बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

वृद्धितर्फ बढ्न धरमर गर्दै सेयर बजार, पर्ख र हेरकै सोचमा देखिए लगानीकर्ता

मंगलबार, कात्तिक २० २०८१
वृद्धितर्फ बढ्न धरमर गर्दै सेयर बजार, पर्ख र हेरकै सोचमा देखिए लगानीकर्ता

काठमाडौं- तिहारअघि उतारचढावपूर्ण अवस्थामा धरमर गरिरहेको सेयर बजार तिहार बिदापछि पनि अपेक्षा गरेअनुसार उचाइतर्फ लाग्न सकेन। 

तिहार बिदाअघिको अन्तिम दिनको कारोबारमा गएको १४ गते बुधबार बजार १४.४३ अंकले घटेर २६७७.६२ बिन्दुमा झरेको थियो। बिदापछिको पहिलो कारोबारमा आज मंगलबार बजार स्थिर देखिएको छ। 

मंगलबार ०.२१ अंकले घटेर बजार २६७७.४० बिन्दुमा अड्किएको छ। ११३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। तर कात्तिकमा बजारले त्यसअनुसार साथ पाएको छैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ। 

लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend