बागलुङ- चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ। त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने कुरै भएन। अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ हुन थालेका छन्।
कालीगण्डकी करिडोरअन्तर्गत बालढुंगादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ-बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ हुन थालेका छन्। दसैँ सकिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको बागलुङका पर्यटन व्यवसायी बताउँछन्।
विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुंगे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। दसैँ र तिहारका बीचमा मुस्ताङ जाने याम भएकाले मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन्।
विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलले आकर्षित गर्न थालेपछि यहाँका होटल भरिभराउ हुन थालेको पाइएको छ। पछिल्लो समय मध्यपहाडी राजमार्गले पश्चिम क्षेत्रका पर्यटकसमेत बागलुङ आउन थालेका हुन्।
दाङ, सुर्खेत, तुल्सीपुर, नेपालजञ्जलगायत क्षेत्रबाट मुस्ताङ आउने पर्यटक बागलुङ बस्न आउने गरेको पाइएको बागलुङका होटल व्यवसायी तथा होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए।
'पोखरा, काठमाडौं, चितवनबाट आउने पर्यटक थोरैमात्र बागलुङ बस्दछन्, उनीहरु सोझै कालिका मन्दिर पसेर मुस्ताङ पुग्छन्', चोखालले भने, 'मध्यपहाडी लोकमार्ग कालोपत्र भएसँगै नेपालको रुकुम, दाङ र नेपालगञ्जजस्ता जिल्लाबाट ढोरपाटन, कालिका मन्दिर र मुक्तिनाथ जान आउनेहरुको गन्तव्य बागलुङ बनेको छ।'
जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुंगे पुल, शालग्राम सङ्ग्रहालय लगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ। चोखालले दसैँ सकिएपछि मात्रै बागलुङका होटलमा पर्यटकको चाप बढेको बताए। बागलुङमा पर्यटकको चाप बढेपछि होटलमा समेत लगानी थपिएको चोखालले जानकारी दिए।
अहिले बागलुङ कालिका मन्दिर तथा पञ्चकोट परिसरमा रहेको पार्किङस्थलमा मुक्तिनाथ दर्शन लेखेका सवारीसाधन बाक्लै देखिने गरेको छन्। मुस्ताङको मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा कालिका भगवती मन्दिर र पञ्चकोट दर्शनका लागि आउने गरेको कालिका मन्दिरका अध्यक्ष कुमार खड्काले बताए।
दसैँपछि मन्दिरको पार्किङस्थल पर्यटकका सवारीसाधनले भरिएर वैकल्पिक व्यवस्थापन मिलाइएको खड्काको भनाइ छ। बागलुङमा बढिरहेका पर्यटकीय गन्तव्य, होटलको स्तरीकरण र प्रचारप्रसारका कारण मुस्ताङ पुग्ने पर्यटकमध्ये केहीले बागलुङलाई गन्तव्य बनाउन थालेका छन्।
मुस्ताङ जाँदा वा फर्कने क्रममा तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक बागलुङको कालिका र पञ्चकोट दर्शनका लागि आउनेक्रम बढेको हो। टाढाबाट आएका पर्यटक बागलुङका होटलमा बसेर अर्को दिन सिधै मुक्तिनाथ पुग्न सकिने भएपछि स्थलमार्ग प्रयोग गर्ने अधिकांशले बागलुङको मार्ग रोज्न थालेका छन्। दसैँको पूर्णिमादेखि आफ्नो होटलको शतप्रतिशत कोठा पर्यटकले भरिभराउ भएको होटल दि राजका सञ्चालक एन्जिल शाक्यले बताए।
'दसैँअघि पर्यटक खासै थिएनन्, कात्तिकको १ गतेपछि भने हाम्रो होटलको एउटा कोठासमेत खाली छैन, यहाँ आएका पर्यटकलाई अन्य होेटलमा पठाउँदै आएको छु, सुविधा सम्पन्न होटलमा पर्यटक भरिएका छन्', शाक्यले भने, 'पछिल्लो समय ढोरपाटन, मुस्ताङ र कालिका मन्दिर आउने पर्यटक नै हाम्रो होटलमा आउने गरेको पाइन्छ।'
बागलुङसमेत पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मानिँदै आएको छ। पछिल्लो समय बागलुङमा दुई दर्जनभन्दा बढी सुविधा सम्पन्न होटलमा आन्तरिक पर्यटक बस्दै आएका छन्। रासस