बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

दुई दिनको वृद्धिपछि पुन: घट्यो सेयर बजार, तिहार बिदापछि उकालो लाग्ला?

बुधबार, कात्तिक १४ २०८१
दुई दिनको वृद्धिपछि पुन: घट्यो सेयर बजार, तिहार बिदापछि उकालो लाग्ला?

काठमाडौं- लगातार तीन दिनको कारोबारमा ४७.८५ अंकले घटेपछि सोमबार र मंगलबार वृद्धितर्फ लागेको सेयर बजार बुधबार पुन: घटेको छ। गएको साता समग्रमा ११८.२१ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि सामान्य ओरालोतिर नै लागेकोमा सोमबार र मंगलबार भने बढेको थियो।

तिहार बिदाअघिको अन्तिम दिनको कारोबारमा बुधबार बजार १४.४३ अंकले घटेर २६७७.६२ बिन्दुमा झरेको छ। ७५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ। १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार ९.१९ अंकले घटेर सोमबार २७.४१ अंकले बढेको बजार मंगलबार पनि ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा पुगेको थियो।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। तर बजारले त्यसअनुसार साथ पाएको छैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। लामो समयदेखि बजार उतारचढावको अवस्थामा नै देखिन्छ। सोमबार र मंगलबार लगातार देखिएको सुधारले लगानीकर्ता केही उत्साहित देखिए पनि बुधबार पुन: बजार घटेको छ। 


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend