शनिबार, साउन १२ गते २०८१    
images
images
images

मन्त्री आलेको ठाडो आदेशमा सुरज वैद्यलाई लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय

images
आइतबार, माघ २ २०७८
images
images
मन्त्री आलेको ठाडो आदेशमा सुरज वैद्यलाई लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय
images

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको दबाब र अग्रसरतामा लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय भएको छ। 

images
images

काठमाडौंमा पशुपति धर्मशालादेखि नारायणहिटी संग्रहालयसम्मका प्रकरणलाई जोडेर संस्कृतिक धरोहर बचाउने भन्दै हिँडेका मन्त्री आले आफैले अपारदर्शी रुपले लुम्बिनीमा एउटा कम्पनीलाई छिराउन खोजेका छन्।

images

लुम्बिनी क्षेत्र विकास कोषले संसारा वेलनेस नामक कम्पनीलाई 'ग्राउन्ड क्याम्पियनिङ' को नाममा रिसोर्ट चलाउन दिने निर्णय गरेको हो। कोषमा अध्यक्ष पर्यटनमन्त्री हुन्छन्। कोषका अध्यक्षसमेत रहेका आलेको प्रस्तावमा उक्त कम्पनीलाई रिसोर्ट सञ्चालनको अनुमति दिने निर्णय भइसकेको छ। 

मंसिर ११ गते बसेको कोषको बैठकले संसारा वेलनेसलाई रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो। संसारा वेलनेस नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो। वैद्य यसअघि भिजिट नेपाल कार्यक्रमका संयोजक थिए। 

images

यो प्रकरणमा दुईवटा कमजोरी छन्। पहिलो त लुम्बिनी क्षेत्रको विकासका लागि भनेर तयार भएको गुरूयोजना विपरित काम छ। अर्को त कम्पनी छनौट नै अपारदर्शी छ। 

गुरूयोजनामा धार्मिक पर्यटकहरूको सहज आवासका लागि तीनवटा होटल बनाउने उल्लेख गरिएको छ। यो योजनाअनुसार यसअघि नै तीनवटा होटल सञ्चालन भइसकेका छन्। होक्के होटल, होटल कासाइ र श्रीलङ्काको पिलग्रिमेज हाउस अहिले नै सञ्चालनमा आएका छन्। 

यसअघि नै सुरज वैद्य कोषको उपाध्यक्ष हुँदा प्रक्रिया अघि बढाएका थिए। तर गुरूयोजना विपरीत हुने भन्दै यसअघिका अध्यक्षहरूले उक्त प्रस्ताव अस्वीकार गरेका थिए। तर असोजमा मन्त्री भएर आएका मन्त्री आलेले वैद्यको प्रस्ताव स्वीकारमात्र गरेनन् अपारदर्शी ढंगले जिम्मा दिने निर्णय गराएका छन्। 

विश्वसम्पदा सूचीमा योजना विपरीत रिसोर्ट बनाउने कुरामात्र होइन यो सबै काम अपारदर्शी पनि छ। प्रक्रियामा कतै पनि प्रतिस्पर्धा गराइएको छैन। कम्पनीको नामै किटेर विस्तृत विवरण माग्ने निर्णय भएको कोषका सदस्य सचिव सानुराजा शाक्यसमेत स्वीकार्छन्।  

यहाँ खुला प्रतिस्पर्धाको मात्र होइन सुरज वैद्य आफै उपाध्यक्ष हुँदा यो परियोजनाको डिजाइन गरेका थिए। अहिले उनकै कम्पनीलाई दिने निर्णय गरिएको छ। 

लुम्बिनीमा गुरूयोजना विपरीत रिसोर्ट सञ्चालन हुन लागेको हो? भनेर हामीले कोषका सदस्यसचिव शाक्यसँग प्रश्न गरेका थियौँ। हाम्रो प्रश्नमा शाक्यले रिसोर्ट होइन गुरू योजनाअनुसार नै 'ग्राउन्ड क्याम्पियनिङ' को अनुमति दिन लागिएको बताए। यसका लागि अहिले विस्तृत विवरणमात्र मागेको भनेर पन्छिए,

सुरज वैद्यको कम्पनीसँग विस्तृत विवरण माग्ने निर्णय भएको हो? 

सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा गराइएको छैन। उहाँको कम्पनीले स्वेच्छिक प्रस्ताव हालेको थियो। प्रस्तावको विषयमा विस्तृत विवरण माग्ने निर्णय माननीय मन्त्रीज्यूकै अध्यक्षता बसेको बैठकबाट भएको छ। 

के-के बनाउने भनिएको छ? 

पिकनिक स्पोर्ट, एमपी थिएटर, बस्ने खाने सुविधासहितको संरचना, क्यामफायरको सुविधा हुने भनिएको छ। 

यो निर्णय कहिले भयो? 

यो निर्णय मंसिर ११ मा भएको हो। 

किन एउटा मात्रै कम्पनीको प्रस्ताव मागियो त? 

मागेको होइन। उहाँको स्वेच्छिक प्रस्तावमा मन्त्रीज्यू यहाँ आएको बेला निर्णय भएको हो। 

बोर्डकै उपाध्यक्षमा बसेर बाहिरिएका व्यक्ति सहभागी भएको कम्पनीले हालेको प्रस्ताव रद्द गरेर किन टेन्डरमा जानु भएन?

उहाँ व्यापारी हो। व्यापार गर्न खोज्नु भएको होला।  

प्रस्ताव सिधै रद्द गरेर किन खुला रुपमा मागिएन? 

पहिला पनि यसैगरी निर्णय हुने गरेको थियो, त्यसैले हो। 


प्रकाशित : आइतबार, माघ २ २०७८१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend