काठमाडौं- मंसिर मसान्तको तथ्यांक अनुसार अब नेपालसँग आगामी ६.८ महिनाको मात्र आयात धान्नसक्ने विदेशी मुद्राको सञ्चिति छ। साउनदेखि मंसिरसम्म भएको आयातको प्रवृत्तिको आधारमा नेपाल राष्ट्र बैंकले पाँच महिनाका लागि मात्र वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा बाँकी छ।
विदेशी मुद्राको सञ्चिति सात महिनाको आयात धान्ने भन्दा तल झरेपछि राष्ट्र बैंक झस्किएको छ। पछिल्लो समय केही वस्तुको आयातलाई निरुत्साहित गर्ने नीति लिएपनि त्यसको असर अझै देखिएको छैन। पुसको तथ्यांकमा त्यसको स्पष्ट तथ्यांक देखिने छ।
यद्यपि पछिल्लो समय निरन्तर विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ। यसरी घट्दै जाँदा आयातमा केही कमी आएपनि सञ्चितिमा उल्लेखनीय असर नपार्ने अधिकारीहरूको अनुमान छ। यही अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले अर्को कदम चाल्ने तयारी गरेको छ।
नेपाल राष्ट्र बैंकले अहिले नै ३५० भन्दा बढी वस्तुको आयातलाई निरुत्साहित हुने खालका नीति अवलम्बन गरेको छ। यस्ता वस्तुको आयातमा हुने कर्जा प्रवाहमा केन्द्रीय बैंकले कडाइ गरेको छ।
राष्ट्र बैंकले अब भने आयातका लागि खोलिने एलसी खोल्दा व्यवसायीलाई २० प्रतिशतमात्र ऋण प्रवाह गर्ने तयारी गरेको छ। तर यस्तो कडाइ थप तोकिएका वस्तुमा हुने कि सबैमा हुने भन्ने छलफलकै विषय छ।
आयातमा प्रतिबन्ध लगाउँदा पनि विदेशी मुद्राको दवाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले एलसी खोल्दा चालु पुँजीको २० प्रतिशत मात्रै बैंकले लगानी गर्नेगरी आयातमा थप कडाइ गर्न लागेको हो। अहिले तोकिएका वस्तुको बाहेक ७० प्रतिशत लगानी बैंकले गर्ने गरेका छन्। अव उक्त नियमलाई संसोधन गरेर चालु पुँजीकाे २० प्रतिशत मात्रै गर्ने तयारी गरेको छ।
विदेशी मुद्रा सञ्चितिमा गम्भीर प्रभाव पर्न थालेपछि आयातमा कडाइ गर्दै आएको छ। अहिले आयातमा उधारो गर्न पाउने व्यवस्था समेत खारेज गरिसकेको छ।
राष्ट्र बैंकका अनुसार मेक अपका सामान, पर्फ्युम, स्याम्पू र कपाल रंग्याउने सामान पनि उधारोमा किन्न पाइँदैन। काठ र काठबाट बनेका सामान आयात गर्न पनि शत प्रतिशत नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरिएको छ।
जुत्ता चप्पल, टोपी, छाता, वाकिङ स्टिक, घोडचढीको चाबुक आयातमा पनि नगद मार्जिन अनिवार्य गरिएको छ। तयार गरिएका प्वाँख, भुवा र कृत्रिम फूल तथा रौँबाट बनेका सामान, पत्थर, प्लास्टर र सिमेन्टबाट बनेका सामान, सेरामिक्स, काँच र काँचबाट बनेका सामान आयातमा पनि नगद मार्जिन अनिवार्य गरिएको छ।
यसैगरी कार तथा मोटरसाइकलमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्छ भने विद्युतीय सवारीमा यो व्यवस्था लागू हुँदैन। धातुका फर्निचर र खेल्ने तास आयातमा पनि पूर्णरूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ।
चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म) मा नेपालबाट सामान आयातमै ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ५९.५५ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालले आयातमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको थियो।
यसैगरी चालु आवको ५ महिनामै नेपालको वैदेशिक व्यापार पनि ६३.५५ प्रतिशतले बढेको छ। चालु आवको ५ महिनामा नेपालको कुल वैदेशिक व्यापार ९ अर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको पुगेको छ। गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ५ अर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ बराबरको थियो।
यसैगरी व्यापार घाटा पनि ५४.७० प्रतिशले बढेको छ। चालु आवको ५ महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ। गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो। ५ महिनाकै अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। गत आवको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।