, कात्तिक २१ २०८१
images
images
रौतहटमा जंगली हात्तीले नष्ट गर्‍यो धान र केराखेती

जंगली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका छन्।

images
images

रौतहट- जिल्लाका विभिन्न गाउँमा जंगली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन्। जंगली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन्।

images
images

हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछि किसान चिन्तित छन्। गत आइतबार मात्रै रौतहटको गुजरा नगरपालिका-२ को चोचा, मैरालगायत गाउँमा हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेको थियो।

images
images

करिब पाँच बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा-२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिए। हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उनले बताए।

images
images

केहीदिनअघि मात्रै चन्द्रपुर नगरपालिका-२ वनटोलमा जंगली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो। बिहानै धानबारीमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए। हात्तीले वनटोलको धान तथा उखुबाली पूर्णरुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिए।

चन्द्रपुर-३ गैँडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ। गाछी टोलमा दर्जनौँ हात्ती केराबारीमा प्रवेश गरी क्षति पुर्‍याएको स्थानीय गोपाल फुँयालले जानकारी दिए। सो गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उनले बताए।

त्यसैगरी वृन्दावन नगरपालिका-१ बलेरी क्षेत्रमा पनि जंगली हात्तीको आतंकले स्थानीय त्रसित बनेका छन्। साँझ पर्नेबित्तिकै सधैँ गाउँ आउने जंगली हात्तीको समूहले किसानको धानबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय चिन्तित बनेका हुन्। 

स्थानीय सुरेन्द्र पटेलका अनुसार भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौँ किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ। उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्रम बस्न बाध्य छन्। 

गत साता मात्रै फतुवा विजयपुर-११ बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो। गत शुक्रबार बिहानै फतुवा विजयपुर-११ राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ। घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो। जंगली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका श्रीमान् भागेर ज्यान बचाउन सफल भएका थिए।

धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुञ्जबाट बर्सेनि हात्ती रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जंगलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँमा पस्ने गर्दछन्। हात्तीले खासगरी उखु, धान, केराखेतीमा क्षति पुर्‍याउँदै आएका छन्।

गतवर्ष मात्रै  हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउँरा गर्न गएका दुईजना महिलाले ज्यान गुमाएका थिए। हात्ती आतंकले गर्दा यहाँका नागरिक घाँसदाउरा गर्न जंगल जानसमेत छाडेका छन्।

हात्तीले क्षति पुर्‍याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निर्णय गरेको छ। डिभिजन वन कार्यालयमा हात्तीले क्षति पुर्‍याएका पीडितपरिवारले राहतका लागि निवेदन दिएका छन्।

हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिनुभएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण संकलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उनले उल्लेख गरे।

कानूनअनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण संकलन भइरहेको साहले जानकारी दिए। हात्तीको आक्रमणबाट बच्न जंगलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उनले सर्वसाधारण आफै पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend