बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

वृद्धितर्फको अपेक्षाअनुसार देखिएन सेयर बजार, यो साता समग्रमा ११८ अंकले घट्यो

विश्वस्त छैनन् लगानीकर्ता, पर्ख र हेरकै अवस्था

बिहीबार , कात्तिक ८ २०८१
वृद्धितर्फको अपेक्षाअनुसार देखिएन सेयर बजार, यो साता समग्रमा ११८ अंकले घट्यो

काठमाडौं- वृद्धितर्फको अपेक्षाअनुसार सेयर बजार हरियालीतर्फ बढ्न सकेको छैन। लगातार ८२.०२ अंकको सुधारपछि १०५.४३ अंकले घटेको सेयर बजार मंगलबार २५.८८ अंकले बढेर बुधबार र बिहीबार पुन: घटेको हो। समग्रमा यो साता बजार ११८.२१ अंकले घटेको छ। 

यो साता पहिलो कारोबारमा आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार पनि ५७.९९ अंकले घटेको थियो। त्यसअघि बजार लगातार चार कारोबारमा ८२.०२ अंकले बढेको थियो। यो साता तेस्रो कारोबारमा मंगलबार २५.८८ अंकले बढेर बजार २६६५.८१ बिन्दुमा पुगेको थियो। तर बुधबार २०.४१ अंकले घटेको बजार बिहीबार पुन: घट्यो। 

बिहीबार १८.२५ अंकले घटेर बजार २६२७.१४ बिन्दुमा झरेको छ। ६७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।   

बजारप्रति लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। अहिलेको पर्ख र हेरको अवस्थामा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend