बिहीबार , मंसिर ६ गते २०८१    
images
images

महँगिँदै तिहार : बजारमा चहलपहल बढ्यो, अपेक्षाकृत छैन व्यापार

images
बुधबार, कात्तिक १४ २०८१
images
images
महँगिँदै तिहार : बजारमा चहलपहल बढ्यो, अपेक्षाकृत छैन व्यापार

पूर्वमा रैथाने फूलको उत्पादन कम भएसँगै बजारमा मूल्य अचाक्ली बढेको छ। मौसमको कारण उच्च पहाडी क्षेत्रमा फूल फुल्न नसकेको र फूलेका फूलले बजार धान्ने अवस्था नरहेको व्यवसायी बताउँछन्।

images
images

इटहरी- पहाडको कृषि उपज उत्पादनले सरहको आवश्यकता धानिरहेको छ। पहाडी भेगमा उत्पादन भएका तरकारी र फूलले दसैँ-तिहारलगायत पर्वमा उत्साह दिने गरेको छ। तर यसपटक तरकारी र फूलको उत्पादनमा कमी आएपछि बजार महँगिँदै गएको देखिन्छ।  

images
images
images

पूर्वी पहाडका तेह्रथुम, भोजपुर, इलाम, पाँचथर, धनकुटालगायत जिल्लाबाट आयात हुने फूलको उत्पादनमा ठूलो मात्रामा गिरावट आएको छ।

images

इलामका कृषक रमेश मुखियाले बर्सात बढी भएकाले तरकारी र फूलको उत्पादन कम भएको सुनाए। उत्पादन कम भएपछि बजारको माग धान्न नसक्ने अवस्था रहेको र बजार मूल्य बढेको उनको भनाइ छ। फूलको उत्पादनमा पनि गिरावट आएको बताउँदै उनले व्यापारीले भएकोजति उत्पादन बारीमै आएर खरिद गरिसकेको जानकारी दिए।  

images

धनकुटाका व्यवसायी प्रेम भट्टराई रैथाने फूलको उत्पादन कम भएसँगै बजारमा मूल्य अचाक्ली बढेको बताउँछन्। मौसमको कारण उच्च पहाडी क्षेत्रमा फूल फुल्न नसकेको र फूलेका फूलले बजार धान्ने अवस्था नरहेको उनको भनाइ छ। अघिल्लो वर्ष ६० देखि ८० रुपैयाँ मुठा पर्ने सयपत्री फूल यसपटक बढेर १ सय ५० देखि २ सय रुपैयाँ पुगेको छ।  

पहाडी क्षेत्रमा तरकारीको उत्पादनमा पनि गिरावट आएको र बजारको माग पुर्‍याउन नसकेको उनले बताए। 

त्यससँगै इटहरी, धरान, विराटनगर, बिर्तामोड तथा दमकका बजारमा तरकारी तथा फलफूलको भाउ अचाक्ली बढेको छ। एक मुठा सागलाई २ सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ।

इस्कुसको जरा प्रतिकिलो ४ सय रुपैयाँ, फर्सीको गट्टा र बोडी १ सय ५० रुपैयाँ प्रतिकिलो, नयाँ आलु १ सय २० रुपैयाँ प्रतिकिलो पर्ने गरेको छ।

falful.jpg

पहाडी क्षेत्रबाट आउने तरकारीको मूल्य ३ सय प्रतिशतसम्म वृद्धि भएको विराटनगरका व्यापारी सुधाकर जैनले बताए। भारतीय बजार हुँदै भित्रिने स्याउ, अनार, अनारस लगायत काजु किसमिसको दाम अचाक्ली नै बढेको उनको भनाइ छ। 

पहाडी जिल्लाहरूमा मात्र होइन तराईका बारीमा पनि पहिलेजस्तो फूल फुलेको छैन। फूलको पर्व मानिएको तिहारमा भारतीय उत्पादनको भर पर्नुपरेको छ। भारतको पश्चिम बंगाल र कलकत्ताबाट ल्याइएको सयपत्री विराटनगर, धुलाबारी, दमक र धरानको कोल्डस्टोर भण्डारण गर्न थालिएको छ।  

शान्ति कोल्डस्टोर दमकका सञ्चालक खेम काफ्ले भारतीय फूल आयात तेब्बरले वृद्धि भएको बताउँछन्। विगतका वर्षहरूमा १० हजार किलो भारतीय फूल भण्डारण गरिएको बताउँदै उनले यसपटक ३० हजार किलो फूल भण्डारणको तयारी रहेको बताए। भारतीय फूलको आयत तेब्बरले वृद्धि भएको र नेपालको उत्पादनमा भारी गिरावट आएको उनको भनाइ छ।

मूल्य बढ्दा तरकारी र फलफूलको मात्र होइन आयातित सामग्रीको व्यापारमा पनि गिरावट आएको छ। अटोमोबाइल्सदेखि इलेकट्रोनिक्स सामग्रीको व्यापारसमेत खुम्चिएको छ। विद्युतीय सवारीका कारण पेट्रोलियम गाडीमा परेको प्रभाव दसैँ-तिहारले उकास्न सकेको छैन। 

tihar jhilimili 1.jpg

यसअघिभन्दा मूल्य बढेर आएका झिलिमिलि बत्तीको व्यापार ६० प्रतिशतजस्तो नै कम भएको विराटनगरका व्यवसायी चन्द्रदेव यादवले बताए। बत्तीको मूल्य बढेर आएको तर माग भने कम भएको यादवको भनाइ छ। सोचेजस्तो व्यापार नभएपछि व्यापारीहरू निराश भएको उनले बताए। 

कपडा व्यापार बढ्ला जस्तो भएपनि सस्तो सामग्रीको खोजी बढेको बताउँछन् आएके फेन्सी स्टोरका सञ्चालक रामकुमार श्रेष्ठ। सामानको भाउ महँगो हुँदै गएको बताउँदै उनले खरिद गर्ने ग्राहकको सङ्ख्या भने विगतकोजस्तो नभएको बताए। बजारमा बत्तीको झिलिमिली देखिएको तर व्यापार सामान्य अवस्थाकै जस्तो भएको श्रेष्ठको भनाइ छ।

‘चाडपर्वमा खरिद गर्ने युवा जमात देशबाहिर छन्। तिहारको व्यापार चेली र माइतीमा निर्भर हुन्छ। अहिले चेली बाहिर हुँदा माइती नेपालमा, माइती विदेशमा हुँदा चेली नेपालमा छन् अनि कसरी हुन्छ व्यापार? चाडपर्वमा व्यापार हुन्छ भन्ने कुरा अहिले असत्य भइरहेको छ। मलाई त त्यस्तो लाग्यो' उनले भने।  


प्रकाशित : बुधबार, कात्तिक १४ २०८१०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend