बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

वृद्धितर्फ बढ्न धरमर गर्दै सेयर बजार, पर्ख र हेरकै सोचमा देखिए लगानीकर्ता

गएको साता ११८ अंकले घटेको बजार यो साता आइतबार पनि ओरालोतिरै

आइतबार, कात्तिक ११ २०८१
वृद्धितर्फ बढ्न धरमर गर्दै सेयर बजार, पर्ख र हेरकै सोचमा देखिए लगानीकर्ता

काठमाडौं- वृद्धितर्फको अपेक्षाअनुसार सेयर बजार हरियालीतर्फ बढ्न सकेको छैन। गएको साता समग्रमा ११८.२१ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि सामान्य ओरालोतिर नै लागेको छ। 

आइतबार ९.१९ अंकले घटेर बजार २६१७.९५ बिन्दुमा झरेको छ। ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको कारोबार भएको बजारमा ९१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार पनि ५७.९९ अंकले घटेको थियो। त्यसअघि बजार लगातार चार कारोबारमा ८२.०२ अंकले बढेको थियो। गएको साता मंगलबार २५.८८ अंकले बढेको बजार बुधबार २०.४१ र बिहीबार १८.२५ अंकले  घटेको थियो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।  तर बजारले त्यसअनुसार साथ पाएको छैन। 

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

बजारप्रति लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : आइतबार, कात्तिक ११ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend