शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको गुल्जारले पाउला त निरन्तरता?

एयरलाइन्स कम्पनीको चासोमा परेन पोखरा

images
बुधबार, कात्तिक २१ २०८१
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको गुल्जारले पाउला त निरन्तरता?

विमानस्थल सेवा शुल्क दस्तुरमा नियमावलीअनुसार लाग्ने रकममा सरकारले दिएको छुट र काठमाडौं विमानस्थलको उडान सञ्चालन समयमा भएको कटौतीका कारण पनि कतिपय एयरलाइन्सले भैरहवाबाट उडान गरेका हुन्।

images
images

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ३० महिनापछि गुल्जार देखिन थालेको छ।

images
images
images

विमानस्थल २०७९ जेठ २ गतेबाट विधिवत रुपमा सञ्चालन आएको थियो। सञ्चालनसँगै जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको थियो। तर जजिराले उडानलाई निरन्तरता दिन सकेन।

images
images

जजिरापछि हिमालय एयरलाइन्सले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उडान गरेको थियो। हिमालय एयरलाइन्सको उडानले पनि निरन्तरता पाउन सकेन।

images
images
images

अहिले फेरि चारवटा एयरलाइन्सले गौतम बुद्ब अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा १६ वटा उडानका लागि अनुमति पाएका छन्। जसमा फ्लाई दुबईले ९ नोभेम्बरदेखि सातामा ७ वटा उडान गर्ने छ। फ्लाई दुबईले दुबई-गौतम बुद्ध-काठमाडौं-दुबई उडान गर्ने  छ।

यसैगरी थाई एयर एसियाले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा दुईवटा उडान गरिरहेको छ।

यस्तै जजिराले सातामा चारवटा उडानको अनुमति पाएको छ। जजिराले पनि ९ नोभेम्बरबाट नै उडान थाल्दै छ।

साथै नेपाल एयरलाइन्सले पनि ८ नोभेम्बरबाट नै उडान सुरु गर्दै छ। नेपाल एयरलाइन्सले सातामा चारवटा उडान गौता बुद्धबाट गर्ने छ।

यसबाहेकका अन्य एयरलाइन्स कम्पनीहरूले पनि भैरहवाबाट उडानका लागि छलफल गरिरहेका छन्। अब यी उडानले नियमितता पाउलान् त भन्नेमा केही शंका भने बाँकी नै छ।

विमानस्थल सेवा शुल्क दस्तुरमा नियमावलीअनुसार लाग्ने रकममा सरकारले दिएको छुट र काठमाडौं विमानस्थलको उडान सञ्चालन समयमा भएको कटौतीका कारण पनि कतिपय एयरलाइन्सले भैरहवाबाट उडान गरेका हुन्।

अर्को त नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलमा उडानका लागि स्लट अनुमतिमा नयाँ आउने एयरलाइन्सलाई भैरहवामा समेत उडान गर्नुपर्ने सर्तका कारण थाई एयर एसिया गौतम बुद्ध विमानस्थल गएको हो।

विमानस्थल सञ्चालनमा अन्य कुनै अवरोध नभएपनि आइएलएस सञ्चालनमा भारतीय पक्षबाट अनुमति नपाउँदा हिउदमा हुस्सु लागेका बेला गौतम बुद्धमा हुने उडानमा फेरि असहजता हुने नै छ।

अर्को पाटो सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई काठमाडौं नआइ सिधै भैरहवाबाट नै सबै प्रक्रिया पूरा गरेर उड्न पाउने वातावरण सिर्जना नगर्ने हो भने विमानस्थल सञ्चालनमा अझै निरन्तरता हुने आधार तय हुन सक्दैन। विमानस्थल सञ्चालनका लागि प्राधिकरणले मात्रै नभइ सरकारी तवरबाट काम हुन बाँकी छ।

विमानस्थलमा भारतीय एयरलाइन्सले उडान नगर्ने संकेत दिइसकेका छन्। एडीबटीको ऋणमा निर्माण भएको विमानस्थल निर्माणको काम चिनियाँ कम्पनीले गरेको थियो। तर चिनियाँ बीआरआई अन्तर्गतको प्रोजेक्ट भनेर अनावश्यक हल्दा चलाउँदा भारतीय पक्षले उडान गर्न चाहेको छैन।

सरकारले यो गलत हल्ला पनि चिर्न आवश्यक छ। अर्कोतर्फ भारतीय पक्षबाट आइएलएस सञ्चालनमा अनुमति लिन सरकार नै लागि पर्नुपर्ने छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही उडान हुने अवस्था आएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलममा भने एयरलाइन्स कम्पनीहरूले कुनै चासो देखाएका छैनन्।

पोखरा विमानस्थल विधिवत रुपमा सञ्चालनमा आएको पनि साढे २० महिना हुन लागिसकेको छ। पोखरा विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही चार्टर उडानमात्रै भएका छन्। नियमित उडान हुन सकेको छैन।

प्राधिकरणले विमानस्थल सञ्चालनदेखि नै दुईवटै विमानस्थलमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा लाग्ने दस्तुरमा कतिपयमा शतप्रतिशत र कतिपय ५० प्रतिशतसम्म छुट दिएको थियो। तर विमानस्थल सञ्चालनमा आउन सकेको थिएन। 

प्राधिकरणले विमानस्थल सञ्चनालनकै लागि काठमाडौं विमानस्थलमा दैनिक तीनवटा उडान गर्ने एयरलाइन्सले एउटा उडान भैरहवाबाट गर्नुपर्ने नियमसमेत ल्याएको थियो।

प्राधिकरणको नियममा तत्कालिन सरकार तथा विभागीय मन्त्रीकै असहयोग भएको थियो। पछिल्लोपटक प्राधिकरणले थाई एयर एसियलाई नेपाल उडानको अनुमति दिँदा भैरहवाबाट ४ र काठमाडौंबाट ३ गरी सातामा ७ वटा उडान गर्न दिनेगरी अनुमति दिएको छ। 

यस्तो अवस्थामा सरकारले विमानस्थल सञ्चालनका लागि छुटसहितको व्यवस्था समावेश गरेको कार्ययोजना स्वीकृत गरेको हो। मन्त्रिपरिषदबाट स्वीकृत कार्ययोजनामा ल्याण्डिङ, पार्किङ तथा नेभिगेसन शुल्क ५ वर्षसम्म शतप्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

यसैगरी विमानस्थल सञ्चालनका लागि विमानस्थल आसपास रहेका होटल तथा रेष्टुँराहरूसमेत प्रोत्साहन गर्न कर छुट दिने विषयमा योजनामा समावेश छ।

विमानस्थल हुँदै आउने पर्यटकका लागि भिसा शुल्कमा नि:शुल्क गरिने विषय पनि योजनामा समावेश गरिएको छ। कार्गो र इन्धनमा सहुलियत दिनुको साथै भ्याट र आयकरमा समेत छुट दिने विषय योजनामा उल्लेख छ।

सञ्चालन कार्ययोजनामा नै ३ वर्षसम्म ५० प्रतिशतसम्म यात्रु सेवा शुल्कमा छुट दिने उल्लेख छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा यात्रु सेवा शुल्क ३ हजार रुपैयाँ छ। यसैगरी इन्धनमा लाग्ने सबै कर छुट गरेर वायुसेवा कम्पनीलाई इन्धन उपलब्ध गराउने विषय पनि कार्ययोजनामा उल्लेख छ।

नेपालमा सार्क राष्ट्रकै सबैभन्दा बढी मूल्यमा हवाई इन्धन बिक्री भइरहेको छ। जसका कारण हवाई भाडा बढी छ। यसैगरी ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा समेत छुट तथम सहुलियत दिने विषय योजनामा समावेश गरिएको छ।

योजनामा नै वायुयान, पार्टपुर्जा, हवाई टिकटमा समेत छुट मिलाउने र एमआरओ सेवा तथा ह्याङगर सेवा सञ्चालन गर्न चाहने निजी क्षेत्रका कम्पनी र लगानी कर्तालाई ट्याक्स होलिडे र अन्य विषयमा समेत छुट दिने विषय कार्ययोजनमा समावेश गरिएको छ।

यसैगरी बजेट एयरलाइन्सले २० प्रतिशत र ठूला एयरलाइन्सले सातामा एउटा उडान पोखरा वा गौतम बुद्धबाट गर्नुपर्ने समेत योजनामा राखिएको छ।

अर्बौँ रुपैयाँ खर्च भएको विमानस्थल सञ्चालनमा अन्तरमन्त्रालय समन्वयको विषयसमेत योजनामा समावेश गरिएको छ। केही महिना अगाडिमात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै विमानस्थलबाट नै कामदार विदेश उड्न सहज हुनेगरी सबै सेवा पोखरा र भैरहवाबाट सञ्चालन गर्ने निर्णय गरिरहेको छ। सरकारले यी दुई विमानस्थल निर्मणमा ८० अर्ब रुपैयाँ खर्च गरेको छ। 


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend