शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गर्‍यो एकसय दिनका एकसय एक उपलब्धि

images
बुधबार, कात्तिक १४ २०८१
images
images
लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गर्‍यो एकसय दिनका एकसय एक उपलब्धि

सडक पूर्वाधारअन्तर्गत १५ किलोमिटर सडक कालोपत्र गरिएको छ। सडक पुल ६ निर्माण सम्पन्न भएका छन्। झोलुंगे पुल दुईवटा निर्माण सम्पन्न भएका छन्। प्रदेशको सडक सञ्जाल गुरुयोजना निर्माणको काम द्रुत गतिमा अगाडि बढेको छ।

images
images

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका एकसय उपलब्धि सार्वजनिक गरेको छ।

images
images
images

मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एकसय दिनको अवधिमा सम्पादन भएका एकसय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन्।

images

नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार सफल भएको मुख्यमन्त्री आचार्यले बताए।

images

'प्रदेश सरकारको फजुल खर्च रोक्न, मितव्ययिता कायम गर्न नवीनतम सन्देश जनस्तरमा प्रवाह भएको छ', मुख्यमन्त्री आचार्यले भने, 'यस अवधिमा प्रदेश सरकारले नीतिगत र कानूनी सुधार, शासकीय सुधार र सुशासन, विकास व्यवस्थापन, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्र, कृषि र स्वरोजगारको क्षेत्र, पर्यटन, संस्कृति र पर्यावरण, सूचना प्रविधिको विकास र प्रयोग, गुनासो व्यवस्थापन, जनतासँगको संवाद लगायतलाई प्राथमिकतामा राखेर कामकारबाही गर्दै आएको छ।'

प्रदेशको आन्तरिक आयस्रोत वृद्धि गर्न राजस्वको दायरा फराकिलो बनाउने, आर्थिक अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने, अघिल्लो वर्षको दायित्व भुक्तानीलाई अघि बढाउने आधार तयार गरिएको मुख्यमन्त्री आचार्यको भनाइ छ।

उनले गत साउन ९ गते पद तथा गोपनियताको शपथ लिएका थिए। त्यसपछि एक सय दिनको अवधिमा प्रदेश सरकारले गरेका नीतिगत एवं कानूनी सुधार, सांगठनिक तथा व्यवस्थापन, शासकीय तथा सुशासन, प्रदेश गौरवका आयोजनाको कार्यान्वयन, अर्थतन्त्र र राज्यको क्षेत्रमा सुधारका विषय उठान गरिएका छन्।

यस अवधिमा प्रदेश सरकार नीतिगत एवं कानूनी सुधार गर्ने काममा अघि देखिएको छ। प्रदेशसभा तथा प्रदेश सरकारबाट नीतिगत एवं कानूनी सुधारका लागि विभिन्न कानून, कार्यविधि एवं निर्देशिका जारी गरिएको, कानूनमा आवश्यक संशोधन, परिमार्जन गरिएको र केही अत्यावश्यक कानून एवं कार्यविधि स्वीकृतिको अन्तिम चरणमा रहेका उल्लेख छ।

विषयगत मन्त्रालय/निकायबाट बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक कार्यविधि तर्जुमा गरी कार्यान्वयन समेत गरिएको छ। प्रदेश सरकारको एकसय दिनमा प्रदेशसभा तथा प्रदेश सरकारबाट स्वीकृत कानून, कार्यविधि, निर्देशिकामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक, स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, औद्योगिक प्रवर्द्धन विधेयक, २०८१, अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० (संशोधन), अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञान, सीप र अनुभवको उपयोग गर्नेसम्बन्धी कार्यविधि, व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन कार्यविधि, प्रदेश राजपत्र तथा कानूनको सम्पादन र प्रकाशन नियमावली, स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका, २०७८ परिमार्जन गरिएको छ।

संगठनलाई चुस्त, छरितो र नतिजामुखी बनाइ सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्न प्रदेशका सबै मन्त्रालय तथा कार्यालयको संक्षिप्त रुपमा संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गरिएको छ। यसबाट प्रदेशको जम्मा कर्मचारी दरबन्दी सङ्ख्या चार हजार ७८ कायम भएको छ।

प्रदेशको संगठन संरचना, कार्यबोझ, जिम्मेवारी, दरबन्दीको आवश्यकता, सरकारको आर्थिक सबलतालगायतका विषयमा ध्यान दिइ संरचना तथा दरबन्दी पुनरावलोकन गरी उद्देश्यउन्मुख एवं नतिजामूलक बनाउन विस्तृत रुपमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी प्रतिवेदन गर्न प्रदेश सरकारको निर्णयबाट विज्ञसहितको समिति गठन भई कार्यादेशसमेत दिइएको छ।

पूर्वविशिष्ट पदाधिकारीको नाममा दिइँदै आएको सेवा सुविधा (सवारी, इन्धन, मर्मतलगायत) फिर्ता गराउनेसम्बन्धी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएको छ। पूर्वविशिष्ट पदाधिकारीले चढ्दै आएका सवारीसाधन फिर्ता भइसकेका छन्।

लुम्बिनी प्रदेशको सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना प्रदेश सरकारबाट स्वीकृत भएको छ। कार्ययोजनामा नैतिकता र सदाचारिता प्रवर्द्धनसम्बन्धी विभिन्न ११ प्रमुख विषय क्षेत्र, सो अन्तर्गतका रणनीति, रणनीति कार्यान्वयनका लागि एक सय बढी क्रियाकलाप, जिम्मेवार निकाय, नतिजा सूचक र कार्यान्वयन संयन्त्र समावेश गरिएका छन्।

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुका लागि आचारसंहिता जारी गरी लागु गरिएको छ। सुशासन र सदाचारिता प्रवर्द्धनका लागि अनियमितता नियन्त्रण, भ्रमण कार्यको व्यवस्थापन, सार्वजनिक, पदीय एवं पेसागत आचरणका विविध व्यवस्था आचारसंहितामा समावेश गरिएको छ। प्रदेश सरकारबाट प्रदेश मन्त्रालय/निकायका लागि १४ बुँदे निर्देशन जारी गरी कार्यान्वयनमा गइसकेको छ।

प्रदेश गौरवका आयोजना कार्यान्वयन

बुटवलस्थित सुविधासम्पन्न १२ तले एक हजार दुई शय्या रहेको अस्पताल भवन ६ अर्ब १८ करोड रूपैयाँको लागतमा २०८५ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी शिलान्यास भइ कार्यारम्भ गरिएको छ।

प्रदेश राजधानी राप्ति उपत्यका (देउखुरी) मा तीन अर्ब नौ करोड रूपैयाँको लागतमा प्रशासनिक केन्द्र (जसमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय) रहनेगरी कार्य तीव्ररुपमा अघि बढेको छ। विसं २०८२ भित्रै निर्माण सम्पन्न हुने लक्ष्यसहित हाल ६५ प्रतिशत काम पूरा भएको छ। साथै, एक खर्ब रूपैयाँको लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सरकारले नदी सभ्यतामा आधारित नमूना सहरका लागि साझेदार एवं लगानीकर्ता खोज्न पहल गरेको छ।

बाँकेको खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना गरी सूचना प्रविधि, इञ्जिनियरिङ, कृषिलगायत विषय अध्यापन गराइँदै छ। प्राविधिक, दक्षजनशक्ति उत्पादनका लागि थप पहल गर्ने प्रदेश सरकारको योजना छ। प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै विभिन्न सडकलाई बहुवर्षीय आयोजनाका रुपमा काम अघि बढाउने निर्णय गरिएको छ।

आर्थिक मामिला तथा राजस्व सुधार

चालु आर्थिक वर्ष २०८१/८२ देखि पाँच लाख रूपैयाँ वा सोभन्दा माथिका सबै आयोजना कार्यक्रम अनिवार्यरुपमा प्याकेजिङ गरी बोलपत्र प्रक्रियाबाट सार्वजनिक प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरिएको छ। यसरी बचत हुने रकमलाई गत आर्थिक वर्षको दायित्व भुक्तानी गर्नेगरी व्यवस्थापन गरिएको छ।

प्रदेशलाई आर्थिकरुपमा बलियो बनाउन राजस्वको दायरा वृद्धि गरिनुका साथै चालु खर्च कटौती गरिएको छ। गत वर्षको बजेटभन्दा यस वर्ष दुई अर्ब २९ करोड रूपैयाँ चालुतर्फ कम र पुँजीगततर्फ एक अर्ब ३२ करोड रूपैयाँ बजेट बढाइएको छ।

सूचना तथा सञ्चार प्रविधिको अवलम्बन र विकास

प्रदेशसँग सम्बन्धित समग्र तथ्यांक समेटेर प्रयोगकर्तामैत्री अनलाइन डेटा पोर्टलको निर्माण गरी सञ्चालन गरिएको छ। प्रदेश मन्त्रालय/निकायमा विद्युतीय प्रणालीको अवलम्बनलाई प्राथमिकता दिइ एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोगको सुरुवात गरिएको छ।

प्रदेशको राजस्व संकलनसम्बन्धी सफ्टवेयर प्रदेश मातहत रहने गरी विकास तथा व्यवस्थापन गर्ने तयारी भइरहेको छ। यस्तै प्रदेश सरकारको एक सय दिनमा प्रदेश सरकारले जनगुनासो व्यवस्थापनको काम गरेको छ। जनताका गुनासा सुन्ने, आलोचनालाई आत्मसात गर्दै सुधारका काम अघि बढाएको छ।

भौतिक पूर्वाधार विकास

यस अवधिमा पुँजीगततर्फको कुल विनियोजन भएको नौ अर्ब ७३ करोड १२ लाख ५१ हजारमध्ये ५८ करोड आठ लाख दुई हजार रूपैयाँ खर्च भएको छ। जम्मा दुई हजार ४७ आयोजनामध्ये नौ सय ७७ आयोजनाको बोलपत्र आह्वान भएको छ। जसमध्ये तीनसय २४ वटाको सम्झौता सम्पन्न भइसकेको छ भने चार सय सातको मूल्यांकन भइरहेको प्रदेश सरकारले जनाएको छ।

सडक पूर्वाधारअन्तर्गत १५ किलोमिटर सडक कालोपत्र गरिएको छ। सडक पुल ६ निर्माण सम्पन्न भएका छन्। झोलुंगे पुल दुईवटा निर्माण सम्पन्न भएका छन्। प्रदेशको सडक सञ्जाल गुरुयोजना निर्माणको काम द्रुत गतिमा अगाडि बढेको छ। सो अवधिमा प्रदेशका चार ठाउँमा प्रदेशसभाका सदस्यसँग सडक सञ्जाल गुरुयोजनाबारे अन्तरक्रिया गरी जिल्लागत सडक सञ्जालको विवरण अद्यावधिक गरिएको छ।

चालु आर्थिक वर्षमा अख्तियारी प्राप्त आयोजनामध्ये दुईसय २५ आयोजना बोलपत्र प्रक्रियामा गएका, जसमध्ये ६५ आयोजनाको सम्झौता सम्पन्न भएको, २१ आयोजना सम्झौताको प्रक्रियामा छन्। भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल नवलपरासी पश्चिम र आयुर्वेद अस्पताल, कपिलवस्तुको भवन निर्माण कार्य सम्पन्न भएका छन्। साथै, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीको भवन निर्माण कार्य अन्तिम चरणमा छ।

प्रादेशिक सरुवा रोग अस्पताल, शिवराज कपिलवस्तु र क्षयरोग उपचारकेन्द्र, बाँकेको भवन निर्माण कार्य द्रुत गतिमा भइरहेको छ। प्रदेश राजधानी परिसरमा निर्माणाधीन ६ मन्त्रालयको भवनको काम अन्तिम चरणमा छ भने अन्य दुई मन्त्रालयको काम पनि सम्पन्न हुने अवस्थामा छ। एउटा मन्त्रालयको दोस्रो तला ढलाइको अवस्थामा छ। पुस्तकालय भवनको काम सम्पन्न भएको छ। बस्ती विकास कार्यक्रम अन्तर्गत चार किलोमिटर ढल निर्माण गरिएको छ।

चालु आर्थिक वर्षमा अख्तियारी प्राप्त आयोजनामध्ये ४२ आयोजना बोलपत्र प्रक्रियामा गइसकेका छन्। प्रदेश राजधानी परिसरको खानेपानी व्यवस्थापनका लागि निर्माणाधीन खानेपानी आयोजनाअन्तर्गत ओभरहेड ट्यांकीको निर्माणकार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको विपद् व्यवस्थापनसम्बन्धी खानेपानी तथा सरसफाइ र स्वच्छता क्षेत्रको भइपरी योजना अध्यावधिक गरिएको छ। बर्दिया, रोल्पा र नवलपरासी पश्चिममा थप कार्यालय स्थापना गरी सेवा सुरु गरिएको छ।

लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट हिमाल, पहाड र तराई भ्रमणको व्यवस्था मिलाउने गरी तथा पर्यटन सर्किटको योजनालाई कार्यान्वयन गर्नेगरी तयारी गरिएको छ। पाल्पा दरबार सङ्ग्रहालयको संरक्षण एवं प्रवद्धर्नका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको, नुवाकोट डबली स्थानीय तहमा हस्तान्तरणको प्रक्रिया अघि बढाउने निर्णय भएको छ। बजारलाई स्वस्थ र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ पहिलो पटक बजार नियमन तथा प्रवर्द्धन परिषद्को बैठक सम्पन्न गरी कालोबजारी नियन्त्रण लगायतका विषयमा नियमित बजार अनुगमनमा जोड दिइएको छ।

लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रको विकास, सम्वर्द्धन र प्रवर्द्धनमा टेवा पुर्‍याउन पर्यटन दु्रत नियुक्त गर्ने निर्णय गरिएको छ। लुम्बिनीमा पर्यटकको सङ्ख्या वृद्धि गरी प्रदेशको आर्थिक समृद्धिका लागि बर्दियाका पर्यटकीयस्थललाई पर्यटन गन्तव्यको रुपमा लिइ २०८१ लाई ‘घुम्न जाउँ बर्दिया’ अभियान घोषणा गर्नका लागि पूर्वतयारी सम्पन्न भइसकेको छ।

स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनका लागि पठाइएको छ। सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम, बीउ बाली निरीक्षण, बीउ प्रमाणीकरण र बीउ नमूना परीक्षण, बाली वस्तु सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम, बफर स्टकमा रहेको अनुदानको रासायनिक मलको कोटा निर्धारण, कृत्रिम गर्भाधान सेवा कार्यक्रम, पशुपक्षीमा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि खोप सेवा कार्यक्रमलगायत महत्वपूर्ण कार्यक्रमको कार्यान्वयन प्रारम्भ गरिएको छ।

कुष्ठरोग र हात्तीपाइलेका कारण अपांगता भएका व्यक्तिको भेद्भावको अन्त्य तथा जीविकोपार्जन र आत्मनिर्भता अभिवृद्धिका लागि स्वयं हेरचाहसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनमा लगिएको छ। बिरामीको अत्यधिक चाप हुने अस्पतालमा ई-टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गरिएको छ। स्वास्थ्य सेवामा देखिएका विकृति रोक्न सरकारले अनुगमनमा कडाई गरेको छ। नसर्ने रोगहरु मुटु, क्यान्सर, मिर्गाैला जस्ता स्वास्थ्य समस्या निदान र उपचारका लागि प्रदेश सरकारले दिँदै आएको प्रतिव्यक्ति रु दुई लाख प्राप्त गर्न प्रदेश राजधानीमा सिफारिस लिन आउने बाध्यताको अन्त्य गर्न जिल्लास्थित स्वास्थ्य कार्यलयमार्फत नै सिफारिस उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

चालु आर्थिक वर्षमा निर्माणसम्बन्धी ३३ आयोजनाको ठेक्का सम्झौता भइसकेको, ६९ आयोजनाको ठेक्का आह्वान गरिएको र बाँकी आयोजना बोलपत्र प्रक्रियामा रहेका छन्। सामाजिक विकासतर्फको बजेट कार्यान्वयनका लागि पाँच कार्यविधि स्वीकृत गरिएको र दुई कार्यविधि तर्जुमा अन्तिम चरणमा रहेको छ। 

प्रदेशका विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसमा आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको बजेट विनियोजनको मस्यौदा तयार गरिएको छ। युवाका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परियोजनाअन्तर्गत प्रदेशस्तरीय प्रोफाइल तयार गरिएको छ। संविधान प्रदत्त प्रदेशको अधिकारअन्तर्गत प्रदेशमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने उद्देश्यका साथ निर्माण गरिएको प्रदेश प्रहरी ऐनको कार्यान्वयनका लागि आवश्यक प्रहरी समायोजन कार्यमा संघीय सरकारलाई अनुरोध गर्ने गरी भएको मन्त्रीस्तरीय निर्णयबमोजिम नेपाल सरकार, गृह मन्त्रालयलाई अनुरोध गरी पत्राचार गरिएको छ।

प्रदेशमा विपद् व्यवस्थापनमा सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित गर्न सञ्चालित प्रदेश आपतकालीन केन्द्रका काममा प्रभावकारिता ल्याइ विपदजन्य घटनासम्बन्धी सूचनामा आम नागरिकको पहुँचलाई सुनिश्चित गर्न टोल फ्रि तथा हटलाईन सञ्चालन गर्न मन्त्रीस्तरीय निर्णय भई कार्यान्वयनको अन्तिम चरणमा रहेको बताइएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend