काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्य भन्दा २ अर्ब बढी राजस्व उठाएको छ।
विमानस्थल हुँदै हुने आयातमा उच्च वृद्धि भएपछि भन्सारले राजस्व संकलन बढाएको छ।
छ महिनाका लागि विमानस्थल भन्सारलाई ११ अर्ब ७२ करोडको लक्ष्य तोकिएकोमा १३ अर्ब ५६ करोड राजस्व संकलन भएको छ।
भन्सार कार्यालयले लक्ष्यको ११५ प्रतिशत राजस्व संकलन भएको जानकारी दिएको छ। गत वर्षको यही अवधिमा भन्सार कार्यालयले ८ अर्ब ४ करोड राजस्व संकलन गरेको थियो।
विमानस्थल भन्सारमा जाँचपास गर्दा मूल्याङ्कनमा गरिएको सुधार एवम् यात्रुले ल्याउने सुन तथा सुनका गहना र मोबाईलको प्रभावकारी नियमनले गर्दा राजस्व संकलन बढेको भन्सार कार्यालयले जानकारी दिएको छ।