बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माटोका भाडाले मूल्य पाउन छाडेपछि पुर्खौँदेखि परिवारको सहारा बनेको पेसा धान्नै मुस्किल

मंगलबार, कात्तिक १३ २०८१
माटोका भाडाले मूल्य पाउन छाडेपछि पुर्खौँदेखि परिवारको सहारा बनेको पेसा धान्नै मुस्किल

'गाउँका जोकोही पनि बढी पैसा कमाउन र आरामको काम गर्न सहरतिर लाग्ने गरेका छन्। गाउँको जनशक्ति सहरतिर लागेपछि यहाँको पुरानो चलनअनुसारको काम गर्ने युवाको कमी भएको छ। कामअनुसार माटोका भाँडाको मूल्य पनि पाइएको छैन'

वीरगञ्ज- बाराको सिम्रौनगढ नगरपालिका-४ गंगानगरका ६० वर्षीय फिरंगी पण्डित प्रजापति कुम्हालका पुर्खाले वर्षौँदेखि माटोको भाडाबर्तन बनाएर परिवारको गुजारा चलाउँदै आए। बाबुबाजेले यही पेसाबाटै परिवारको गुजारा चलाए।  

फिरंगीले पनि वर्षभर नै माटो मुछेर हातले घुमाएको कुम्हालेको चक्रबाट माटोको भाडो बनाएर दुई छोरालाई हुर्काए। पढाए। लेखाए। उनले पुर्ख्यौली पेसा सीपबाट माटोको दियो, घैटो, हँडिया, हात्ती, ढकना, चौमुखलगायतका सामाग्री बनाएर जीवन धान्दै आएका थिए।

पछिल्लो समय भने पुर्ख्यौली पेसामोह घट्दै गएको उनले बताए। अहिले आएर आफूले यो पेसालाई वर्षको केही समयका लागिमात्र अपनाउन सकेको उनले बताए। तिहार र छठलक्षित गरी माटोको दियो, घैटो, हँडिया, हात्ती, ढकना, चौमुखलगायतका सामाग्री बनाएर पेसालाई धान्दै आएको उनले बताए। अब यो पेसा धान्न मुस्किल परेको उनी बताउँछन्।

‘परिवारमा जातीय पेसालाई धान्ने म एक्लै छु', उनले भने, ‘मेरा छोराहरूले यो पेसा गर्दैनन्। पुर्ख्यौली सीप उनीहरूलाई सिकाएको छु। तर उनीहरूले यो सीपलाई व्यवहारमा उतार्छन् जस्तो लाग्दैन। उनीहरू पढेलेखेर जागिर गर्ने सोचमा छन्।'

बुढेसकाल लागेपनि धर्मको लागि नै भएपनि यो पेसालाई निरन्तरता दिएको फिरंगी बताउँछन्। अहिले धार्मिक कार्यमा प्रयोग हुने दियो, चौमुखलगायतका पूजासामग्री मात्र बनाउने गरेको उनले सुनाए।

‘दीपावली र छठको लागिमात्र पूजामा प्रयोग हुने माटाका भाँडा तयार गर्छु,’ उनले भने, ‘अरु बेला चक्र चलाउँदिनँ, बुढेसकाल लाग्यो। पहिलाजस्तो मिहनेत पनि गर्न सक्दिनँ। आफूलाई सघाउने छोराहरू पनि घरमा बस्दैनन्। त्यसैले पेसालाई विस्तारै छोड्ने तरखरमा पुगेको छु' उनले भने।

उनका अनुसार माटोको सामाग्रीको पहिलाजस्तो माग पनि छैन। धार्मिक कार्यमा मात्र केही सामाग्री प्रयोग गर्ने गरिएको छ। बढ्दो आधुनिकीकरणको कारण पनि हाम्रो पुर्ख्यौली पेसा धरापमा पर्न गएको हो।

पहिला दिपावलीमा सबैको घरमा माटोकै दियो बाल्ने गरिन्थ्यो। अहिले बिजुलीबाट बल्ने झालर बत्ती, प्लाष्टिकको दियो बाल्न थालेका छन्। मोटोको दियोको प्रयोग कम हुन थालेको छ। अर्कोतिर हाम्रा नयाँ पुस्ता माटोमा खेल्न चाहँदैनन्। नयाँ पुस्ता सहरतिर लम्किन थालेपछि पेसालाई धान्न गाउँमा युवापुस्ताको कमी भएको उनले बताए।

kumale.jpg

‘गाउँमा बुढापाका मात्र बस्छन्, उनीहरूले सकेजति त गर्ने हो। नसकेपछि कसले गर्ने?’ उनले भने, ‘बिस्तारै हाम्रोमात्र होइन, सबै जातजातीका मानिसले पुर्ख्यौली पेसा छाड्दै गएका छन्। जो पढेलेखेको छैन। गाउँमा बस्न बाध्य छ। ऊसँग कुनै सीप छैन। त्यही मान्छेले परम्परागत पेसालाई धान्ने गरेको देखिन्छ' उनले भने।

सिम्रौनगढ नगरपालिकाभित्र कुम्हाल जातीको संख्या थोरै रहेको स्थानीयले बताएका छन्। ‘पुर्ख्यौली पेसा धान्न कठिन छ। धेरै मिहेनत गर्नु पर्छ,’ उनले भने, ‘अहिलेको पुस्ता पढेलेखेका छन्, गाउँमा बसेर मिहनेत गर्न चाहँदैनन्। त्यसैले पुर्ख्यौली पेसा अहिले संकटमा परेको छ।'

पुर्ख्यौली पेसा गर्दा गाउँमै बस्नु पर्ने बाध्यता रहेको र गाउँमा बस्दा आम्दानी बढाउन नसकिने उनले सुनाए। बालबच्चालाई पढाउन मुस्किल पर्छ।

'गाउँका जोकोही पनि बढी पैसा कमाउन र आरामको काम गर्न सहरतिर लाग्ने गरेका छन्। गाउँको जनशक्ति सहरतिर लागेपछि यहाँको पुरानो चलनअनुसारको काम गर्ने युवाको कमी भएको छ। कामअनुसार माटोका भाँडाको मूल्य पनि पाइएको छैन' उनले भने।


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८१०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend