बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिर्सिया नदी प्रदूषित बनाउने सिद्धि टेक्सटायल्सलाई एक लाख २० हजार जरिवाना

मंगलबार, कात्तिक १३ २०८१
सिर्सिया नदी प्रदूषित बनाउने सिद्धि टेक्सटायल्सलाई एक लाख २० हजार जरिवाना

नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा महानगरको टोलीले सरैसवा नदीमा हुने प्रदूषणलाई रोक्न कडा अनुगमन गरिरहेको छ।

वीरगञ्ज- सिर्सिया (सरिसवा) नदीलाई सफा राख्न अभियान चलाएको वीरगञ्ज महानगरपालिकाले नदीलाई प्रदूषित बनाउने सिद्धि टेक्सटायल्स उद्योगलाई एक लाख २० हजार रूपैयाँ जरिवाना तिराएको छ।

महानगरपालिकाको अनुरोधलाई बेवास्ता गर्दै उद्योगले सिर्सिया नदीमा उद्योगबाट निस्केको फोहोर पानी सोझै फालेको फेला पारिएपछि अटेरी गर्ने उक्त उद्योगलाई सोमबार जरिवाना गरिएको वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए। 

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा रात्री अनुगमनको क्रममा निस्केको अनुगमन टोलीले उद्योगबाट निस्केको फोहोर पानी नदीमा फालिरहेकै अवस्थामा फेला पारेको थियो।

अनुगमन टोलीले रंगेहात फेला पारेपछि ती उद्योगलाई अबदेखि गल्ती नदोहोर्‍याउन सचेत गराउँदै जरिवाना गरिएको प्रशासकीय अधिकृत कर्णले जानकारी दिए। दैनिकरुपमा दिनमा अनुगमन गर्दै आएको महानगरपालिकाले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियानलाई थप तीव्रता दिँदै रातिमा पनि अनुगमन थालेको उनले बताए।

नदीमा सोझै ढल मिसाइ नदी प्रदूषण गरेको पाइएपछि सिद्धि टेक्सटायल्सलाई उक्त रकमबराबर जरिवाना गरिएको टोलीमा सहभागी वीरगञ्ज महानगरपालिका वातावरण शाखाका प्रकाश एैरेले जानकारी दिए। 

नगरप्रमुख सिंहको नेतृत्वमा महानगरको टोलीले सिर्सिया नदीमा हुने प्रदूषणलाई रोक्न कडा अनुगमन गरिरहेको छ। निर्वाचित भएको ३० महिनामा नगरप्रमुख सिंहकै पहलकदमीका कारण नदीको प्रदूषणमा ६० प्रतिशतले कमी आएको महानगरले दाबी गरेको छ।

saraisawa nadi1 - birgunj.jpg

महानगरले हाल छठलाई लक्षित गर्दै कात्तिक १ गतेदेखि दैनिकरूपमा अनुगमन गरेको छ। वीरगञ्ज र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा यहाँका विभिन्न उद्योगहरूको प्रदूषण नियन्त्रणको प्रयास जारी रहेको छ।

यसैबीच, दुवै स्थानीय तहहरूले उद्योगहरूलाई सिर्सिया नदीमा प्रदूषित पानी नफाल्न निर्देशन दिएका छन्, जसका कारण यसपटक छठ पर्व सिर्सिया नदीमै मनाउन सकिने वातावरण सिर्जना भएको एैरेले बताए।

वीरगञ्जको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी विगत ३० वर्षदेखि प्रदूषित बनेको थियो। पर्सा-बारा औद्योगीक कोरिडोरमा रहेकामध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोरजन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा विसर्जन गर्दै आएका थिए।

नदीलाई प्रदूषणमुक्त बनाउने अभियान थालेको वीरगञ्ज महानगरपालिकाले यसअघि पनि ५ वटा उद्योगहरुलाई ३/३ लाख रूपैयाँका दरले जरिवाना गरेको थियो। 


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend